विशेष
कालो रात
त्यही दसैं थियो सम्झनालाई आमाले भगवान् यसैगरी सधैं दाहिना हुन् भनेर आशीर्वाद दिएको । तर विडम्बना ! सधैं भगवान दाहिना नहुँदा रहेछन् ।
०५८ सालको एक रात सम्झनाका लागि कालो रात बनेर आयो । त्यो कालरात्रि सम्झनाले बिर्सन हजार प्रयास गरिन् । तर, आजसम्म पनि भुल्न सकेकी छैनन् । भन्छिन्, “त्यो कालोरात म जिन्दगीभर बिर्सन सक्दिनँ ।”
सकून् पनि कसरी ! त्यही रात हो, जसले उनको खुसी खोस्यो, खुसीसँगै खोस्यो सपना र उदाउँदो नयाँ पहिचान पनि ।
लाजिम्पाटमा डान्ससम्बन्धी एउटा कार्यक्रम थियो । उनले आफ्नो प्रस्तुति दिइन् । सधैझैं सबैले वाहवाही गरे । कार्यक्रम राति ९ बजेसम्म चल्यो । उनी घर फर्कने तयारी गर्दै थिइन्, गुरु गजत गुरुङले घरसम्म छोड्दिन्छु भने । उनले पनि ‘हुन्छ’को सूचकमा टाउको हल्लाइन् । सम्झना त्यो बेला बालुवाटार बस्थिन् । बाइक उनको घरतर्फ मोडियो । बाइक थोरैमात्रै अगाडि के बढेको थियो, अचानक देखिएको कारले उनीहरुलाई महाराजगन्जमा ठक्कर दियो ।
त्यसपछि उनले यो संसार देखेको एक महिनापछि हो । एक महिना होश गुमाएकी सम्झना होश खुल्दा पनि अवचेतनका कुरा गर्न थालिन् । उनको होश थिएन । नानाथरी बेतुक र बेप्रसंगका कुरा गर्थिन् ।
दुर्घटना हुँदा उनको शरीरमा कुनै चोट लागेन । एक थोपा पनि रगत बगेन । तर, बाइक चलाइरहेका जगत भने रगतपच्छे भए । उनलाई सबैले माया मारे । सम्झनालाई भने आत्तिएर होश गुमेको सबैले अनुमान गरे । तर, अवस्था उल्टो भएको रहेछ । जिब्रो काटेर रगत बगे पनि उनी तत्काल ठीक भए । तर, सम्झनाको भने दिमागमा चोट परेछ । उनलाई १५ दिन आईसीयूमा राखियो । एक महिना अस्पतालमै बसिन् अनि बल्ल होश खुल्यो । त्यो पनि होशका कुरा गर्दिनथिन् ।
त्यो बेला कलाकारले उनलाई अगाध स्नेह गरे । शिव श्रेष्ठ, भुवन केसी, बसुन्धरा भुसालजस्ता अग्रजलगायत कलाकार उनलाई भेट्न टिचिङ अस्पताल पुगिरहन्थे । उनको अवस्था बुझिरहन्थे ।
सम्झनाको दुर्घटनाले पत्रपत्रिकामा स्थान पायो । सबैले उनी दुर्घटनामा परेको थाहा पाए । उनलाई ठक्कर दिने कारचालक त्यतिबेला भागे पनि पछि सम्पर्कमा आए । उनी प्रतिष्ठित व्यक्ति नै रहेछन् । उनले आत्मालोचना गरे र उपचारको केही खर्चसमेत बेहोरे ।
चुँडियो सपना
दुर्घटनाहरू दिनहुँ भइरहन्छन् । त्यसमा आफू नपरुन्जेल सबैलाई सामान्य लाग्छ । आफ्नै आँखाले देख्यो भने मन चिसो हुन्छ । तर, आफैंले भोग्नुप¥यो भने बल्ल थाहा हुन्छ त्यसको पीडा । कति दर्दनाक हुन्छ दुर्घटना ! मृत्युभन्दा पनि भयानक । जिन्दगीभर पोलिरहने शारीरिक घाउ अनि बाँचुन्जेल बल्झिरहने मनमा लाग्ने घाउ, जो न डक्टरी मलमपट्टीले निको हुन्छ न बाँच्न हौस्याउन आफन्तजनले दिने ढाडसले ।
त्यो कालो दिन सम्झनाका लागि त्यस्तै बनेर आयो । नृत्यबाट कमाएको ख्यातिले उनलाई बिस्तारै प्रगतिका खुड्किला चढाउँदै थियो । उनी नृत्यांगनाबाट नायिका बन्दै थिइन् । उनलाई आफ्नो सिनेमामा नायिका बनाउन निर्माता निर्देशकहरूले अफर गरिरहेका थिए । सामान्य नायिकाको भन्दा कम लोकप्रियता थिएन सम्झनाको । केही चलचित्रमा कोरस गरिसकेकी उनलाई नयाँ अनुभूति र नयाँ पहिचान हुन्छ भने गरौं न त भन्ने लाग्यो । उनले तीन वटा सिनेमामा एग्रिमेन्ट पनि गरिन् । निर्माताले उनलाई एड्भान्स पनि दिए । अरु ५–६ वटा सिनेमाका निर्देशक निर्माताले पनि उनीसँग कुरा गरिरहेका थिए । त्यो बेला रेखा थापा चल्तीकी नायिका थिइन् भने करिष्मा मानन्धर, निरुता सिंह, विपना थापाजस्ता नायिकाले विश्राम लिइसकेका थिए । अभिनयमा पोख्त, नृत्यमा पारंगत अनि अनुहार धप्प बलेको । शरीरले पनि साथ दिएको थियो । तर, दुर्घटनाले यी सबै सपना र सम्भावनालाई पूर्णविराम त लगायो नै, उनी पूरानै कर्ममा मात्रै पनि फर्किन सकिनन् । सम्झनालाई निको हुनमात्रै डेढ वर्ष लाग्यो ।
प्रहरी सेवामा प्रवेश
डेढ वर्षपछि सम्झना रिकभर भइन् । उनलाई फेरि कार्यक्रमहरूमा जान मन लान्गन थाल्यो । तर, बुबाआमाले बाहिर नगइदिए हुन्थ्यो भन्ने मनसाय राख्न थाले । त्यो बेला उनी महेन्द्र पुलिस क्लब जान्थिन् । त्यहाँ उनले सशस्त्र प्रहरीमा डान्स सेक्सनमा कलाकार चाहिएको थाहा पाइन् । उनले त्यहाँ जाने योजना बनाइन् । मोडल गीता राईले उनलाई सहयोग गरिन् ।
त्यो बेला तत्कालीन माओवादीले छेडेको द्वन्द्व उत्कर्षमा थियो । घरमा सल्लाह गरे जान दिने वातावरण थिएन । त्यसैले उनले घरमा जानकारी दिइनन् र छनोटका लागि गाइन् । लाइनमा थुप्रै युवती थिए । उनको पालो आयो, र डान्स सुरु गरिन् । ३२ बिटमा के पुगेकी थिइन्, छनोट समितिमा बसेका ध्रुव हाडाले भने, “तपाईं रोक्नुस्, भयो ।’
सम्झनाको मुटु चिसो भयो । म फेल भएँ भन्ने लाग्यो । जिन्दगीमा केही गर्न नसकिने रहेछ भन्ने लाग्यो । तर, परिणाम भने उल्टो आयो । उनी पास भइन् । नृत्यमा उनको सुरुआती बिटले ध्रुवले सम्झनाको नृत्यको सिल्पी थाहा पाएर रोक्नुस् भनेका रहेछन् । उनी सशस्त्र प्रहरी भइन् । सरकारी जागिरे भइन् । जागिर पक्का भइसकेपछि मात्रै उनले घरमा भनिन् । परिवार छक्क पर्यो ।
सशस्त्रको पोशाकमै उनले तीन महिना तालिम गरिन् । बन्दुक चलाउनेदेखि प्रहरीले गर्ने लगभग अधिकांश तालिम उनले गरिन् । तर, कलाकारिताको सेक्सन परेकाले उनीहरूले अरूले जस्तो कठोर परिश्रम भने गर्नु पर्दैनथ्यो । प्रहरी फोर्सभित्र हुने सांस्कृतिक र सांगीतिक कार्यक्रममा भने उनीहरू सहभागी हुनुपथ्र्यो । राजाको महोत्सव, पुलिस दिवस, नारी दिवसमा उनीहरूको भूमिका हुन्थ्यो । २५ जनाको त्यो सांस्कृतिक समूहलाई सम्झनाले कमान्ड गर्थिन् । यसरी रंगीन दुनियाँबाट उनी सशस्त्र प्रहरी फोर्समा मिसिइन् ।
उनीहरूलाई बेला बेलामा प्रहरी अधिकृतहरूले ‘तिमीहरूलाई काठमाडौं बाहिर दरबन्दी बनाइदिन्छु’ भनेर धम्क्याउँथे । हकी र बोल्ड सम्झना भने डराउँदैन थिइन् । भन्थिन्, “हामी कलाकार हौं, बन्दुक बोक्न आएका होइनौं । हेरौं, कसरी दरबन्दी काठमाडौं बाहिर बनाउछौ ।”
सम्झनाले भनिन्, “एकपटक त मेरो चिफ सापसँग नि झगडा भयो । बेलाबेलामा झगडा भइरहन्थ्यो । महिनामा चार दिन बिदा हुन्थ्यो । तर, म भने बिदा बसिरहन्थें, त्यही नै झगडाको कारण हुन्थ्यो ।”
अनि छाडिन् जागिर
शंकर बीसीसँग उनको पहिलेदेखि नै चिनजान थियो । एउटा कार्यक्रममा शंकरसँग उनको भेट भयो । शंकरले ‘म्युजिक भिडियो गर्ने होइन ?’ भने । उनले ‘हुन्छ’ भनिन् । पर्सिपल्ट बोलाए । सम्झनालाई बिदा मिलेन । शंकरले डेट सारे । सम्झनालाई अफिसले फेरि बिदा दिएन । शंकरले अर्को डेट तय गरे तर पनि सम्झना जान सकिनन् ।
धेरैपछि शनिबार पारेर सम्झनाले शंकरलाई समय दिइन् । गीतको सुटिङ भयो । त्यो गीत थियो ‘सुपारी चाम्रो’ । धेरै वर्षपछि छायांकनमा गएकी सम्झनालाई क्यामेरा, एक्सन, कट अनौठो लाग्यो । तर पनि उनले प्रहरी फोर्सभित्र नृत्यकै काम गरेकाले खासै गाह्रो भने भएन । अनुभूतिमात्रै फरक भएको थियो । गीत हिट भयो । त्यही गीतले संगीतमा सम्झनालाई पुनर्जन्म दियो । उनले खोजेको नाम दियो ।
त्यो गीतपछि उनको अर्को गीत आयो, ‘लालुपाते नुग्यो भुइँतिर’ । त्यो गीत पनि दर्शकले मन पराइदिए । सम्झनाको लोकप्रियता चुलिँदै गयो । उनले दुर्घटना भुल्दै गइन् । एकपछि अर्को गीतमा उनलाई अफर आउन थाल्यो । उनको रुचिको क्षेत्र पनि त्यही थियो तर बिदा मिल्दैनथ्यो । महिनामा चार दिन बिदा हुन्थ्यो । तर, सम्झना भने जम्मा चार दिनजस्तो मात्रै अफिस जान थालिन् । उनलाई अब पुलिस फोर्स छोड्नुपर्छ जस्तो लाग्यो । ६ वर्ष काम गरेपछि उनले राजीनामा पत्र लेखेर दिइन् । राजीनामा स्वीकृत भएन । पहिलो सांकृतिक फोर्सकी कमान्डरले नै राजीनामा दिएको भन्दै काममा फर्किन भनियो । तर, उनले मानिनन् । उनीसँग एउटा विकल्प थियो, अमेरिका जाँदैछु भनेर ढाँटिन् । प्रहरी फोर्सबाट भागिन् र भगौडाको सूचीमा परिन् । उनको जागिर गयो । उनले औषधोपचार खर्च, उपदानलगायत केही सुविधा पाइनन् । सञ्चयकोषमा जम्मा भएको पैसा भने निकालिन् । ३ लाख रुपैयाँ जम्मा भएको रहेछ । त्यसपछि उनले