विशेष
“ओई... पुलिस आयो पुलिस...”
खाना खाँदै गर्दा बाहिर कता–कता आवाज सुनिन्थ्यो । त्यसपछि खाना छाडेर उकालो दौडिहाल्थें । पुलिस देख्नु त के– पुलिस शब्द सुन्दा पनि शरीरका सबै रौं ठाडा हुन्थे ।
लगातार एक घण्टाको उकालो दौडेर रानीवनमाथि पुगेपछि तल गाउँतिर हेर्थें । कहिले टाकुराभरि छरपष्ट भएर हामीलाई खोज्दै गरेका पुलिसहरू देखिन्थे । कहिले चौकितिर फर्कंदै गरेका त कहिले आउँदै गरेका । पुलिस पछिपछि आइहाल्ला कि भन्ने डरले डाँडामा उभिएर तलतिर हेर्न पनि सकिँदैनथ्यो । खाल्डा, झाडी, ओढार खोजेर छप्किन्थें ।
लुकीलुकी राति गाउँ छिर्ने र हतार–हतार रोटी च्यापेर फेरि जंगलतिर दौडिने । कैयन् दिन र कैयन् रात यस्तै लुकाछिपीमा बिते । कहिलेकाहीँ मजस्ता अरु साथीहरू पनि हुन्थे । कहिले सल्लाह गरेर एकै ठाउँतिर सुत्न जान्थ्यौं त कहिले जंगलतिरै भेट हुन्थ्यो । न हामी युद्ध गरिरहेको माओवादीको सम्पर्कमा थियौं, न हामी पुलिसका लागि सर्वसाधारण हुन सकेका थियौं । माओवादी सम्पर्कमा नरहे पनि हामी माओवादी छापामारकै शैलीमा लुकेर हिँड्ने, लुकेर खाने र लुक्दै भाग्ने गरिरहेका थियौं । कहिले भाग्दै गर्दा साथीहरू भेटिन्थे त कहिलै एक्लै पनि भाग्नुपथ्र्यो अनि रातभर जंगलमा एक्लै सुत्नुपथ्र्यो । लाग्थ्यो– म एक्लो छापामार हुँ । देश बदल्न हिँडेको होइन, बदलिएको देशमा हिँड्न नपाएको छापामार । माओवादी छापामारको त ठूलै समूह होला । दुश्मन आए प्रतिकार गर्लान् तर मसँग न छापामार जस्तो प्रतिकारको सामथ्र्य थियो, न घरमै बस्ने सर्वसाधारणको परिचय ।
जंगलमा सुत्दाका रात निकै फरक तरिकाले बिते । एक रात गाउँका मान्छेहरूले पनि थाहा नपाउने गरी हामी चार जना साथीहरू गाउँमाथिको रानीवनमा पुग्यौं । कसैले लुक्न जाँदै गरेको ठाउँ थाहा पाउला भन्ने भीमकाय डर थियो । टर्च बाले पुलिसले देख्ला भनेर अँध्यारो रातमा पनि छामछुम गर्दै खाल्डैखाल्डा र खोलै खोलाको बाटोबाट छापामार शैलीमा रानीवन उक्लियौं । दिनभर ग्वाला जाने, खेतबारी जोत्ने अनि घाँसपातको काम गर्नुपर्ने, राति घरमा सुत्नै नपाइने । यो पीडाको थकाइ पनि धेरै दिनको भइसकेको थियो ।
रानीवनभरि सल्लाका रुख थिए । भुइँमा जताततै सल्लाका पात अर्थात् कुसुम थियो । निकै चिप्लो । चिप्लँदै, लड्दै बल्ल–बल्ल माथि उक्लियौं । एउटा खाल्डो भेटियो । चार जना साथीहरू एकै ठाउँमा थुप्रो परेर सुत्यौं । थकाइ लागेकाले केहीबेरमै निदाएछौं । निदाएको केहीबेरमा नजिकै बाघ आएर झाडी चलाउन थालेछ । रानीवनमा प्रायः बाघ बसिरहन्थ्यो । चराउन लगेका बाख्रा कति खान्थ्यो कति ! कहिलेकाहीँ त गाउँसम्म पसेर गोठका बाख्रासम्म खान भ्याउँथ्यो । बाघले झाडी चलाएपछि सुन्तले कान्छा (तुलबहादुर पौडेल)का आँखा खुलेछन् । बाघ देखेपछि ऊ केही बोल्न सकेनछ । डरले सातो गएछ । आवाज निकालेर बोल्दा खान आउला कि भन्ने डर भएछ । सुस्तरी ‘बाघ, बाघ’ भन्दै हामीलाई हल्लाउन थाल्यो ।
सपना हो कि विपना, मैले केही छुट्याउन सकिनँ । यसो आँखा खोल्दा नजिकै अजंगको बाघ देखियो । डराएर जोडले कराउन थालेको थिएँ, झलक्क पुलिस सम्झें । ओहो ! कराए त पुलिस आइहाल्छ । नजिकै कतै गस्ती भए त सिधै गोली खाइन्छ । बाघलाई धपाउने या बच्ने– उपाय केही सुझेन । सबै साथीलाई त्यस्तै भएछ । रामबहादुर दाइ र भद्रबहादुर अंकल पनि कराउन सकेनन् । सुस्तरी लामो सास फेर्दै ‘अब के गर्ने ?’ मात्र भन्न थाले । अब लाग्यो– पुलिसबाट बचे पनि बाघबाट नबच्ने भयौं ।
एकपटक बाघतिर लाइट बालौं कि जस्तो लाग्यो । लाइट बाल्दा झनै बाघ झम्टन आउँछ भन्ने सुनेकाले त्यसो गर्न पनि आँट आएन । अर्कोतिर लाइट बाल्दा पुलिसले देख्ला भन्ने डर पनि उत्तिकै थियो । यति सोच्दासोच्दै सुरुमा बाघ देखेको सुन्तले कान्छो साह्रै हतास भैसकेको थियो । हामी केही बोल्न नपाउँदै ऊ एक्कासी करायो, “हुत्, हुत् ।”
ऊ कराएपछि हामी पनि थामिन सकेनौं । अब जे होला होला भन्ने भयो । बाघ झनै फुल्लिएर ठूलो आकारको भयो । त्यसपछि हामी भिरबाट हाम फालेर तलतिर भाग्यौं । अघि बल्लबल्ल उक्लेको भीरमा ज्यानको माया मारेर हाम फालियो, कुसुममा चिप्लँदै धेरै तल आयौं । कसैका हात कोतरिए, कसैका खुट्टा, कसैलाई कतै चोट लाग्यो, कसैलाई कतै ।
हामी जति नै कराए पनि हामीलाई सहयोग गर्न कोही आउनेवाला थिएन । पुलिसको डरले रातिमा कोही पनि बाहिर निस्कने सम्भावना थिएन । तैपनि बाघ पछिपछि आएन र हामी बच्यौं । बाघबाट त बचियो, अब मुख्य डर थियो पुलिसको । यति गर्दासम्म हाम्रो सेल्टर आउट भइसकेको थियो । कहिलेकाहीँ गाउँमा आउने माओवादीहरू बास बस्ने ठाउँलाई सेल्टर भन्थे । हामीले पनि त्यही सुनेका र सिकेका थियौं । हल्लाखल्ला गर्दा सेल्टरबारे सबैलाई थाहा भइसक्यो । अब कहाँ जाने भन्ने चिन्ता भयो । गाउँमा जाऊँ– पुलिस आउला भन्ने डर, जंगल पसौं– बाघको डर । हामी धेरैबेर जंगलको फेदीमै बसिरह्यौं । फेरि सोच्यौं, यहाँ बस्नु ठीक छैन । हामी कराएको सुनेको भए पुलिस आउँछन् । स्वविवेक प्रयोग गर्दै सेल्टर बदल्ने योजना बनायौं ।
जंगलको फेदैफेद अर्को ठाउँतिर लाग्यौं । पूरै जंगलमा पस्न पनि आँट आएन, गाउँभित्रै छिर्न पनि आँट आएन । जता जाँदा पनि ज्यान जोखिममा थियो । अन्त्यमा न गाउँ, न जंगल पर्नेगरी गाउँको शिरान र जंगलको गो¥यानमा पर्ने फिनौरी बज्यैको गोठमा आश्रय लियौं । गोठमा ढोका बन्द भएकाले बाहिर पेटीमा चार जना गुटुमुटु भएर बस्यौं ।
मैले सुस्तरी भनें, “आज बाँचिन्छ कि बाँचिदैन बड्डा हो, केही भन्न सकिँदैन है ।”
भित्र बज्यैले सुनिछन् । कराउन थालिन्, “यो राँरीफुरीको घरमा रातिमा आउने को हो ? एक्लोदुक्लो मान्छेलाई के गर्न खोजेको ? को हो बाहिर बोल्ने ? ओई को हो ? बचाओ, बचाओ ।”
अब त्यहाँ झनै बस्ने अवस्था भएन । पुलिसले पिछा गर्ने खतरा बढ्यो । हामी केही नबोलेर हतारहतार भाग्यौं । दौडँदै, दौडँदै अलि टाढा गयौं । जति अँध्यारो भए पनि लाइट बाल्न पाइँदैनथ्यो, आवाज निकाल्ने गरी खुट्टा बजार्न पाइँदैनथ्यो, आवाज निकाल्न पाइँदैनथ्यो । नत्र पुलिसले भेटाउने खतरा हुन्थ्यो ।
जंगल र गोठ दुवै ठाउँमा आश्रय नपाएपछि हामी अलि टाढाको एउटा खोल्सामा पस्यौं । पुलिसले मार्नुभन्दा बाघले खाए पनि खाओस् भनेर शरीर आफ्नो नियन्त्रणबाहिर छोडिदिएर चारैजना अंगालो मारेर बस्यौं । राति सकिन धेरै बाँकी थियो, गाउँमा पुलिस आएर बाआमालाई पो मारिदियो कि ! दिदीबहिनीलाई केही ग¥यो कि भन्ने डरले झनै सताइरहेको थियो । डरैडरले शरीर काँपिरहेको थियो । अब निदाउन सक्ने अवस्था थिएन । चार जना धेरैबेर रोयौं ।
यो देशमा के हुन थालेको होला ? हाम्रो गाउँमा मात्रै किन यस्तो अत्याचार भइरहेको होला ? हामीले के अपराध गरेका छौं र ? हामीलाई पुलिसले भेटायो कि मारिहाल्ने अवस्था किन आएको होला ?
यस्ता अनेक अनुत्तरित प्रश्न खेलाउँदै घाम देखिने समयको प्रतीक्षा गरिरह्यौं । त्यो रात कैयौं रातभन्दा निकै लामो र निकै गह्रुँगो भयो ।
हरेक रात यसैगरी बिते । बाघ भेटिएदेखि जंगलभित्र छिरेर भुइँमा सुत्ने आँट थिएन । कहिले अग्लो रुखमा चढेर रातभर ननिदाएरै जागा बसिरहन्थ्यौं त कहिले पराल र घाँसका टौवाभित्र छिरेर रातभर उकुसमुकुस भएर बस्थ्यौं ।
युद्धको आगो दन्किँदा म त्यस्तो गाउँमा थिए, जहाँ माओवादी युद्धको पहिलो सामूहिक हत्याकाण्ड भयो (जुन घटना मेलगैरी हत्याकण्डका रूपमा परिचित छ ।) मेरा आफ्नै ६ जना गोठाला दाइभाइहरू ०५२ फागुन १५ गते पिपल गाविसको मेलगैरी भन्ने लेकमा प्रहरीको गोली र नृशंश कुटपिटबाट एउटै चिहान भए । त्यसपछि पिपलमा यस्ता तीनवटा सामूहिक हत्याकाण्ड भए । युवाहरू देखिए कि माओवादी भनिन्थ्यो, पक्राउ गरेर एउटै गोलीले उडाइन्थ्यो । गोली हान्नुअघि कतिका हातखुट्टा काटिन्थे खुकुरीले । निकै यातना दिइसकेपछि मात्र अन्तिममा गोली खर्च गरिन्थ्यो ।
माओवादीले युद्ध सुरु गरेको भर्खर १३ दिनमात्र पुगेको थियो । जनकारबाहीका नाममा पिपल–३ जिपूका शिक्षक नरजीत बस्नेतको हात काटिदिएपछि गाउँमा प्रहरी पसेर उपद्रोह मच्चाउन थालेको थियो । त्यसपछि लगातार पिपल सुरक्षाफौजको निशाना बन्यो । खासगरी जिपूगाउँ माओवादी गाउँका रूपमा प्रचार गरियो । गाउँमा कोही पनि युवा भेटिए ऊ सिधै माओवादी हुन्थ्यो र गोली खान्थ्यो ।
१३ गते माओवादीले बस्नेतको हात काटेपछि १४ गते राति सदरमुकाम मुसीकोटबाट आएको प्रहरीले जसलाई पनि गोली हानेर मार्न सक्ने हल्ला चलायो । यो हल्ला सुनेपछि त्यतिबेला नै केही युवा तथा किसानहरू जिउ बचाउन भनेर गाउँबाट उकालो चढी मेलगैरी भन्ने लेकमा पुगे । लेकबाट गाउँतिर फर्कदै गरेका किसानहरू पनि घरमा असुरक्षा हुने बुझेपछि लेकतिरै फर्के । मेलगैरीस्थित किसान सेतु जैशीको घरमा विश्राम लिएका ती गाउँलेहरूको निद्रा पूरा नहुँदै असई कन्हैयालाल सिंह सरदारको नेतृत्वमा गएको प्रहरी टोलीले घेरा हाल्यो । त्यसपछि मेलगैरीको बस्ती बिहानको घाम झुल्किन नपाउँदै रक्ताम्य भयो ।
६ जना खत्री बन्धुहरू माओवादीका नाममा मारिए । कतिलाई गोलीले उडाइयो त कतिलाई कुटी–कुटी मारियो । सामूहिक हत्याकाण्डकै पछिल्लो श्रृंखलामा मेरो आफ्नै कान्छा बुबाको छोरा धनबहादुर घरमा सुतेका कारण मारियो । भाग्नेहरू भागे । ऊ ‘मेरो के गल्ती छ र ? म किन भाग्ने ?’ भनेर घरमै सुतेका बेला सेना पुग्यो र पक्राउ गरेर लग्यो । त्यो रात ऊजस्तै अन्य ५–६ जना युवालाई घरमै सुतेका बेला पक्राउ गरियो । अनि मुसिकोट जाने बाटो (स्यालापाखा गाविसको गिलबाङ)मा सबैलाई मारिदियो ।
विवाह गरेको दुई साता पनि बितेको थिएन । भर्खर विवाह गरेको मान्छे, श्रीमती छोडेर जंगल पस्ने कुरा पनि भएन । घरभन्दा सुरक्षित अरु के लाग्छ र ? कति दुःख गरी बनाएको घर तर धनबहादुर त्यही सुरक्षित ठानिएको घरमा सुतेका कारण मारियो । अन्य धेरै युवाहरू जंगलमा सुतेका कारण बाँचे । त्यसपछि घरमा गएर सुत्न सक्ने अवस्थै भएन ।
मेलगैरीमा एउटै चिहान हुन पुगेका पशुपति खत्री, लालबहादुर खत्री, कलबहादुर खत्री, मनबहादुर केसी, खड्गबहादुर खत्री र दलबहादुर खत्रीका परिवारमा अहिलेसम्म पनि त्यो घाउ ताजै छ । त्यसपछि भएका दुई वटा सामूहिक हत्याकाण्डमा मारिएका त्यति नै संख्याका अन्य दाजुभाइका परिवारको अवस्था पनि उस्तै छ । गोरखाका दिलबहादुर रम्तेलपछि मेलगैरीका ६ जना खत्री बन्धुहरूलाई जनयुद्धका दोस्रा सहिद मानेको माओवादी पार्टी होस् या युद्धको अन्त्यपछि बनेका गणतान्त्रिक सरकार– कोही कसैलाई पनि मेलगैरी र जिपू गाउँको घाउ दुखेको छैन ।
मलाई भने बेला बेला त्यो घाउले सताइरहन्छ । गाउँमा भएका हत्याका शृंखलाले मेरा युद्धकालका हरेक रात जंगलमा बिते । प्रहरीले भेटाए माओवादी भनेर गोली ठोक्थ्यो, माओवादीले भेटाए आफ्नो काममा लगाउँथे । हामी मर्नु न बाँच्नुको अवस्थामा थियौं । रातभर जंगलमा सुत्ने र विहान खाना खाएर फेरि जंगलतिरै दौडनुपर्ने बाध्यता थियो । यति गर्दागर्दै पनि धेरैको ज्यान गयो । आजभोलि गाउँ पुग्दा ती दिन र रातहरूको झल्झली याद आउँछ । सुतेका ओढार र रुखहरू उस्तै लाग्छन् । गाउँमा सडक पुगेको छ । कहिलेकाहीँ जीप र ट्रयाक्टर गुड्छन् । गाउँको मध्यभागबाट छिरेको सडकले गाउँको स्वरूप बदलिदिएको छ । गाउँ नै अर्कैअर्कै लाग्छ तर ती दिनहरू उस्तै र अहिले जस्तै गरी झलझली मस्तिष्कमा आइरहन्छन् ।
मसँगै खेलेका दुई दर्जनभन्दा बढी साथीहरू युद्धको भूमरीमा परेर मरे । सन्तान गुमाएका बाआमा अहिले झन् झन् विक्षिप्त भैरहेका छन् । म गाउँ पुग्दा उनीहरू आफ्नो छोराको झल्को देख्छन् रे ! सन्तानको यादले उनीहरूको मन छिन्नभिन्न बनाएको छ । युद्धले घर, सडक र पुलमात्रै भत्काएन– मानिसका मन पनि भत्काएको छ । यसको न त पुनःनिर्माण गर्न मिल्छ, न मर्मत सम्भार ।
(माओवादी युद्धकै कारण रुकुमबाट दाङ विस्थापित भएका पत्रकार दुर्गालाल केसीले भोगेका युद्ध स्मृतिहरू कतै कहालीलाग्दा र कतै रोचक छन् । अबका केही साता हामीले उनको भोगाइका श्रृंखला राख्नेछौं ।)
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३ ०९:३७
प्रतिक्रिया दिनुहोस्