site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसले रोग, भोक र शोकलाई जित्यो
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
७२ वर्षका चन्द्रवीर ओली बिहानै ५ बजे उठ्छन् । घर र आँगनमा कुचो लगाउँछन्, अघिल्लो दिनका भाँडा सफा गर्छन् अनि चामल र तरकारीको जुगाड गरेर अगेनोमा आगो झोस्छन् । चार जनाको परिवारका लागि भात पकाएर चुलो लिपपोत गरिसक्दा उनले कहिल्यै हेर्न चासो नदिने घडीमा १० नाघिसकेको हुन्छ । अनि लाग्छन् कोदालो, फरुवा र गैंती बोकेर बाटो खन्न ।
एक वर्षदेखि उनको समयतालिकालाई रोग, भोक, शोक, चाडबाड, घामपानी, हुरिबतास कसैले बदल्न सकेको छैन । र, त बाटोको मुहार फेरिएर मान्छे हिँड्ने भएको छ ।
नाति–नातिनासहित नौ जनाको परिवारमा चन्द्रबहादुर दोस्रो आँखा देख्ने व्यक्ति हुन् । उनका कान्छा छोरा केशव पनि आँखा देख्छन्, उनी त्यही आँखाको ढकनी खोलेर गाउँघर डुलिरहन्छन् ।
दाङको तुलसीपुर बजारबाट सल्यानतर्फ उक्लिएपछि ५ किलोमिटर दूरीमा साततले आइपुग्छ । त्यही बाटोलाई छाडेर पूर्वको डाँडोमा उक्लिएपछि चन्द्रवीरको घर आउँछ । बाटोबाट २ किलोमिटरको दूरीमा रहेको उनको घर पुग्न पहिले खमारीको खोला तरेर झारी बुट्यान समात्दै एक घण्टा हिँड्नुपथ्र्यो । आँखा नदेख्ने श्रीमती र छोराहरूलाई आवतजावत गर्नु मृृत्युलाई छोएर हिँड्नुजस्तै हुन्थ्यो । घर आइनपुग्दासम्म मनमा सन्तोक हुन्नथ्यो ।
संसारै नदेखेका परिवारका लागि बाटो के हो, थाहै थिएन । चन्द्रवीरले खोस्रिएको त्यही बाटो पनि उनीहरूले देख्न पाएनन् । महसुस मात्रै गर्न सके ।
चन्द्रवीर हरेक दिन भोगिरहन्थे बाटो नहुनुको पीडा । जंगलको बीचमा एक्लै रहेको उनको घरसम्म पुग्ने बाटो बनाउन सरकारको पनि के चासो ! चन्द्रवीर भने सधैं मनमनै अत्तालिन्थे । सोच्थे– बाटो बनाउन पाए जहान र बालबच्चाको बिजोग हुने थिएन ।
बिहे गरेर श्रीमती भित्र्याएको एक साँझ माइला छोरा विपीनले भने, “बा, बिहे पनि गरियो । आफफैंले केही नगरे पनि सरकारले जग्गा राखेर हामीलाई थोरै ब्याजमा पैसा दिन्छ रे ! त्यही पैसाले गाडी किनम् ।”
अक्षरको नाममा आफ्नो नाम लेख्न पनि नसक्ने चन्द्रवीरलाई छोराको प्रस्ताव मनासिव लाग्यो । “बाबुछोरा मिलेर घरसम्म आउने बाटो खनम् अनि गाडी किनम्,” उनले भने ।
परिवारका लागि कसरी बाटो बनाउने भन्ने द्विविधामा रहेका चन्द्रवीरका लागि यो गज्जबको अवसर थियो । चन्द्रवीर छोरा विपीनसँग बिहानै कोदालो बोकेर गए । २०० मिटरजति के खनेका थिए, एक साँझ माइली बुहारी नै हराइन् । खोज्दा थाहा भयो– उनी त बाटो खनेको ठाउँसम्म पुगेर बसेकी रहिछन् । जंगलबीचको एक्लो घर उनलाई अत्यास लागेछ । विपीनको मनमा पर्यो, “बाटो खने श्रीमती नै भाग्ने रहिछ ।” त्यही त्रासले उनी अर्को दिनबाट बाटो खन्न गएनन् । छोरासँगै चन्द्रबहादुर पनि आफ्ना अरु समस्यातिर लागे । 
०७२ माघको जाडो पनि अरु सालजस्तै मुटु ठिहिर्याउने थियो । बिहान खाना खाइसकेपछि चन्द्रवीरसँग समय फन्काउनका लागि कुनै उपाय थिएन । जीवनका दुःख जोरेर गीत बनाउन खोजे । तर, उनको दुःख गीतले पनि शब्द र संगीतमा अटाउनै सकेन । अनि सोचे– ७२ वर्षको भए पनि ज्यानमा तागत छ । किन आफ्नो परिवार हिँड्ने बाटो नखन्ने ?