अहिलेसम्म निरन्तर यही क्षेत्रमा काम गरिरहेकी छन् । १५ सय गीतमा नृत्य गरिसकेकी छन् । गएको तीजमा मात्रै उनले १२ वटा गीतमा अभिनय गरिन् । अहिले भने खुट्टाको लिगामेन्टको समस्याले शरीर केही मोटो भएकाले चाहेर पनि त्यति धेरै अभिनय भने गर्न सकेकी छैनन् । दुर्घटनाले केही सपनाहरू बीचमै चुँडिदिएकाले भाग्यसँग केही असन्तुष्टि रहेछ । भन्छिन्, “देखेको पाइँदैन, लेखेको मात्रै हुँदोरहेछ ।”
मान्छेको जातै असन्तोषी । त्यसैले उनमा सायद असन्तुष्टि देखिएको होला । उनीसँग नाम छ, दाम छ । माया गर्ने फ्यान फलोइङ छ । तर पनि दुर्घटना र त्यसले छोडेको छापले उनले चाहेजति काम गर्न सकिनन् । तर पनि उनले आफ्नै कमाइले काठमाडौंको बालाजुमा तीन तले घर बनाएकी छन् । अहिले उनको आफ्नै बुटिक छ ‘सम्झना बुटिक’ । छायांकनका लागि आवश्यक ड्रेस हायर सेन्टर छ उनीसँग । यतिमात्रै होइन, उनको आफ्नै ट्रेनिङ सेन्टर ‘द ल्यान्ड अफ ड्रिम्स’ पनि छ ।
बाल्यकालको सम्झना
काठमाडौंको चोभार पुख्र्यौली घर भएकी सम्झना बानेश्वरमा जन्मिएकी थिइन् । बानेश्वरबाट उनको परिवार पुतलीसडक सर्यो । पुतलीसडकबाट फेरि धुम्बाराही पुग्यो । युनिभर्सल स्कुलमा विद्यालयको पढाइ सकेकी सम्झनाको रुचि नृत्यमा थियो । स्कुल पढ्दापढ्दै उनी नृत्य सिक्न संगम कला केन्द्र पुतलीसडक आइन् । संगम भण्डारीको उक्त कलाकेन्द्रमा सम्झनाले दुई महिना डान्स सिकिन् । गुरु थिए– केशव सापकोटा । केशवले सधैं उनको नृत्य कलाको मुक्त कण्ठले प्रशंसा गर्थे । बालसुलभ सम्झनाको मन फुरुङ्ग हुन्थ्यो । उनकी दिदी पनि राम्रो नृत्य गर्थिन् ।
सम्झनाले नृत्य सिकिरहेकी थिइन् । केशवले कार्यक्रममा डान्स गर्छौं ? पैसा पनि आउँछ भने । ०५४ सालको कुरा थियो । एउटा कार्यक्रममा डान्स गरेको दुई सय रुपैयाँ आउँछ भने गर्ने भनिन् सम्झनाले ।
होलसेल पसल सञ्चालन गर्ने उनको परिवारको आयस्रोत अरु थिएन । मध्यस्तरको परिवार थियो । त्यसैले उनले कार्यक्रममा डान्स गर्न थालिन् । टिपिकल कल्चरल डान्स गर्ने उनलाई धेरै ठाउँबाट अफरहरू आउन थाले । सम्झनाकी दिदी पनि डान्स गर्थिन् । दिदीबहिनीले डान्स गरेको पैसा संकलन गरेर उनीहरू पढिरहेका थिए । परिवारलाई केही सहज भयो ।
सम्झनालाई केशवले धेरै पटक सम्झिए । केशवले नै उनलाई केही समयपछि फेरि भने, सम्झना भोजन गृह रेस्टुराँ (डिल्लीबजार)मा साँझ कल्चरल डान्सका लागि मान्छे चाहिएको छ, गर्छौ ? भने । मासिक दुई हजार रुपैयाँ तलब पाइने भएपछि सम्झनाको दिदीबहिनी त्यही डान्स गर्न थाले । दिनभर स्कुल गएर पढ्ने सम्झना राति ९ बजसम्म डान्स गर्थिन् । साढे ९ बजे घर पुगेर स्कुलको गृहकार्य सकेर अबेर राति सुत्थिन् । उनको जीवन त्यही रुटिनमा लामो समय चल्यो । त्यो समय उनी कक्षा १० मा पढ्दै थिइन् । यो उनका लागि अवसर बन्यो । उनलाई टाढा टाढाबाट नृत्यका लागि बोलाउन थालियो ।
वसन्त श्रेष्ठले उनलाई साइड र कोरस डान्सका लागि आग्रह गरे । साथीहरूले पनि ‘टिभीमा देखिन्छ, गरौं न त’ भने । उनले पनि हुन्छ भनिन् । ‘बदाम सोलीमा’ भन्ने गीतमा उनले पहिलो पटक कोरस डान्स गरिन् । त्यसलगत्तै उनले कुन्ती मोक्तानको ‘डाली डालीमा’ बोलको गीतमा पनि लिड रोल गरिन् । प्रेम लोप्चनका धेरै गीतमा अभिनय गरिन् । एकपछि अर्को उनले गीतहरू पाउन थालिन् । उनको लोकप्रियता ह्वात्तै चुलियो, व्यस्तता बढ्यो ।
काँचको पर्दा यात्रा
जगत गुरुङले टेलिसिरियलका तत्कालीन भेट्रान लय संग्रौलासँग सम्झनालाई भेटाइदिए । संग्रौलाले उनलाई ‘तिम्रो अभिनय राम्रो लाग्यो म तिमीलाई राख्छु’ भने । त्यो बेलाको हिट सिरियल ‘चेतना’मा उनले ब्रेक पाइन् । त्यसमा उनको नाम सम्झना नै थियो । सम्झनासँगै रेजिना उप्रेती पनि त्यो टेलिफल्ममा अटाइन् । रेजिनाको नाम भने जुनकीरी थियो ।
‘चेतना’मा काम गर्दागर्दै उनले ‘नौ डाँडापारि, सिउँदोको सिन्दुर’मा आइटम डान्स गरिन् । पछि उनलाई लिड रोलका लागि अफर आयो । उनले एग्रिमेन्ट पनि गरिन् । तर, त्यही बेला उनी दुर्घटनामा परिन् । सपनाहरू छरिए । जिन्दगी तितरबितर बन्यो ।
सम्झनाका सम्झना
सम्झनासँग आफ्नो व्यावसायिक जीवनका धेरै सम्झनाहरू छन् । कैयौंपटक दर्जनौं देश गएकी सम्झना एक चोटी कतारमा थिइन् । उनलाई भेट्न त्यहाँ उनी बसेकै होटलमा फ्यानहरू आए । होटलको लबीमा बसेकी उनलाई भेट्न सयौं नेपाली लाइन लागेर आए । प्रत्येकको हातमा बुकेसँगै केही न केही उपहार हुन्थ्यो । उनलाई त्यो क्षण अनौठो लाग्यो । आफ्नो लोकप्रियता र क्रेज देखर आफैंलाई अविश्वास लाग्यो ।
यस्ता थुुप्रै क्षण छन् आफ््ना दर्शक तथा फ्यान फलोइङसँग सम्झनाका, जुन उनी भुल्नै सक्तिनन् । हङकङमा एक नेपालीले उनलाई उपहारस्वरूप सुनको महँगो औंठी दिए । उनलाई अच्चम लाग्छ, मसँग के छ जसका कारण मलाई यति धेरै माया गर्ने दर्शक हुनुहुन्छ ।
“मेरा गीतहरू केही कम भए । मेरो उपस्थिति केही कम भयो । सामाजिक सञ्जालहरूमा अहिले पनि प्लिज सम्झनाजी ! हामी तपाईंको गीत हेर्न चाहन्छौं भन्ने धेरै हुनुहुन्छ । तर लिगामेन्टको समस्याले चाहेर पनि मैले धेरै गीत गर्न सकिरहकी छैन । र पनि म गीत संगीतकै क्षेत्रमै छु । हराएकी छैन म । नृत्यलाई माया मारेकी हैन मैले,” जाँदाजाँदै सम्झनाले भनिन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३ ०८:२४
प्रतिक्रिया दिनुहोस्