site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हजारौँ दाजुभाइकी ‘अञ्जली दिदी’
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
कुनै सयम थियो, ताहाचलकी अञ्जली मास्केलाई खबर आउँथ्यो– वीर अस्पतालको प्रांगणमा बेबारिसे बिरामी छन्, तपाईं आउनुहोस् ।
उनी वीर अस्पतालकी कर्मचारी होइनन् तर पनि खबर सुन्नेबित्तिकै जस्तो लुगा लगाएको छ त्यस्तै उनी अस्पताल दौडिन्थिन् र बिरामीको सेवामा रातभरसमेत जुट्थिन् ।
कतै असहाय, अपांग देख्यो भने उनको आँखा भरिइहाल्थे– धत् कस्तो जीवन ! यी असहायहरूलाई कसरी सहयोग पु¥याउने होला ? बेबारिसे बिरामीको आफन्त, अनाथहरूको नाथ भन्नु उनै थिइन्, उतिबेला !
तर, अचेल उनको परिचय फेरिएको छ र सबैकी अञ्जली दिदी बन्न पुगेकी छिन् । ०५५ सालदेखि काठमाडौँको काष्ठमण्डपमा सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली दिदीलाई यसपाली पनि भ्याइनभ्याइ छ । उसो त उनी टीका लगाउने सर्जाम जुटाउन दसैंलगत्तै थालेकी हुन् । त्यो अहिलेसम्म सकिएको छैन ।
समाजसेवामा दिलोज्यान दिएर लागेकी अञ्जली दिदी कसरी जोडिन आइपुगिन् त सामूहिक टीकाटालोमा  ?
० ० ०
२००१ सालमा जन्मिएकी अञ्जली दिदी काठमाडौँ बांगेमुढाका रैथाने मास्के परिवारी छोरी हुन् । परिवारमा नपुग्दो केही नभएकाले होला, उनको ध्यान आफूभन्दा तलकामा पुग्यो । कसैले खान नपाएको, लगाउन नसकेको त देख्नै नसक्ने ! सकेजति सहयोग गर्न मन लाग्थ्यो उनलाई ।
उनको समाजसेवालाई घरपरिवारमा कसैले अवरोध गरेनन् तर बाबाआमाले कहिलेकाहीँ भन्नुहुन्थ्यो रे– फगत समाजसेवा भनेर नहिँड् है छोरी, आफ्नो घर व्यहार पनि हेर्नु पर्‍यो नि सधैँ अरुको चिन्ता लिएर हुन्छ त !
१७ वर्षको उमेरमा उनको विवाह ताहाचलको प्रधान परिवारमा भयो । विवाहपश्चात उनको समाजसेवा झनै झांगियो, पतिले पनि सघाए उनलाई ।
त्यसैबेलादेखि हो उनले असहाय बिरामीहरूको सेवा गर्न थालेको । अस्पतालमा भर्ना हुन नसकेका, आर्थिक अभावका कारण अस्पताले उपचार गर्न नमानेका बिरामी कसैले भेट्टायो भने उनैलाई फोन गर्थे– अञ्जली दिदी, वीर अस्पताल आउनुपर्‍यो, यहाँ बेबारिसे बिरामी छ, तपाईंले त हो यिनीहरूलाई सहयोग गर्ने ।
त्यसपछि उनी बिरामीका लागि चाहिने लुगाफाटो, खानेकुरा आदि लिएर अस्पताल जान्थिन् र तिनको सेवामा अविराम दत्तचित्त रहन्थिन् । यो काम उनले झन्डै २०–२२ वर्ष गरिन् । त्यो क्षण सम्झिन्छिन्– एकजना वीरेन्द्र थरका प्रहरी थिए, तिनले त्यस्ता बिरामी आए भने निकै पछिसम्म मलाई नै फोन गर्थे, आजभोलि त नगएको पनि निकै भयो !
त्यस्ता बिरामीमा अरु कसको ध्यान जानू, कतिले मुस्किलले उपचार पाउँथे, कति उपचारै नपाएर मृत्युवरण गर्थे । 
० ० ०
उनी समाजसेवामा दत्तचित्त नै थिइन् । त्यस्तै उनको अर्को अचम्मको बानी रहेछ– दसैं तिहारको बेला कसैको निधार खाली देख्यो कि किन टीका नलगाएको भनेर सोधी खोजी गर्ने र भरसक टीका लगाएर पठाइदिने !