उनले कोदालो समातेर पहाडको छाती खोस्रन थाले ।
“परिवारै दृष्टिविहीन भएको घरको एउटो बूढो बौलाएको छ रे, पहाड खनेर बाटो पो बनाउँछु भन्छ त,” उनको घरदेखि आधा घण्टाको दूरीमा रहेको खमारी गाउँको गाइँगुइँ बतासले उनको कानसम्म पनि ल्याउँथ्यो । उनलाई त्यो ऊर्जा बन्थ्यो । सुकेको तनमा तागत भरिन्थ्यो । उनले आफ्नो घरसम्म मात्रै होइन, त्यही खमारी गाउँसम्म पुग्ने गरी बाटो बनाइदिए । उनलाई नपत्याउनेहरू अहिले उनैले बनाएको बाटो ओहोरदोहोर गरिरहन्छन् । चन्द्रवीरलाई योभन्दा बलियो जवाफ केही लाग्दैन ।
चन्द्रवीरको दुःखको शृृंखला रोल्पाको पाखापानीबाट सुरु भएको हो, जहाँ उनले पहिलोपटक आँखा खोलेका थिए । ३ भाइमध्ये कान्छा उनले ६ वर्षको उमेरदेखि कोदालो बोकेका थिए । कोदालो बोकेर केही नभएपछि उनी लागे साथीहरूसँग कालापहाड, जहाँ उनले बाल्यकाल र यौवन बिताए । बदलामा पाए, २४ हजार रुपैयाँ । त्यही रकम बोकेर उनी पहिलो पटक दिदीको शरणमा खमारीको डाँडो उक्लिए । अहिलेसम्म उनी यही डाँडोमा छन् । दाजुहरू सम्पन्न थिए । त्यही सम्पन्नताले नपुगेर सोझा चन्द्रवीरको अंश पनि उनीहरूले हडपे । चन्द्रवीरसँग ऐलानी डाँडो र एक्लो ज्यानमात्रै बाँकी रह्यो । त्यही ज्यानले अहिलेसम्म परिवारको आँखामा आँसु टिल्पिलाउन दिएका छैनन् ।
“म मरेपछि यिनीहरूलाई कसले स्याहार्छ ?” चन्द्रवीरका आँखामा आँसु टल्पलाए, गालामा टाँसिएको धूलो बगायो, “मनको धूलो त कसले देखेको पो छ र ! म एकछिन नहुँदा पानी खान पाउँदैनन्, मरेपछि भात कसरी खालान् ? बिरामी हुँदा कसले अस्पताल लैजाला ? यही सोचेर मलाई पीर लाग्छ ।”
कहिलेकाहीँ चन्द्रवीर काममा गएर भात पकाउन ढिलो हुँदा आमाछोरा ‘भोक लाग्यो’ भनेर कराउँदा रहेछन् । सुनोस् कसले ! उनी कामबाट फर्कंदासम्म कराइरहेका हुँदा रहेछन् ।
हामी उनको घर पुग्दा बिहान ९ बज्नै आँटेको थियो । चन्द्रवीर घरका भित्री काम गर्दै थिए । कान्छा छोरा दुई दिनदेखि घर फिरेका थिएनन् । साइँला छोरा घरअगाडि फलेकमा बसेका थिए, जुन फलेक उनको एकान्तपनको साथी थियो । श्रीमती मोबाइलमा काठमाडौंमा रहेका जेठा छोराको भर्खर जन्मेको नातिको हालखबर बुझ्दै थिइन् ।
“यिनीहरू कामै गर्न सक्दैनन्, एक्लै कति भ्याउनू ! आजभोलि घट्टको सिजन छ, काम नगरे के गरी पाल्नू ?” चन्द्रवीर फतफताउँदै थिए, “अब २ नबजी भात खाने हुँदैन, बिहानदेखि केही खाएका छैनन् । आफूले गर्न सक्दैनन्, भोक लाग्यो भनेर रुन्छन् । एक्लै के–के गर्नू ?”
घरमा बत्ती छैन । मोबाइल चार्ज गर्नसमेत अर्को गाउँमा जानुपर्छ । दुःखजिलो गरेर ४ वर्षअघि धारा जोडे, नत्र पानीको पनि उस्तै अभाव थियो । अभावका धेरै लिस्ट छन्, पूरा हुने उपाय छैन । उनले आजभोलि लिस्ट बनाउनै छाडिदिए । 
घट्टमा पीठो पिस्न आउनेको भीडबाट लख काट्छन्– तिहार आएछ ! उनी कहिल्यै कुनै चाड मनाउँदैनन् ।
“पैसो हँुदैन, कसरी मनाउने ? मलाई दसैंतिहार कुनै पनि चाडको ख्याल छैन, टीका पनि लगाउने गर्दैनौं,” उनले थपे, “दुःखले जितेपछि केही लाग्दो रहेनछ ।”
जीवनको मेलो समात्न उनीसँग केही ऐलानी जग्गा छ । अरुले आँखा देख्दैनन्, चन्द्रवीर काममा यताउता गरिरहन्छन् । जे लगाए पनि जंगली जनावर आएर सखाप पार्दा रहेछन् । उनले अहिलेसम्म गतिलरी जग्गाको उपयोग गरेका छैनन् ।
“वर्षमा पाँच हजारजतिको बेसार बेच्नुभन्दा केही गर्न सकिएको छैन । जति गरे पनि बँदेलले खाइहाल्छन्,” उनले गुनासो गरे । 
चन्द्रवीरको जीवन गुडाउने अरु पनि बाटा छन् ।
“कहिलकाहीँ तपाईंजस्तै पत्रकार आउँछन्, के–के लेख्छन्, मान्छेहरू आफैं सहयोग गर्न आउँछन्,” उनले भने ।
उनको घट्ट पनि छ । गाउँबाट धेरै टाढा छ । त्यसमाथि गाउँमै अर्को घट्ट खुलेपछि उनको पनि ‘घट्ट’ बसेको छ । राहतस्वरूप एक बिमा कम्पनीले वार्षिक ४ हजार दिने गरेको छ, जसबाट उनका केही थान आवश्यकता पूरा हुने गरेका छन् ।
“मसँग अहिले १५३५ मात्र बाँकी छ,” गोजीबाट पोलिथनभित्र राखिएको पैसा गने । ५ सयका दुइटा, सयका ४ वटा, पचासका २ वटा, १० का तीनवटा अनि एउटा ५ को ।
बस्तीभन्दा निकै टाढा जंगलमा बस्दा उनले धेरै सास्ती खेपे । आफैंले जन्माएका सन्तानको अनुहारसमेत हेर्न नसक्ने श्रीमतीलाई ६ पटक सुत्केरी हुँदा एक्लै स्याहारे । २ जनालाई स्याहार्न सकेनन्, संसार छोडेर गए । अहिले उनका ४ छोरा छन् । केही पखेंटा लागेर उडेका छन्, केही उनीसँगै छन् । जेठा छोरा जोगबहादुर काठमाडौंको एक दोहोरी साँझमा हार्मोनियम बजाएर जीवन गुडाइरहेका छन् । माइला छोरा विपीन तुलसीपुर बजारमा परिवारसहित गीत गाउने मेलो समातेका छन् । अन्य दुई उनीसँगै छन् ।
बुहारी, नाति, नातिना सबैले आँखा देख्दैनन् । 
आँखा नदेख्दा बाबुले पाएको पीडा बुझेर घरमा बस्ने साहिँला छोरा लोकबहादुरले एक साँझ उनलाई भने, “बा, तपाईंले आँखा देख्नेसँग बिहे नगरेको भए हामी आँखा देख्थ्यौं, अनि तपाईंलाई सजिलो हुन्थ्यो है ?”
उनले सजिलै छोरालाई भने, “बाबु, तेरी आमा पनि नभएको भए संसारमा कोही पनि आफ्नो मान्छे नभएको म टुहुरो कसरी बाँच्थें होला ?”
उनको जीवन कुनै दुखान्त उपन्यासभन्दा पनि दुखान्त छ । बाबुआमा गुमाएर सहाराविहीन बनेका चन्द्रवीर ४७ वर्षको हुँदासम्म यायावर बनेर घुमिरहे । कैयौं ठक्कर खाए, अपहेलित भए र जीवन सिक्दै, बुझ्दै गए । बिहे गरेका दुइटीले छाडेर पनि गए । दिदीको सहयोगले खमारीमा बस्न थालेपछि उनको बिहे २१ वर्षकी आँखा नदेख्ने खुमासँग भयो ।
“आँखा देख्दैनथी, बूढो मान्छे पनि थाहा पाइन होला, अनि ब्या गर्न मानी,” चन्द्रवीरले यसो भन्दा उनलाई छोएर नजिकै बसेकी खुमा मुस्कुराइन् र भनिन्, “राम्रो त हुनुहुन्छ केर, बूढो भए पनि हामीलाई भोकै मार्नुभया छैन ।”
खुमाले आँखा देख्दिनन् भन्नेमा चन्द्रवीरलाई कहिल्यै गुनासो भएन । “बरा, दैवले ठगेको मान्छे, मैले पनि ठगें के होला ?” उनले यसो भन्दा खुमा गम्भीर देखिइन् ।
चन्द्रवीर घरको सारा काम आफैं गर्दा पनि थाकिएका देखिँदैनन् । थाकेर पनि के गर्ने, कसले गर्छ र काम ?
चन्द्रवीरले एक्लै बाटो खन्नुका कारण अरु पनि छन् । उनले रुई र फुइको जोहो गर्न घट्ट चलाउँछन् । पहिला एक्लै भएकाले जहाँबाट पनि मान्छे आउँथे, अहिले माथि गाउँमै घट्ट भएपछि उनको मेलो नै हराएर गयो ।
“बाटो राम्रो बनेपछि त आउलान्,” चन्द्रवीरको आशा छ । 
सम्पत्तिको नाममा चन्द्रवीरले ऐलानी पाखो बारीभन्दा केही पनि जोडेका छैनन् । बाटो भयो भने छोराहरूले मागेर पनि खालान्, विचल्ली त हुँदैन । उनलाई आफ्नो कहिल्यै चिन्ता छैन, फुर्सद पनि पाउँदैनन् चिन्ता गर्ने ।
साउनको महिना । घाम र झरीमा बाटो खन्दा चन्द्रबहादुर सिकिस्त भए । बाटो नखनिँदै परिवारको विचल्ली हुने भो भनेर उनमा चिन्ता बढ्न थाल्यो । गाउँकै जंगबहादुर ओलीले उनलाई तुलसीपुर बजार पुर्याए । टाइटफाइड भएको रहेछ । औषधि सुरु गरेपछि केही दिनमै निको भयो । चन्द्रवीरको चिन्ता दूर भयो । उनले बाटो खन्न छाडेनन् । यसपटक भने जंगबहादुरले उनलाई बाटो खन्न पनि सघाए ।
चन्द्रवीरलाई गाडी चढेको धमिलो याद छ । उनलाई गाडी चढ्न मन पनि लाग्दैन तर आफ्नै घरको बाटो भएर माथि गाउँसम्म मोटरसाइकल गुडेको आफ्नै आँखाले देख्ने ठूलो रहर छ । तिहारमा पीठो पिस्नेको भीडलाई पन्छाए भने उनले फेरि कोदाली समातेर बाटो फराकिलो पार्नेछन् । 
“कहिलेसम्म खन्नुहुन्छ बाटो ?” चन्द्रवीरले मैले भनेको सुनेनन्, आफ्नै सुर्ता पोखे, “यत्रो बाटो बनाएँ, कतै छोराहरू म मरेपछि बसाइँ सर्छन् कि भन्ने डर छ ।”
हिन्दी बायोपिक ‘मान्झी: द माउन्टेन म्यान’मा गर्भवती पत्नी पहाडबाट खसेर घाइते हुँदा त्यही पहाडकै कारण समयमा अस्पताल पुर्याउन नसकेपछि उनको मृत्यु हुन्छ । त्यो पीडा र आक्रोश मनमै राखेर मान्झीले आफैं बाटो खन्न थाल्छन् । र, यो क्रम २२ वर्षसम्म चल्छ । चन्द्रवीर पनि त्यस्तै ‘माउन्टेन म्यान’ लाग्छन् ।
तस्बिरहरुः दुर्गालाल केसी 
 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro