साहित्य
यो हाम्रो पहिलो औपचारिक ‘डेट’ थियो । युनियन मेट्रो स्टेसनभित्रैबाट ओमार बिन अल–खत्ताब स्ट्रीटको अपोजिटतिर बाहिर निस्किँदा झ्वाट्ट एउटा सानो–सानो पार्कमा पुगिन्छ । हो, त्यही पार्कमा त्यो सुरम्य साँझमा हामी बसेका थियौं ।
ऊसँग भेट भएको त्यस्तै एक महिनापछि एकदिन दिउँसो करिब ४ बजेतिर उसले मलाई कल गरी । म सुतिरहेको थिएँ, फोन बज्यो । मैले उठाएँ ।
“मेरो आज फुर्सद छ, यसो बाहिर जाऊँ कि भनेर तपाईंलाई फोन गर्यो !”
“हो र ?” अल्छी मान्दै सोधें ।
“तपाईं सुतिरहनु भएजस्तो छ, ठिकै छ नि त । फेरि कुनै बेला,” उसले भनी ।
“हैन, हैन ! म आइहालें, १० मिनेट पर्ख है त ।”
यसो भनेको करिब आधा घण्टापछि मैले उसलाई पिज्जा हटको बाहिर कुरिरहेको देखें । उसको आकर्षक सुडौल शरीरले अन्य दिनजस्तै आज पनि मलाई लोभ्याइहाल्यो । तर, प्रकटमा नलोभिई अनुहारमा मन्द मुस्कान प्रसारित गर्दै उसलाई सोधें, “के छ दीपा ?”
नलोभिएको नाटक गर्न जान्नु पनि एउटा कला हो । जवाफमा उसले अझ गाढा मुस्कान मतर्फ फ्याँकिदिई । त्यसपछि हामी त्यो सानो–सानो पार्कतर्फ लाग्यौं ।
मैले उसलाई एउटा अल्छीलाग्दो अपरान्हमा पहिलोचोटि अफिसको बाहिर काउन्टरमा देखेको थिएँ । र, देख्नेबित्तिकै आकर्षित भएको थिएँ । टावर सिक्सको डोरमेनले उसकै एक्स्टेन्सनबाट त्यो अपरान्ह कन्ट्रोल रुममा फोन ग¥यो । उसले भन्यो, “एउटी नेपाली केटीलाई एक्सेस कार्ड चाहियो रे, मैले तिम्रो नम्बर दिएँ ।”
“नम्बर किन देको त ? बरु यतै पठाइदेऊ ।”
एकैछिनमा टावर सिक्सको लिफ्टमा गुलाफी टाइट कुर्ता लगाएकी एउटी केटीलाई मैले मेरो स्क्रिनमा देखें ।
“कार्डको त २५० पर्छ,” मैले नियम सुनाएँ ।
“पैसा तिर्ने भए हजुरलाई खोज्दै किन आउँथे र !” उसले औंलो दिई ।
मलाई एकैचोटि बुरुक्कै फड्केर डुँडुलो माग्ने आँट आएन । भनें, “भोलि यतिबेलै आऊ ।”
“हजुरको नम्बर यही हो ?” उसले मेरो नम्बर आफ्नो फोनमा देखाई र अगाडि भनी, “मैले अघि नै हजुरलाई मिसकल दे”की छु ।”
अब आएर आफैंले डुँडुलो दिने संकेत गर्दै थप भनी, “यो मेरो आईएमओ र ह्वाट्सएप नम्बर पनि हो ।”
यसप्रकार हामी दुईको सम्बन्ध विस्तार भएको थियो ।
यो एउटा मल हो, जहाँ म काम गर्छु । यो दुबईको सबैभन्दा पुरानो मल हो । सन् १९७१/७२ तिर बनेको यो मललाई विगत एक दशकदेखि अत्याधुनिक स्वरूप दिइएको छ । करिब ४ सय अपार्टमेन्ट, सय अफिस, ३ सयभन्दा धेरै पसल र एउटा पाँचतारे होटल अटाएको यो मलको सेन्ट्रल कन्ट्रोल रुममा म काम गर्छु । ऊचाहिँ तिनै ४ सय अपार्टमेन्टमध्येको एउटा अपार्टमेन्टमा बस्ने भारतीय परिवारको हाउसमेड हो ।