कसैले के कारण बताउँथे, कसैले के कारण देखाउँथे, कसैको दाजुभाइ दिदीबहिनी नभएर निधार खाली रहेको थाहा पाउनासाथ उनी टीका लगाइदिइहाल्थिन् । त्यसरी टीका लगाइदिँदा उनी मख्ख पर्थिन्, खुबै सन्तुष्टि मिल्थ्यो उनलाई । 
टीका लगाइदिएबापत कसैले केही देला, उपहारआदि पाउँला भन्ने उनलाई कहिल्यै लागेन रे ! बरु उनले सोच्थिन्– कम्तीमा तिनीहरूको निधार त रंग्याउन पाएँ, कति खुसी भए तिनीहरू !
त्यो उनले युवा अवस्थाबाटै गर्न थालेकी हुन् । 
० ० ०
उनी काठमाडौँको काष्ठमण्डप बरोबर गइरहन्थिन् । त्यसो त त्यहाँ सामूहिक बेलविवाह, यज्ञादि कर्म, व्रतबन्ध आदि नगराइदिएकी होइनन् । त्यहाँभित्र रहेको गोरखनाथ बाबाको उनी भक्त नै थिइन् र नियमित पूजाअर्चनासमेत गर्थिन् ।
०५५ सालमा के लहड चल्यो, उनले सामूहिक भाइटीका लगाउने सपना पो देख्न थालिन् ! सामूहिक टीका लगाउने सोच त आयो, सँगै समस्या पनि देखापर्‍यो– टीका लगाउने मानिस पो आउने हुन् कि होइनन् ।
आफ्नो दिदीबहिनी भएकाहरू उनीहरूसँगै टीकाटालो गर्थे, नभएकाहरूले पनि बहिनी बनाएर होस् या नजिकका नातेदारबाट टीकाटालो ग्रहण गर्थे । उनीसँग टीकाटालो गर्न ‘दाजुभाइ’हरू आउलान् र, मानिसहरूले सोध्नेमात्र होइन, उनी आफैँलाई पनि त्यही लाग्थ्यो ।
तर, नसोचेको भयो । उनले यहाँ सामूहिक भाइटीका लगाइन्छ भनेर काष्ठमण्डपमा तुल टाँगेकी थिइन्, नसोचेकै मानिस आए । 
एक सय आठ भाग सगुन र मसला आदि तयार पारेकी थिइन् तर मानिसहरू त्यो भन्दा बढी भए । पहिलो वर्ष नै बस्ने ठाउँ नहुँदा उभिएर पनि टीका लगाए दाजुभाइहरूले । 
 
० ० ०
०६९ सालको भाइटीकाको तयारी हुँदै थियो । उनको घरमा फोन आयो– अञ्जली दिदी हुनुहुन्छ ?
उनले ‘बोल्दैछु’ भनेर जवाफ फर्काइन् । उताबाट प्रश्न आयो– यसपाली एकजना बूढा बाजेले तपाईंसँग टीका लगाउन खुबै रहर गर्नुभएको छ, सिट खाली छ त ?
उनलाई अचम्म मान्दै जवाफ फर्काइन्– मेरोमा टीका लगाउने सिट हुँदैन, आएजत्तिको निधार रंग्याइदिन्छु, धक नमानी आउनुभए हुन्छ ।
एक सय दुई वर्षका वयोवृद्धले अञ्जली दिदीलाई फोन गर्न लगाएर उनको हातबाट टीका लगाउन खोजेका रहेछन् !
नभन्दै ती वृद्ध टीकाको दिन दिउँसो एक नबज्दै काष्ठमण्डपमा आए र अञ्जलीको हातबाट टीका लगाए । दिदीबहिनी नभएका उनले जीवनभर नै कसैको हातबाट तिहारको टीका लगाएका रहेनछन् । जीवनको उत्तराद्र्धमा अञ्जलीका हातबाट टीका ग्रहण गरेका उनले त्यसको दुई वर्षपछि प्राण त्यागे । 
० ०  ०
समाज विशृंखलित हुँदैछ । नातासम्बन्धहरू पनि आर्थिक अवस्थाले निर्धारण गर्न थालेका छन् । गाउँको अवस्था त झन् डरलाग्दो छ  । घरहरू वृद्धाश्रममा परिणत हुन थालेका छन् । बूढा बाबुआमा मात्रै घरमा छन्, दाजुभाइ एकातिर छन्, दिदीबहिनी अर्कोतिर पुगेका हुन्छन् । दसैँ तिहारमा खाली निधारसँगै निन्याउरो मुख लगाएर बस्नुपर्छ । चाडपर्वको महत्त्व पनि कमजोर बन्दै गइरहेको प्रतीत हुन्छ । 
अर्को समस्या पनि समाजमा छ– दाजुभाइ दिदीबहिनी भएकाहरू पनि विभिन्न असन्तुष्टिले एकअर्काको हातबाट टीका नै नलगाउने तहमा पुगेका छन् । 
यसमा अञ्जली दिदीलाई ठूलो दुःख लागेको छ । भन्छिन्– दाजुभाइ दिदीबहिनीको नातासम्बन्धको बीचमा पनि पैसा पो आउन थाल्यो ! नाता र पैसा तुलना गर्ने विषय नै होइनन् तर समाजमा त्यो भयावह देखिन थाल्यो ।
आफूभन्दा कमजोर आय भएका दाजुभाइलाई दिलीबहिनीले नटेर्ने, त्यस्तै अवस्था भएका दिदीबहिनीहरूलाई दाजुभाइले नहेर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनलाई लागिरह्यो । त्यस्तै दाजुभाइ दिदीबहिनी नभएकाले तिहारको दिन रुन्चे अनुहार लगाएर हिँडेको देख्दा उनको मन भतभती पोल्न थाल्यो र उनले सुरु गरिन्, बिनाशुल्क सामूहिक भाइटीका लगाउन !
