विशेष
काठमाडौं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्षमा निक्षेप परिचालन १.१ प्रतिशत बढेर २१ खर्ब ३३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा निक्षेप परिचालन २४ अर्ब १३ करोड रुपैयाँ थप भएको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ थियो ।
जसअनुसार व्यक्तिगत निक्षेप सबैभन्दा बढी छ । हालसम्म व्यक्तिगत निक्षेप १.७ प्रतिशत बढेर ११ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म यस्तै निक्षेप १० खर्ब ९७ अर्ब ५५ करोड रुपैयाँ थियो । यस्तै वैदेशिक निक्षेप १ खर्ब ५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
बैंकमा खर्बो रुपैयाँ संस्थागत निक्षेप रहेको छ । संस्थागत अन्र्तगत विमा कम्पनीको निक्षेप १ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारी सञ्चय कोषको ५२ अर्ब ७० करोड, नागरिक लगानी कोषको ४५ अर्ब ६४ करोड, सरकारी संस्थानको १ खर्ब ८४ अर्ब ५५ करोड रुपैयाँ निक्षेप छ । गैरसरकारी संस्थाको निक्षेप ७७ अर्ब २२ करोड ५१ लाख रुपैयाँ छ ।
बैंक तथा वित्तीय संस्थाका लगानी पनि बढेको छ । लगानी ३.३ प्रतिशत बढेर १७ खर्ब ३६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा २ महिनामा कर्जा लगानी ५४ अर्ब ३२ करोड रुपैयाँ थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा लगानी बढेपछि अहिले बजारमा लगानीयोग्य पुँजी (तरलता) को अभाव भएको छ । तरलताको अभाव भएपछि कर्जाको व्याज दर बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १३:१९
प्रतिक्रिया दिनुहोस्