त्यो सानो–सानो पार्कमा मान्छेहरूको चहलपहल त्यति धेरै थिएन । हामीले एउटा कुनो रोज्यौं ।
“मलाइ सानैदेखि फूलहरू असाध्यै मन पर्छ,” त्यो पार्कमा फुलिरहेका रंगीचंगी फूलहरू हेर्दै उसले भनी, “तर यहाँका फूलहरू देख्दा मन एकतमासको हुन्छ । किन–किन यी फूलहरू आफ्नो खुसीले फुलेका होइनन् भन्ने लाग्छ । जबर्जस्ती फुल्न बाध्य बनाइएको जस्तो लाग्छ । तपाईंले विचार गर्नुभएको छ ? जुलाई–अगस्टतिरको प्रचण्ड गर्मीमा तातोपानी ख्वाएरै भए पनि यी फूलहरूलाई हाँस्न बाध्य बनाइएको हुन्छ ।”
मैले अनायास जुलाईको आग्नेय गर्मीमा ओइलाउन ओइलाउन लागेका सडकछेउ फुल्ने फूलहरू सम्झें ।
“पहिला–पहिला मैले हजुरलाई थुप्रैपल्ट देखेको तर नेपालीजस्तो नलागेर नबोलेको,” फूलको प्रसंगलाई थाँति राखेर ऊ अनायास मतर्फ आकर्षित भई ।
“लौ ! कस्तो देखिन्छु र म ?”
“खै मलाई त पाकिस्तानी वा मिश्रीजस्तो लाग्या । त्यसै भएर संकोचवश नबोलेकी म ।”
म केवल हाँसिदिएँ ।
नजिकैको एउटा भारतीय जोडीलाई अलि धेरै नै एकान्त चाहिएको महसुस गर्यौं । एक–अर्कालाई हेराहेर गरेर हामी त्यहाँबाट उठ्यौं र अर्को कुनो समात्यौं ।
“तिमी आएको कति भयो ?” विदेशतिर औपचारिक वा अनौपचारिक, जुनसुकै कुराकानीमा यो प्रश्न प्रायः कतै छुट्दैन ।
“यता आएको त ६–७ वर्ष नै भयो नि । त्यसभन्दा अगाडि लामो समय दिल्ली बसें म ।”
मलाई उसको ‘लामो’ भित्र केही भएझैं लाग्यो । म उत्सुक भएँ । मभित्र उत्सुकताको एउटा लहर चल्यो र हठात् बन्द भयो । त्यो लहर बन्द हुनुमा उसको एउटा सानो स्पर्शले काम गरेको थियो ।
मेरो सम्पूर्ण ध्यान कसरी उसलाई छुने भन्नेमै केन्द्रित भइरहेका बेला उसको यो स्पर्श एउटा ढोका हुन सक्थ्यो । नभए पनि झ्याल त पक्कै हुन सक्थ्यो । मैले उसको हात आफ्नो हातमा लिएँ । छुने यही एउटा सजिलो तरिका थाहा थियो मलाई । स्पर्शका विभिन्न चरणहरू हुन्छन् । यो पहिलो हो, कमसे कम मेरो अनुभवमा यो पहिलो नै हो । उसले कुनै असजिलो मानिन । उसका आँखाहरूले त्यसै भनिरहेका थिए । मलाई उसको आँखाको भाषा र फुत्किन लागेको ओठको मुस्कान हौसलाजस्तै केही लाग्यो ।
दोस्रो चरणमा प्रवेश गर्नुपूर्व अलिकति शक्ति सञ्चय गरेँ । यो त्यही मौका थियो, जब उसको एक वाक्यले मैले समाइरहेको उसको हात मबाट अनायास फुत्कियो, झसंग भएँ । आश्चर्यमिश्रित ढंगले उसलाई हेरें । मलाई विस्मित र हैरान बनाउने उसको वाक्य यस्तो थियो, “म त माओवादी आन्दोलनमा थिएँ नि, थाहा छ हजुरलाई ?”
एउटा सानो–सानो निख्खर खैरो रंगको चरो हामीभन्दा ठीक अगाडिको सानो पोथ्रोबाट फुत्रुक्क झर्यो । आफ्नै भाषामा केही बोल्यो र भुर्र उड्यो । ठीक त्यसैबेला बतासको एउटा शीतल लहरले हामीलाई छोएर गयो ।
अब आएर मेरा आँखामा त्यही एकछिनअघिको उत्सुकता सघन भयो । मलाई उसको लोभलाग्दो शरीरभित्रका रहस्यका खातहरूले झनै आकर्षित गरे ।
“तर तिमीले अघि लामो समय दिल्ली बसेको कुरा गरेजस्तो लाग्यो !” बतासले उडाइरहेको उसको बाक्लो कालो कपालतर्फ हेर्दै सोधें ।
“हो त म भागेर लुक्न दिल्ली गएकी थिएँ । दिल्ली बसाइकै क्रममा यो भाटिया फेमिलीसँग भेट भयो र उनीहरूले नै मलाई यता ल्याएका हुन् । मेरो मामासँग यिनीहरूको पुरानो जानपहिचान रहेछ । त्यसै भएर बिना कुनै डर ढुक्कले आएँ म । नभन्दै यिनीहरू निकै असल रहेछन्, अब त ५ वर्ष बित्यो यिनीहरूसँग बसेको पनि,” उसले बेलिविस्तार लगाई ।
यस दौरान म केवल ए ! ए ! भन्दै रहें । ऊ बोल्दै गई ।
“मेरो काम पनि खासै धेरै छैन । बिहान बच्चालाई स्कुल पु¥याउने, घर सफा गर्ने अनि दिउँसो फेरि त्यै बच्चालाई स्कुलबाट ल्याउने । खाना प्रायः उनीहरू आफैं बनाउँछन् ।”
“ए ! अनि तिमी माओवादी आन्दोलनमा चाहिँ कसरी आकर्षित भयौ नि ?” यो मेरो मूल सरोकार थियो, म अब अलिकति पनि नअलमलिई सोझै विषय केन्द्रित हुन चाहन्थें ।
त्यसपछि एक्कासि केही सम्झेझैं गरेर ऊ मौन भई । उसका बाचाल ओठहरू टम्म बाँधिए । यता म उसको कथा सुन्न अधैर्य थिएँ । अन्ततः एउटा छोटो मौनता खण्डित हुन्छ, उसका बाचाल ओठहरूले क्रमशः आफ्नो लय समाउँछन् ।
“मेरा दुईजना दिदीहरूको पहिल्यै बिहा भइसकेको थियो । तपाईंलाई मैले पहिल्यै भनेकै हुँ मेरो घर मंगलबारेको बारेमा ।” इलामको मंगलबारे सम्झें ।
उसले अगाडि भन्दै गई, “घरमा म र आमाबुबा अनि मेरो एउटा भाइ, हामी यत्ति चार जना थियौं । बुबा इलाम बजारमा एउटा एनजीओमा काम गर्नुहुन्थ्यो । महिना–दुई महिनामा घर आउनुहुन्थ्यो । घरमा सामान्य मेलापात गर्न अब म ठूली भइसकेकी थिएँ । ढिलो गरी पढाइ सुरु गरेर पनि लगभग १७ वर्षकी हुँदा अर्को साल म एसएलसी दिने तयारीमा थिएँ । आहा ! म कति उत्साहित थिएँ अर्को सालको एसएलसीको लागि । तर, मैले कहिल्यै एसएलसी दिन पाइनँ ।” उसले आफ्नो उदासीलाई अनुहारमा आउन नदिएको प्रष्टै थाहा हुन्थ्यो ।
उसका ठूला आँखाले एकचोटि मलाई पुलुक्क हेरी । असजिलो मानेर हाँस्न खोजी । मैले आँखैले उसलाई अगाडि भन्न प्रेरित गरें । अनि ऊ यसरी सुरु भई फेरि–
“मलाई राम्रोसँग याद छ त्यो रात । त्यो साउनको कुनै रात हुनुपर्छ । दुई–तीन दिनदेखि लगातार झरी परिरहेको थियो । त्यसरी लगातार झरी पर्दा मलाई खै किन हो रातभरि निद्रा लाग्दैन । सबैभन्दा धेरै त पहिरोको डर लाग्छ । कहिलेकाहीँ मध्यरातमा आमा उठेर बत्ती बाल्नुहुन्छ अनि आमाछोरी केहीबेर गफ गरेर फेरि सुत्छौँ । त्यो दिन आमा नेपालटार बजार जानुभएको थियो । झमक्क साँझ परेपछि मात्रै फर्कनुभयो । मैले बेलुकाको खाना पकाइसकेकी थिएँ । हामी खाना खानै लागेका थियौं, एक्कासि बाहिर थुप्रो मान्छे हिँडेको आवाज आयो । त्यो आवाज नजिक–नजिक हुँदै हाम्रो दैलोमै आइपुग्यो । ‘घरमा को हुनुन्छ हँ ?’ एउटा तिखो पुरुष स्वर मैले भित्रैबाट सुनें । हामी एकछिनसम्म कोही बोलेनौं । दोस्रो पटक पुनः त्यही स्वर र त्यही भाषा दोहोरिएपछि आमा बाहिर निस्कनुभयो ।
“दिदी नमस्कार ! हामी १५ जनालाई आज तपाईंकोमा खाना ख्वाउनुहुन्थ्यो कि भनेर पो आइयो त !” एउटा आदेश र अनुरोधको मिश्रित भाषा मैले भित्रैबाट सुनें । आमाले हुन्छ बस्नुस् भनेको पनि सुनें ।
घरमा आएको बेला बुबाले हामीलाई राजनीतिको कुरा सम्झाउनुहुन्थ्यो । कता–कता बुबाको भित्र मनमा माओवादीप्रति अलिअलि सहानुभूति भएको पाउँथ्यौं हामी । त्यसैले हुन सक्छ, आमाले उनीहरूलाई राम्रो व्यवहार गर्नुभयो । खाना खाइसकेर हिँड्ने बेलामा उनीहरूमध्ये एकजना कालो–कालो, अग्लो मान्छेले मलाई भोलिदेखि तालिम लिन आउने उर्दी जारी गर्यो । उसले भन्यो, “हेर, हामी पनि कसैका छोरा हौँ । आन्दोलनमा लाग्ने सबै कसै न कसैका छोराछोरी नै हुन् । हामीले यो लडाइँ हाम्रो भोलिको आशा र एउटा सुन्दर, न्यायपूर्ण समाजको स्थापनाको सपनालाई साकार बनाउन लडेका हौँ । त्यसैले यो लडाइँ तिम्रो पनि हो ।”
आमा र म थाहै नपाई उसको कुरामा लठ्ठ परिसकेछौँ । उसको कुरा गराइमा जादू थियो । आँखामा झुट र बेइमानी जस्तो केही थिएन । र, त्यसपछि भोलिपल्टदेखि म उसले देखाएको सपनाको बाटोमा, उनीहरूको सहयोद्धा भएर कम्ब्याटमा तालिम लिन थालें ।”
पार्कको पहेंलो बत्तीको प्रकाशमा मैले उसका आँखामा गहन उदासी देखें । ऊ खै किन हो, एकदमै उद्विग्न थिई ।
“तिमीले बन्दुक चलाउन पनि सिक्यौ है ?” प्रश्न सोधिसकेपछि आफैंलाई हाँसो लाग्यो । तर, उसले गम्भीर भएर भनी, “तपाईंलाई थाहा छ, मलाई सामान्य पाइप बम, कुकर बम बनाउन पनि आउँछ । मैले आफूलाई राम्रैसँग युद्धमा झोसिसकेकी थिएँ । यदि त्यो दुर्भाग्यपूर्ण, पासविक घटना नघटेको भए शायद यतिबेला म कतै उपल्लो नेतृत्वमा हुन्थें ।”
“वा हुन सक्छ, तिमी मारिएकी हुने थियौ र तथाकथित महान सहिदहरूको लिस्टमा हुने थियौ ! खैर, तिमीले कस्तो दुर्भाग्यपूर्ण घटना भनेकी ?” मैले सोधें ।
उसले रुँला–रुँला गरेर मलाई हेरी । लगत्तै आँखा झुकाई र मसिनो स्वरमा भनी, “म सामूहिक बलात्कारको शिकार भएकी थिएँ ।”
मलाई मानौं एक्कासि बिजुलीको ठूलो झड्का लाग्यो । मैले तर्सिएर उसलाई हेरें । उसका आँखा बर्सिन–बर्सिन लागेको बादलजस्तै भइसकेका रहेछन् । मैले उसको हात समाएँ । तर, यो स्पर्शमा पहिलाको जस्तो अर्कैखाले आकर्षण थिएन । बरु असीम सहानुभूति थियो । उसले महसुस गरी शायद अनि एक्कासि रून थाली । मैले केहीबेर उसलाई रुन दिएँ ।
दुईजना स्थानीय अरबी केटाहरू हामी नजिक आएर ठूलोे स्वरमा गफ गर्न लागे । हामी चुप लागिरह्यौं । त्यसै पनि मन एकतमासले भारी भएको थियो । उनीहरूको चर्को हल्लाले दिक्क लाग्यो । हल्ला र हाँसो अझै चर्किन थालेपछि मैले आँखैले उठ्ने इशारा गरें । तर, उनीहरू एक्कासि, छिटोछिटो त्यहाँबाट निस्किएर बनियास स्क्वायरतिर लागे ।
मनमा भर्खरै जन्मिएको नवजात आदर्शलाई भावुकतावश संवरण गरेर युद्धमा होमिएकी केटीलाई ‘तिमी कसरी बलात्कारको शिकार भयौ ?’ भनेर सोध्न खै किन–किन अप्ठ्यारो लाग्यो मलाई । मैले लामो सास फेरें, पानी पिएँ ।
उसले सम्भवतः मेरो संकोच बुझी अनि आफ्नो पूर्वस्मृतिमा पुनः फर्की ।
“कुनै युद्धमा जानुभन्दा अगाडि गरिने अभ्यासयुद्ध वा रिहर्सल सकेर हामी क्याम्पमा फर्कंदै थियौं । सम्भावित आक्रमणको बारेमा मलाई स्पष्ट थाहा थिएन । त्यस्तो कुनै योजनाको बारेमा हामीलाई थाहा दिइँदैनथ्यो । त्यसमाथि म त झन् मिलिसिया । माओवादीका सेनालाई नै पनि युद्ध वा आक्रमणको पूर्वजानकारी हुने गर्दैनथ्यो । तर, यो तयारी हेर्दा आजभोलि नै कुनै ठूलै आक्रमण हुने निश्चितजस्तै थियो । हामी जम्मा १५ जनाजति थियौं त्यो समूहमा । मसमेत तीनजना केटीहरू थियौं । जाडो सकिन लागेको चैततिरको त्यो रातमा, आकाशको मधुरो जूनको उज्यालोमा हामी केवल हाम्रा पाइला बजेको मात्रै सुन्थ्यौं । दिनभरिको अभ्यासले थाकेर लखतरान भएकी थिएँ । भोक उस्तै लागेको थियो । सेल्टर पुगेर खाना खाएर ओछ्यानमा पल्टिहाल्न मन लागेको थियो । म सबैभन्दा पछाडि एकोहोरो हिँडिरहेकी थिएँ । मभन्दा अगाडिका तीनजना कमरेडहरू अचानक बाटैमा टुक्रुक्क बसे । विचरा गलेर बसे भन्ने सोच्दै मैले सोधें, “थकाइ असाध्यै लाग्यो क्या हो कामरेड ?” बाँकी कमरेडहरू अगाडि बढिसकेका थिए । ‘अँ हौ, बरु आउनुस् एकछिन थकाइ मारौँ’ भन्दै उनीहरूले बस्न अनुरोध गरे ।
त्यसपछि उनीहरूले जे गरे त्यो भन्न मसँग शब्दहरू अपर्याप्त छन् । धेरैपछि मैले कुनै स्रोतमार्फत थाहा पाएँ, त्यो नियोजित योजना रहेछ । उनीहरू तीनजना मेरो पछि लागेको धेरै समय भएको रहेछ । मलाई गिजोलिसकेपछि उनीहरूले चेतावनी र धम्कीका थुप्रै शब्दहरू खर्चिए । यदि मैले यो घटना डिस्क्लोज गरें भने कसरी मेरो सफाया हुनेछ भन्ने थुप्रै तरिकाहरू बताए । युद्धमा आफ्नै सहयोद्धालाई उसले थाहै नपाउने गरी शत्रूले नै मारेजसरी कसरी मारिन्छ भन्नेबारे धम्कीपूर्ण लवज सुनाइयो मलाई ।
सेल्टरतिर फर्कंदै गर्दा मेरो मनभित्र मेरा कतिपय आदर्श र सपनाहरूले क्रमशः आत्महत्या गर्दैथिए । निराशा, हतास, डर, आक्रोश, घृणाजस्ता कुराहरू आफूभित्र तीव्र सञ्चारित भइरहेका थिए । घरि रुँदै, घरि डराउँदै पागलजस्तै दौडिँदै रहेछु म त ! त्यसपछि म सरासर कमान्डरको सेल्टरमा गएँ । मैले रुँदैरुँदै आफूले भर्खरै बेहोरेको दुःस्वप्नजस्तै लाग्ने त्यो घटनाबारे उसलाई भनें । मलाई नै आश्चर्यचकित तुल्याउँदै उसले कोट्याई–कोट्याई सोध्यो, “कसरी ? पहिला कसले ? लुगा कसले खोल्यो ?” इत्यादि सोध्दै जब उसको हातले मलाई छुन थाल्यो, म झसंग भएँ । डराएँ, थरथरी कामें । ह्वास्स उसको मुखबाट रक्सीको हरक आयो । र, यसरी म उसको पनि शिकार भएँ ।”
पार्कमा यतिबेला मान्छेहरूको चहलपहल एक्कासि बढ्यो । बेलुकाको ८ बज्न लागेको बेला थियो । साँझ अब बिस्तारै जवान हुँदैथियो । उसले बोतलमा मुखै गाडेर घटघट पानी पिई । मैले एलएम ब्लु सल्काएँ । मुखबाट फुरुरु निस्किएको धूवाँको पारदर्शी पत्रभित्र अचानक दुइटा निर्दोष आँखाको अथाह पीडा दृष्टिगोचर हुन्छ । ऊ परको इतिसलातको टावरतर्फ एकोहोरिएर हेरिरहेकी रहिछे ।
“अब उठ्ने हो कि दीपा ?” उसले मानौं मलाई ध्यानै दिएकी थिइन । मलाई सुनेकै थिइन ।
“शरीरमा लागेको चोट र मनमा लागेको चोटमा फरक हुँदोरहेछ गोपाल दाइ ! म अक्सर मनको चोटलाई शारीरिक चोटसँग तुलना गर्थें । सोच्थें, शरीरमा कुनै घाउ लाग्यो भने काटेको क्षणबाटै त्यो घाउ निको हुने प्रक्रियामा हुन्छ । अर्को दिन नै घाउमा बिस्तारै खाटा बस्न सुरु भइसकेको हुन्छ । हप्ता वा महिनामा घाउ पूर्णतया निको हुन्छ । मनको घाउ पनि त्यस्तै त होला भनेर सोच्ने गर्थें । ठान्थें, मनको घाउमा पनि समयको मल्हमपट्टीले क्रमशः खाटा बसाउँछ होला अनि एकदिन पूर्णतया निको हुन्छ होला । तर मेरो दुर्भाग्य हेर्नुस्, यो घाउ आजपर्यन्त उस्तै छ, उस्तै ताजा !”
जवाफमा मैले अर्को चुरोट सल्काएँ । उसलाई सम्झाउने वा सहानुभूतिका दुई शब्द व्यक्त गर्नु एउटा विद्रुप ठट्टाजस्तै लाग्यो । म उठें । उसलाई हात दिएँ । मेरो हात समातेर ऊ पनि उठी । त्यहीबेला उसको मोबाइलको रिङटोन ‘तुझ से नाराज नही जिन्दगी, हैरान हुँ मैं, हैरान हुँ मैं’ भन्दै बज्यो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३ ०८:४६
प्रतिक्रिया दिनुहोस्