उनले टीका लगाइदिएबापत कुनै शुल्क लिँदिनन् । दाजुभाइ दिदीबहिनीबीच माया आशीर्वाद पो साटासाट गर्ने, तिहारको महिमा नै त्यही हो, पैसा के लेनदेन गर्नु ? सगर्व उनी बताउँछिन् ।
उनले टीका लगाएरै हजारौँ दाजुभाइ बनाएकी छन्, जो उनको रगतको नाताका होइनन् । ती सबैलाई उनले असाध्यै माया गर्छिन् । उनीसँग टीका लगाएकामध्ये बर्सेनि तीन–चारजना दाजुभाइ हराउँछन्, टीका लगाउन आउँदैनन् ।
उनलाई बडो चिन्ता लाग्छ– कता गए होलान् तिनीहरू ? कतै निधन पो भयो कि ? र त उनी थप्छिन्, नाता कोखले होइन भावनाले निर्धारण गर्दोरहेछ !
उनीसँग भाइटीका लगाउने स्वदेशीमात्रै छैनन्, थुप्रै विदेशी पनि छन् । उनको सप्तरंगी टीकाबाट आह्लादित भएर ती थुप्रै पटक नेपाल आएका छन् । 
भाइटीका आउन करिब एक हप्ता बाँकी छ तर अञ्जली दिदीलाई निकै चिन्ता छ । मंगलबार ताहाचलस्थित उनको निवास पुग्दा उनी भाइटीकाका लागि सर्जाम जुटाउँदै थिइन् । भनिन्, “फूल माला अर्डर गरिसकेँ, सगुन पनि भनिसकेको छु । अरु सामग्रीका लागि भ्याइनभ्याइ छ बाबु ।”
यसपटक दुई सय आठ जनाको तयारी गरेकी छिन् । तर, उनी ढुक्क छिन् यो साल पनि संख्या बढ्छ ।
० ० ०
उनले ०५५ सालदेखि काष्ठमण्डमा सामूहिक टीकाटालो गर्दै आएकी छिन् । तर, गत वर्ष वैशाख १२ को भूकम्पले काष्ठमण्डको नामोनिसान मेटाइदिएपछि उनले मूल सडकमै पाल टाँगेर टीकाटालो गर्नुपर्‍यो । भन्छिन्– काष्ठमण्डम काठमाडौँको पहिचान हो । काष्ठमण्डपबाटै काठमाडौंका चिनारी भएको हो, पहिला बन्नुपर्ने सम्पदा हो त्यो, तर कसैलाई टाउको दुःखेको छैन ।
भूकम्प जाँदा उनी बेलायतमा थिइन् । चिकित्सक छोराबुहारीले बोलाएकाले उनी त्यहाँ गएकी थिइन् तर भूकम्पले काष्ठमण्डपलगायत संचरना भताभुंग पा¥यो भन्ने सुनेर उनी हतारहतार काठमाडौँ आइन र आएको भोलिपल्टैदेखि काष्ठमण्डप पुनःनिर्माणका लागि सम्बन्धित निकायलाई तातो लगाउन थालिन् ।
उनको कुरा सुनिदिने कसले ?
भन्छिन्– “काष्ठमण्डपभित्रको गोरखनाथको मन्दिरमा नियमित पूजा गर्थें, भूकम्प जानुभन्दा दुई वर्षअघिबाट मलाई पूजा गर्नै दिएनन् । भने– महिलाले गोरखनाथको पूजा गर्नुहुँदैन । अहिले भत्किएर त्यो हालतमा छ कसैलाई चिन्ता छैन त ?”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro