साहित्य
बिहे भएको झन्डै ५ वर्षपछि छोरी–ज्वाइँसँग भेट भो ।
कसरी के कुरा गरूँ, ज्वाइँलाई के कुरा मन पर्छ सोच्दै गर्दा यसरी कुरा सुरु गरें, “सरुपाले मेरो बारेमा के–के भनी त ज्वाइँनारान ?”
ज्वाइँहरूलाई मैले नारान थपिदिएकी छु । अरुलाई के लाग्छ कुन्नि, मलाईचाहिँ रमाइलो लाग्छ । आखिर जिउने त आफ्नै लागि न हो ।
ज्वाइँ फरासिला लाग्यो मलाई । एकैचोटि भन्नुभो, “सबै कुरा था’ छ नि ।”
उहाँले हाँसो नै खप्न सक्नुभएन, “तपाईंको नाम एक रुपैयाँ अन्टी !”
मैले थपें, “गजब ! धन्यवाद ! तपाईं अभागी कि म थाहा भएन, तर तपाईंको बिहेमा उपस्थित हुन सकिनँ । दुःख लागिरहेछ, माफ गर्नुहोला । बेला नै त्यस्तै प¥यो– आमा भर्खर स्वर्ग भएको र बा बिरामी परेको बेला ।”
“अभागी त म हो नि अन्टी, हजुरको त्यस्तो बहुमूल्य एक रुपैयाँ पाउन सकिनँ । लाग्यो, लेखेको रहेनछ । मैले अहिलेसम्म एक रुपैयाँ पाएकै छैन,” ज्वाइँले कुरा अघि बढाउनुभो, “सरुपा जहिले जुन पर्व आए पनि तपाईंलाई भन्दा त्यो एक रुपैयाँ उत्पात सम्झिन्छिन् । अनि तपाईंको नक्कल गरेर खुबै हाँस्छिन् र हँसाउँछिन् । हामी परदेशमा सबै कुरा पाएर, भएर पनि रित्ता र भोका हुन्छौं । जब–जब हामीलाई जोड्ने चाडपर्वहरू आउँछन्, कुरै कुरामा हामी सबैलाई सम्झिँदै जान्छौं । एकदमै नरमाइलो लागिरहेको हुन्छ । जब तपाईंको पालो आउँछ, अनि हामी खुसी हुन्छौं, रमाइलो गर्छौं । यो काम सधैं दोहोरिन्छ तर सधैं उस्तै रमाइलो र ताजा लाग्छ ।”
विशेषगरी ठूलो दिदीको बिहे भएपछि र अझै उहाँको बच्चा भएपछि मैले पनि टीका लगाउन पाउने भएँ । त्यतिबेलादेखि दसैंको खास मर्म पनि बुझ्न थालेकी थिएँ । लाग्थ्यो, यो चाड ठूलाहरूलाई भेटेर आशीर्वाद लिने चाड हो, जहाँ विगतका सबै तीता, कटु सम्बन्धहरू पखालिन्छन् । सद्भाव, सम्बन्धका पालुवाहरू टुसाउँछन् । जहाँ एक अर्कालाई मुखले भन्न नसके पनि व्यवहारले माफी दिन्छन्, माग्छन् ।
केटाकेटी नै थिएँ तर पनि पैसा दिने र लिने अभ्यास मलाई पटक्कै राम्रो लागेन । दसैंपछि स्कुल जाँदा होस् वा स्कुल जानुअघि भेटिएका साथीहरूले मेरो पैसा यति भो, उति भो भनेको सुन्दा मलाई दिक्क लाग्थ्यो । अझै कोही–कोही त मेरो पैसा यहाँ यति, त्यहाँ त्यति भनेर पहिले नै हिसाब गर्थे, अनि यो किन्छु, त्यो किन्छु भनेर सुनाउने पनि गर्थे । आफ्नो त मामाघर पनि टाढा, टीका लगाउन जाने ठाउँ खासै थिएन । अलि–अलि भएको पनि मैले पछि बन्दै गरिदिएँ । मलाई आफ्ना दिदी–भिनाजुहरू, छोराछोरीहरू आएपछि मात्र रमाइलो लाग्ने बानी परेको थियो ।
जब मेरो टीका लगाउने पालो आयो, मैले एक रुपैयाँ दिएँ । सामान्य नै रह्यो, कसैले केही भनेन किनभने टीकाको थालीमा राखेको पैसा नै दिनु थियो अर्थात् मेरो कमाइ थिएन । हुन त अरु दिदीहरू कमाइ नै नभए पनि मेरो लाइनमा भने हुनुहुन्थेन ।
समय बित्यो । घरमा बीचको सदस्य भए पनि पैसा कमाउने पहिलो व्यक्ति म नै भएँ, त्यो पनि १९ वर्षकै उमेरमा ।
छोराछोरीहरूमा एउटा अपेक्षा थियो होला, जागिर खाएपछि पैसा टन्नै पाइन्छ भन्ने । पहिलो पटक जागिर खाएर दसैं मनाउँदा पाँच जना पुगिसकेका थिए ।
मेरो उमेर बढ्यो । घर छोडेर पढ्न निस्कें, जागिर खाएँ । तर मैले आफ्नो कुरो छोडिनँ, सधैंझैं त्यही थालीबाट झिकेर एक–एक रुपैयाँ दिएँ ।
पहिलोपल्ट उनीहरू दुःखी भए होलान्, मलाई छुच्ची भने होलान् । तर, अगाडि कसैले केही भनेनन् । बरु बा–आमाले जिस्काउनुभयो अनि अर्को वर्षबाट मेरो थिति नै त्यही बस्यो, संस्कार नै बन्यो ।
ठूली छोरी अनुपाको बिहे भएपछि सबैले अपेक्षा गरेका हुँदा हुन्, अब ज्वाइँलाई धेरै पैसा दिन्छे । बरु भनूँ भने कौतूहल थियो होला के गर्छे होला भनेर ।
तर, म परिवर्तन भइनँ ।
“ज्वाइँनारान आफू त एक रुपैयाँ कम्पनी हो क्यारे !”
सबै जना गलल हाँसे ।
आफ्नो काममा हानि हुन्छ भने म चाडपर्व भनेर घर नबस्ने हुनाले पनि म यस्तो टीकाटालो लगाउने काममा त्यति सहभागी हुन्न । अर्थात् मेरो एक रुपैयाँको अभिमुखीकरण गर्नु पर्दैन ।
धेरै पछि, जब मेरो बहिनीको बिहे भो, त्यतिखेर मेरा आफन्त, साथीभाइ मेरो पालो कुरेर बसेका थिए ।
मैले टीका लगाएँ र दिएँ त्यही एक रुपैयाँ ।
मलाई थाहा थियो, यो दसैंको टीकाको थाली थिएन, त्यसैले मैले एक–एक रुपैयाँ खोजेर लगेकी थिएँ ।
मैले कुनै सिद्धान्त पढेर, कसैले भनेर वा कसैसँग प्रभावमा परेर एक रुपैयाँको संस्कार सुरु गरेकी थिइनँ । मलाई माया, सद्भाव, सम्मानलाई पैसासँग साट्नु हुन्न भन्ने लाग्यो ।
मैले त्यतिबेलादेखि नै आफूले पनि पैसा लिन छाडें । फूलमात्र लिने । कतैकतै कोही अति नै जिद्दी गर्ने अवस्था आयो भने सबैभन्दा सानो पैसा लिएर सजिलो बनाइदिन्छु ।
मलाई त्यतिबेलादेखि नै छोरीहरूलाई ढोग्ने चलन पनि मन परेन । ढोग्न पनि छोराछोरी भनेर छुट्याउने, कस्तो विडम्बना !
ठूलाबाट आशीर्वाद र माया लिने भएपछि त सबै ठूलाहरूप्रति कृतज्ञ हुनुपर्छ भन्ने लाग्यो । त्यहाँ छोराछोरी भन्ने प्रश्न नै आएन । मलाई आफू भाइभन्दा ६ वर्ष ठूली, धेरै पढेकी भए पनि आफू सानो र हेपिएको जस्तो लाग्यो । मैले मेरा बा–आमालाई ढोग्न किन नपाउने भन्ने प्रश्नले दुःखी बनायो, जुन कुरा स्कुलमा चिट्ठी लेख्न सिकाउँदा पनि लाग्थ्यो । छोराले बा–आमालाई लेख्दा साष्टांग दण्डवत् अनि छोरीहरूले लेख्दा सादर नमस्कार रे !
यी दुवै कुराबाट मुक्ति पाउन मैले आफैंले सुरु गरें ढोग्न । आफूभन्दा ठूला सबै बा, आमा, दिदी, भिनाजु वा अरु जोसुकैले टीका लगाएपछि मैले हातमा ढोग्न थालें अनि मलाई पनि खुट्टामा ढोग्न कसैले पाएन । मैले पहिलो चिट्ठी लेखेको नर्सिङ पढ्न गएपछिमात्र हो, जहाँ मैले साष्टांग दण्डवत् नै लेखें किनभने मैले हातमा ढोगे पनि ढोगेकै हो । त्यसो त मेरो आमाले कोही कसैलाई खुट्टा छुन दिनु हुन्थेन ।
हरेक दसैं आउँदा मेरो एक रुपैयाँको कथा दोहोरिन्छ ।
जब मेरो पालो आउँछ, छोराछोरीहरू हुटिङ गर्छन्– एक रुपैयाँ ! एक रुपैयाँ !!
आजभोलि त एक रुपैयाँ पाउन पनि मुस्किल छ । उनीहरू भन्छन्, “एक रुपैयाँ नपाएपछि के गर्ने ?”
उनीहरू नै उत्तर दिन्छन्, “मनी म्युजियम जाने ।”
अनि सँगै नहुनेहरूले फोन गर्छन्, “अन्टी ! एक रुपैयाँ साह्रै मिस गरें ।”
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३ ०९:१३
प्रतिक्रिया दिनुहोस्