साहित्य
सुवानी सानै थिइन् । गीतसंगीत, एरेन्ज, कम्पोज भनेको के हो बुझ्ने उमेर भएकै थिएन । बुबा र आमा (शिलाबहादुर मोक्तान र कुन्ती मोक्तान) घन्टौंसम्म हारमोनियममा बसेर कम्पोज र रियाज गरेको देख्दा अचम्म लाग्थ्यो उनलाई । के गरेको होला भन्ने जिज्ञासा उठ्थ्यो । ‘गीत गाएको छोरी’ भन्ने उनले जवाफ पाउँथिन् । के हो गीत, के हो संगीत उनलाई के थाहा ? तर पनि उनलाई त्यो समय गीत र हारमोनियमका झंकारहरू सुन्दा झर्को लाग्दैनथ्यो । बरु ती धुनहरू कर्णप्रिय लाग्थ्यो । बुबाआमासँगै उनी पनि गीत रियाजमा मिसिन्थिन् ।
रेडियो सुन्न सितललाई खुब मन पथ्र्यो । गीत गाउन रहर लाथ्यो । जुन गीत सुन्यो, त्यही गाउँथिन् । बुबाआमाले राम्रो छ भन्दिन्थे, उनी मख्ख पर्थिन् । तर, उनलाई बुबाआमाले कहिल्यै पनि तिमीले गीत नै गाउनुपर्छ भनेर दबाब दिएनन् । उनी भन्छिन्, “जे गर राम्रो गर भन्नुहुन्थ्यो । तर, यही गर भनेर जबर्जस्ती गर्नुभएन ।”
‘भेडा भेडाकै बथानमा बाख्रा बाख्राकै बथानमा’ भनेझैं सितल र सुवानी पनि विस्तारै गीतसंगीततर्फ लहसिए । गीत गाउन थाले । स्कुलका सांगीतिक कार्यक्रम हुन् या अन्य कुनै पनि प्रतियोगिता, उनीहरू गीत गाउन थाले ।
सितल ६ वर्षको हुँदादेखि नै उनलाई औपचारिक कार्यक्रममा आफूले गीत गाएको सम्झना छ । त्यसयता उनी आजसम्म संगीतकै क्रियाशील छिन् । सानो छँदा उनी एक्लै भन्दा पनि समूहका गीत गाउन रुचाउँथिन् । पछि बुबाआमासँग रियाज सिकेपछि भने उनी एक्लै पनि गीत गाउन थालिन् ।
उनी सोच्न पनि सक्तिनन् गीतसंगीत बिनाको जीवन । गीत के हो भन्ने जिज्ञासामा उनी भन्छिन्–स्वासप्रश्वास बिनाको जीवन जसरी असम्भव छ, त्यस्तै गीतबिनाको जीवन कल्पना पनि गर्न नसकिने भयो । यो मानव जीवनको अभिन्न अंग भइसक्यो । प्रत्यक्ष होस् या अप्रत्यक्ष, गीतप्रति मान्छे मोहित भइरहेकै हुन्छ । गाएर होस् या सुनेर या गुनगुनाएर, मान्छे गीतसँग जसरी पनि जोडिएकै हुन्छ ।
सानोमा बुबाआमाले दिदी बहिनीमध्ये कसको स्वर राम्रो छ भन्नुहुन्थ्यो । “हामी सानै थियौं, दुवै जना गाउँथ्यौं । मलाई ममीले भनेको अझै पनि याद छ, तिम्रो भ्याइस सुवानीको भन्दा अलि रफ छ भन्नुभएको,” सितलले सम्झिइन् ।
सितल सानै थिइन्, उनीहरूको घरमा रेडियो बजिरहन्थ्यो, ‘हिउँभन्दा चिसो आगोभन्दा तातो’ भन्ने गीत त्यो समय हिट थियो । सितल त्यही गीत गाउँथिन् । शब्द उल्टोपाल्टो पारेर भए पनि सितलले गाइरहेको सुनेर कुन्तिले भनिन्, “यसको सुरचाहिँ लाग्दो रहेछ है ।”
गीत गाऊ नभने पनि गाइरहेको देखेपछि मोक्तान दम्पत्तिले सोच्यो– गीत संगीतमा छोरीहरूले रुची देखाए । सांगीतिक इन्स्टुमेन्टबाटै यिनीहरूलाई सिकाइको सुरुआत गर्नुपर्छ भन्ने निर्णय गरे । सुरुमा सितललाई गितार सिकाउने निर्णय गरेको मोक्तान दम्पत्तिले पछि सितार पो सिकाउने हो कि भन्नेमा पुग्यो । फेरि होइन, नेपालमा सोलो फिमेल भ्वाइलिनिस्ट नेपालमा छैन र मानव भ्वाइससँग नजिकबाट जोडिएको बाजा पनि भ्वाइलिन हो भनेर उनलाई भ्वाइलिन सिकाउने निर्णय गर्यो । र, उनले आमाबुबासँग भ्वाइलिन सिक्न थालिन् ।
उनको घरमा सबै खालका संगीत सुनिन्थ्यो । पप, पपरक, आधुनिक, गजल, लोक । मोक्तान दम्पत्ति आधुनिक र लोक गायन र संगीत सिर्जनामा तल्लिन भए पनि सबै प्रकारको संगीतलाई सम्मान गथ्र्यो ।
संगीतलाई खुब माया गर्ने उनको झुकावले होला । उनी स्कुलबाट फर्किनेबित्तिकै ठूलो ठूलो स्वरका गितार र भ्वाइलिन बजाउँथिन् । अरुलाई झर्को लागोस् या कर्णप्रिय, उनलाई मतलब नहुने । ठूलो स्वरमा गीत सुन्नुपर्ने उनको बानी थियो ।
सुवानी कक्षा १२ मा पढ्दै थिइन् । एउटा सोलो एल्बम नै निकाल्ने कुरा भयो । आफ्नो पहिचान र उपस्थिति देखाउनु पनि थियो । अन्तर्वार्ताहरूमा आमाबुबाले छोरीहरू पनि गायनमा आउँदैछन् भनेर सार्वजनिक रूपमा भनिसकेकाले पनि उनीहरूलाई बाध्यता भइसकेको थियो । सितल–सुवानी पनि त्यो समयसम्म नेपाली सांगीतिक बजारमा आफूलाई प्रतिस्पर्धीको रूपमा उभ्याउन सक्ने भइसकेका थिए । बुबा र आमा दुवैले ‘गो अ हेड’को ‘ग्रिन सिंग्नल’ दिएपछि उनीहरू आफ्नो एल्बम लिएर आए । पहिलो पहिलो माया स्रोता दर्शकले रुचाए । पप रक जनराको ‘किनारामा’ गीत हिट भयो । उनीहरूले बुबाआमाको नाक थामे ।
तर, यो गीतसँगै उनीहरूलाई एउटा गम्भीर आरोप पनि लाग्यो । कुन्ती मोक्तानले गीत गाएर छोरीहरूको स्वर रहेको भन्ने गाइँगुइँ हल्ला चल्यो । सितलको कानसम्म यो हल्ला पुग्यो । उनलाई साह्रै दुःख लाग्यो । अर्कोतिर कम्तिमा आमाको जत्तिकै हाम्रो स्वर राम्रो रहेछ भन्ने प्रतिक्रिया पनि हो यो भन्ने लाग्यो । यसले सितल सुवानीलाई बल नै पुग्यो । उनीहरू बिनाआधार गरिएको कमेन्टका पछि लागेनन् । बरु आफ्नो यात्रालाई निरन्तरता दिए । पप रकसँगै सितलले पप, सेलोलगायत गीतहरू गरिन् । सबै मन पराइए ।
० ० ०
सितलका आमाबुबा स्थापित म्युजिसियन । बाहिरबाट हेर्दा पारिवारिक माहोल नै संगीतको छ । त्यसैले सितल सुवानीलाई सजिलो छ भनेर भनिन्छ । सितल भन्छिन्– होला, हामीले गीत रेकर्ड गर्न स्टुडियोमा क्युमा बस्नुपरेन होला, संगीतकर्मी चिन्न गाह्रो भएन होला, आफ्नो परिचय बुबाममीको नामसँग जोडिएर आयो होला । तर, वास्तविकता भने फरक हुँदोरहेछ । मेरो तुलना कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानसँग हुँदोरहेछ । कुन्ति मोक्तानसँग मेरो स्वर तुलना गरेर मेरो जजमेन्ट गरिँदो रहेछ । यो नै म र सुवानीका लागि सबैभन्दा ठूलो चुनौती हो, जुन अरु सिंगरले सायद भोग्नुपर्दैन होला । पहिलो गीत लिएर आएको नवकलाकारको स्वर दशकौं खारिएको स्वरसँग तुलना गरिँदा अन्याय भएको हो कि जस्तो लाग्दोरहेछ । तर पनि हामीलाई थप मेहनत गर्न भने यसले प्रेरित नै गरेको छ । यसलाई सकारात्मक रूपमै लिएका छौं ।
सानो छँदा कुन्ती र शिलाबहादुर मोक्तानले छोरीहरूलाई यही नै बन्नुपर्छ भनेर दबाब सिर्जना गरेनन् । “हामी तिमीहरूलाई यही गर भन्दैनौं । तर जे गर्छौ, राम्रो गर भन्नुहुन्थ्यो,” सितलले सम्झिइन्, “धन्न हामीले आजसम्म जे गर्यौं, त्यसमा असफल भएका छैनौं । त्यो कुरालाई हामीले प्रेसरभन्दा पनि इन्करेजकै रूपमा लियौं ।”
कुन्ती र शिलाबहादुर मोक्तान दार्जिलिङबाट नेपाल आएर संघर्ष गर्दा उनीहरूले विरानो ठाउँमा संघर्षमात्रै गर्नु परेन, दुवै आ–आफ्नो परिवारको जेठा सन्तान भएकाले परिवार पनि हेर्नुपर्ने थियो । त्यही भएर भनेजति पढ्न पाएनन् । त्यसको तुष उनीहरूमा बाँकी नै थियो । त्यो मोक्तान दम्पत्ति आफ्ना छोरीहरूबाट पूरा गर्न चाहन्थ्यो । छोरीहरूलाई एकेडेमिक डिग्री हासिल गरुन् भन्ने चाहन्थे । नभन्दै सितल सुवानीले बुबाआमाको त्यो सपना पूरा गरिदिए । सितलले आईटीमा ब्याचलर गरिन् भने मास्टरमा एमबीए गरिन् । उनको परिवारमा एकेडेमिक डिग्री लिने पहिलो व्यक्ति नै सितल बनिन् । साढे दुई वर्ष कान्छी उनकी बहिनी सुवानीले पनि मास्टर गरिन् । मोक्तान दम्पत्तिको सपना पूरा भयो ।
दशकौंदेखि मोक्तान परिवार संगीत साधना गरिरहेको छ । आमाबुबा अनि दुईटी छोरी सबै संगीतको साधना गरेर न थाकेको छ र न त थाक्नेवाला नै छ । सुगम संगीतमा आफ्नो बेग्लै छवि बनाएको मोक्तान परिवारको दोस्रो पुस्ता भने नयाँ पुस्ताको भोक मेटाइरहेको छ ।
तपाईंका बुबाआमाले सुगम र लोक संगीतको क्षेत्रमा नेपाली संगीत क्षेत्रलाई नै ठूलो योगदान पुर्याउनुभयो, तपाईंहरूले चाहिँ सुगम संगीत गाउन नसक्नु भएको कि, आफैंलाई मन नपरेको ? यो जिज्ञासामा उनी भन्छिन्, “हाम्रो घर यस्तो घर हो जहाँ सबै किसिमका गीतलाई माया गरिन्छ र सुनिन्छ । हामी सबै गीत सुन्छौं । हामीले पनि सबै पुस्ताका गीत गाउने प्रयास गर्यौं । पप, पप रक, लोक फ्लेभर, सेलो र आधुनिक पनि । मलाई त मेरो स्वर सबै जनराका गीतमा मिलोस् भन्ने लाग्छ । त्यसका लागि आवश्यक होमवर्क पनि हामीले नगरेको होइन । तर, २० र १९ हुँदोरहेछ । हामीले गीत गाउँदा सायद पप गीत बढी चलेको थियो । युवा पुस्ताले बढी गीत सुन्थ्यो । त्यसैले होला पपरक बढी मन पराइयो । गीत आफैंमा सिर्जना हो । तर, सिर्जनासँगै व्यावसायिकता पनि जोडिएर आउँदोरहेछ । गीत गाएर मात्रै हुँदैन, त्यसलाई सुनिनु पनि पर्नेरहेछ । त्यही भएर जता स्रोताको झुकाव छ, हामीलाई पनि त्यतै आफ्नो स्वरलाई न्याय गर्न सकिन्छ कि भन्ने भयो । त्यही भएर पप बिटतर्फ हाम्रा गीत पनि केन्द्रित हुन थाले ।”
सितल एउटा यस्तो प्रतिभाको नाम हो, जो आम संगीतकर्मी भन्दा अलि फरक लाग्छ । संगीतलाई सधैं नमन गर्ने सितल संगीतसँगै अरु क्षेत्रमा पनि सक्रिय छिन् । जो थोरैलाई मात्रै थाहा हुन सक्छ । स्टाफ कलेज जावलाखेलको ट्रेनर हुन् उनी । निजामति सेवाका लागि लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भएका अधिकृतलाई उनी तालिम दिन्छिन्, जहाँ उनले सोसल मिडिया हेर्छिन् । करिब पाँच वर्षदेखि टे«नरका रूपमा काम गर्दै आएकी सितल नयाँ नयाँ आविष्कारसँगै त्यसलाई हामीेले पनि अवलम्बन गर्दै जानुपर्ने र त्यही अनुुसारको नीतिको टड्कारो महसुस गर्छिन् ।
स्टाफ कलेज छिर्नुअघि उनी १० वर्षे माओवादी द्वन्द्वको अन्त्यपछि शान्ति स्थापनार्थ समन्वयकर्ताको भूमिका निर्वाह गर्न नेपाल आएको शान्ति मिसन अनमिनमा आईटी असिस्टेन्टको रूपमा काम गरिन् । सितलले त्यसअघि इमेज च्यानलमा प्रोगाम होस्ट गरिन् भने केही समय रिसर्चरको रूपमा पनि काम गरिन् । “मेरो पारिवारिक सर्कलमा यसरी एकेडेमिक फिल्डमा काम गर्ने म नै पहिलो हुँ,” उनले भनिन् ।
सिर्जना आफैंमा साधना हो । साधनाले असल सिर्जना जन्माउँछ । असल सिर्जना लोकप्रिय होस् या कोठाको कुनै कुनामा नै किन नथन्कियोस्, त्यसले सर्जक स्वयंलाई भने आनन्द दिन्छ ।
तर, सितल किन कला साधनामा डुब्ने समयलाई अन्तै खर्चिरहेकी छिन् त ? यो उनका लागि रहर कि बाध्यता हो । सित भन्छिन्, “सुवानीले पनि मलाई बेलाबेलामा सोध्छे– दिदी, तँ यसरी अरु काम गर्दा के आत्मसन्तुष्ट छेस् ? म अलि फरक छु सायद । यस्तै लाग्छ मलाई । म एउटै काम लामो समयसम्म गर्न सक्दिनँ । मलाई सिर्जनात्मक काम गर्न मन पर्छ । त्यसैले म गीत संगीतसँगै रहिले टे«नर, कहिले रिसर्चर, कहिले प्रोगाम होस्ट गरिरहेकी हुन्छ ।
सिर्जनामा म हराउन चाहन्छु । म बुबासँगै संगीत कम्पोजमा घन्टौं बिताइरहेको हुन्छु । म गीत गाइरहँदा म्युजिक भिडियो निर्देशन पनि सिक्न मन लाग्यो । मलाई आलोक नेम्वाङ दाइले निर्देशकीय तौरतरिका सिकाउनुभयो । मैले संगीतलाई छोडेको छैन । केही कममात्रै भएको हो । अहिले पनि तीन वटा गीत रेकर्डिङको अन्तिम चरणमा पुर्याएको छु । विभिन्न कारणले कही समय ढिलो मात्रै भएको हो ।”
अन्तिममा उनले भनिन्, “संगीत मेरो प्राण हो, साधना कर्म । त्यसैले न छोड्न सक्छु, न टाढै रहन सक्छु ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १२:२१
प्रतिक्रिया दिनुहोस्