विशेष
निर्माण थालेको साढे पाँच महिनापछि यही कात्तिक १२ गते गिरान्चौर एकीकृत बस्ती हस्तान्तरण गर्दैछौँ । हामीले निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न थालेको यो दोस्रो बस्ती हो । काभ्रेको पाँचखालस्थित पहरी बस्ती निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको करिब एक वर्षपछि गत वैशाख २९ गते गिरान्चौरमा एकीकृत नमुना बस्ती शिलान्यास गरेका थियौँ ।
भूकम्पले क्षतविक्षत बनाएको सिन्धु भूमिको भौगोलिक छटा जति सुन्दर छ, भूकम्पले उति नै कुरुप र टीठलाग्दो तुल्याएको थियो । भूकम्पले सिन्धुपाल्चोकलाई शतप्रतिशत ध्वस्त बनायो भन्दा हुन्छ ।
सिन्धुपाल्चोक पुग्दा मेरा आँखा रसाएका थिए । मनमा भक्कानो छुटेको थियो– प्रकृति यति क्रुर र निर्दयी पनि हुन सक्छ !
वास्तवमा सिन्धु प्रकृतिको रौद्र रूपको निर्मम शिकार भएको थियो, शब्दमा वर्णन गर्न सकिँदैन त्यस प्रकारको क्षतिको ।
र, हामीले गिरान्चौर पुगेर प्रण गरेका थियौँ, आगामी दसैंसम्ममा गिरान्चौरको मुहार फेरिइसकेको हुनेछ, हसाउँछौँ गिरान्चौरलाई हामी ।
बिडम्बना भन्नुपर्छ, जसरी भूकम्पको परकम्पले सिन्धुलाई हल्लाउन र थर्काउन छाडेन, त्यस्तै झरीले पनि थकाइ मारेन । निर्माण बिट मार्ने बेलासम्म पनि पानी पर्न कम भएन ।
बस्ती निर्माण भइसकेपछि मलाई यस्तो लाग्न थालेको छ– म कसरी गिरान्चौर छाडेर फर्कन्छु होला अब ?
गिरान्चौरसँग यसरी नाता गाँसियो कि मेरो दोस्रो जन्म गिरान्चौरमै भयो । मेरो मुटु भन्नु नै गिरान्चौरको माटो हो र त्यहाँका मनहरू हुन्, जो दिनरात झरिबादल नभनी बस्ती बनाउन अनवरत कस्सिइरहे ।
गिरान्चौर त्यसै ठडिएन, तल नागबेलीझैं बगेको इन्द्रावतीको पानी भन्दा ज्यादा हाम्रो पसिना बग्यो । जेठको खडेरीमा खारिएर होस् या साउने झरीमा निथु्रक्क भिजेर त्यो बस्ती उठाइएको हो । बस्ती बनाउँदा कहिले हामी हाँस्दा–हाँस्दै भक्कानिएका छौँ, कहिले रुँदा–रुँदै हाँसेका छौँ ।
थकाइले चुरु हुँदा मुटुमा गाँठो पथ्र्यो, अनि बन्दै गरेको बस्ती र त्यहाँका वयोवृद्ध र बालकहरूको अनुहारमा मृगजसरी खुसी उफ्रिएको देख्थ्यौँ, तब हाम्रो मन भरंग हुन्थ्यो र अघिको दुःख क्षणभरमै तितरबितर हुन्थ्यो ।
त्यस्ता केही किस्साहरू छन्, जो गिरान्चौर जसरी नै मेरो मनमा सर्लक्क उभिएका छन् ।
ती वृद्धवृद्धा जो घरभित्र पस्न पाएनन्
बस्ती बन्न थालेपछि दुईजना वृद्ध र दुई जना वृद्धाहरूको निधन भयो । ‘यस्तो बस्ती देख्न रहेछ र त भूकम्पमा बाँचेछौँ नि बाबु, तिमी त भगवानै भएर आयौ हाम्रो गाउँमा !’ भन्दै मेरो वरपर आइरहने ती वृद्धवृद्धाहरूले गिरान्चौर सदाका लागि छाड्नुभयो । नयाँ घरभित्र बस्ने उहाँहरूको ठूलो रहर पनि थियो, तर त्यो सम्भव भएन ।
मेरा लागि निकै दुःखद् कुरा हो त्यो । भूकम्पमा बाँचेका ती वृद्धवृद्धाहरूको मुहारमा झलमल्ल दियालो जगाएर घरभित्र पसाउने मेरो चाहना पूरा हुन पाएन ।
निधन दुःखद् कुरा त हुँदै हो तर यो प्रकारको निधनले मुटुमै चोट पुर्याउँदोरहेछ, सम्झँदा आँखा रसाएर आउँछ मेरो !
मिस्त्रीको फिलामा २६ टाँका लगाउनुपरेको दिन
बस्तीमा हजारौँको पसिनामात्रै होइन, एकजना मिस्त्रीको रगत पनि मिसिएको छ । घरको ६० प्रतिशत काम पूरा भई सबै ६५ घरमा तला छाप्ने काम भइरहेको थियो । तला छाप्नका लागि हामीले १६ एमएमको मोटो प्लाइ प्रयोग ग¥यौँ । प्लाइ मोटो भएकाले करौँतीले काट्न सम्भव थिएन र त्यसलाई विद्युतीय उपकरणबाटै काट्नुपथ्र्यो । त्यसैक्रममा एकजना भाइ डरलाग्दो दुर्घटनामा परे ।
बत्ती झ्याप्प जाँदा उनले ग्रिन्डर मेसिनको स्वीच अफ गर्न बिर्सिएछन् । अचानक बत्ती आउँदा मेसिन चलेर उनको फिलामा गम्भीर तवलरे काट्न पुग्यो, झन्डै चार इन्च गहिरो काट्यो उनको ।
दुर्घटना यति डरलाग्दो थियो कि भाइको फिलामा २६ टाँका लगाउनुपर्यो । एक किसिमले भन्ने हो भने उसलाई हामीले मृत्युको मुखबाट थुत्यौँ ।
ए ब्लकलाई बी ले उछिन्यो, बीलाई अर्को पछार्यो भनेर पनि काममा उक्सायौँ ।
रगत र मासुको शरीर न हो, काम गर्ने सिलसिलामा थकाइ लागिहाल्थ्यो । कहिले को त कहिले को बिरामी परिरहन्थे । काममा रोकावट आउन दिएनौँ । समयको मिटर अत्यन्त्र तीव्र गतिमा घुमिरहेको भान हुन्थ्यो ।
सुरुमा एकीकृत बस्तीलाई तीन ब्लकमा विभाजन गर्यौँ । तीन ब्लकमा फलामको काम भइरहेको थियो । काम दु्रत गतिमा होस् भन्ने अभिप्रायले हामी भन्थ्यौँ– ए ब्लकमा निकै काम भइसक्यो, बी पछि पर्यो है । सी ब्लकको संयोजकलाई नि त्यसै भन्थ्यौँ– ए र बीले सकेर सघाउन आउँदैछन् है, लाज मर्नु होला !
त्यसो भनेपछि सी ब्लकका मिस्त्रीहरू रातारात काम गर्थे र ए र बीका सघाउन आइपुग्दा नपुग्दै उनीहरूले काम सकिसकेका हुन्थे । त्यसरी पनि गिरान्चौर समयमै ठड्याउन सकिएको हो भन्ने मलाई लाग्छ ।
अमेरिकी स्वयंसेवकको आँखा रसाएको दिन
माथि नै उल्लेख भइसक्यो, गिरान्चौरमा स्वदेशी सहयोगी र सिर्जनशील हातहरूको मात्रै पसिना बगेको छैन, कैयौं विदेशी स्वयंसेवकहरूको पनि पसिना सुगन्धित भएको छ । त्यसैक्रममा एकजना अमेरिकी नागरिक ‘क्युट’ आइपुगेका थिए । गिरान्चौर पुगेकै दिन उनी निकै उत्साहित भए– क्या परिश्रमी यहाँका मान्छे ! भूकम्पले क्षतविक्षत बनाउँदा पनि कसरी हाँस्न सकेका यहाँका मानिसहरू !
केही समय श्रमदान गरेर उनी अमेरिका फर्किएका थिए । मलाई सम्झना छ, गिरान्चौर छाड्ने दिन उनका आँखा भरिएका थिए । त्यसले मलाई पनि स्तब्ध बनायो । सायद त्यसैले होला उनी अमेरिका पुगेर पनि पुनः स्वयंसेवा गर्न गिरान्चौर आए ।
त्यस्तै, अमेरिकाकै ६५ जनाको टोली श्रमदान गर्न आएको थियो र तीन दिन अहोरात्र खटेर उनीहरू फर्किए, उनीहरू फर्कंदा पनि हामीलाई नरमाइलो लाग्यो ।
गाउँलेले मदिरा मकै बारीमा लुकाए
बस्ती निर्माण गर्न गिरान्चौर त पुगियो तर मदिराको गन्धले नाक थुनेर हिँड्नुपर्ने, जताततै मदिरा र त्यसको छोक्रा पोखिएको हुने ।
वास्तवमा त्यहाँको मानिसको आम्दानीको स्रोत मदिरा बेचबिखन पनि रहेछ !
एक त तामाङ गाउँ, मर्दा पनि मदिरा, पर्दा पनि मदिरा नै चाहिने ! तर, कोही कोही त अति नै गर्ने । एक पटक त केसम्म भयो भने दिउँसोमात्रै काम गर्दा नपुगेर राति पनि काम गर्न थालिएको थियो, रातभर काम गर्ने मिस्त्रीले गारै बांगो लगाएछन् । यो मदिराकै करामत हो, मिस्त्री पनि त्यहाँको तीनपानीमा झुम्न थालेछन् भन्ने बुझेपछि हामीले गाउँबाट मदिरा विस्थापित नै गर्ने योजना बनायौँ र सयौँ लिटर मदिरा नष्ट गर्यौँ । त्यसक्रममा कोही–कोहीले कतिसम्म गरे भने घरमा भएको मदिरा मकैबारीमा र गोठमा लगेर घाँसले छोपे ! त्यो थाहा पाएपछि त्यसलाई पनि हामीले नियन्त्रणमा लियौँ र जंगलमा लगेर पोखिदियौँ ।
१२ गते गिरान्चौर जाऔँ
गिरान्चौर बस्ती ठडिइसकेको छ र तिहारको पूर्वसन्ध्यामा हामीले पीडित ६५ घरधुरीलाई गृह प्रवेश गराउँदैछौँ । राष्ट्रपति विद्या भण्डारीले बिहान १० बजे बस्ती हस्तान्तरण गर्ने कार्यक्रम छ । गिरान्चौर बस्ती होइन, हाम्रो रगत पसिना हो, देशी विदेशी दाताहरूको विश्वास हो । पुनःनिर्माणमा चासो राख्ने र चिन्ता व्यक्त गर्ने सबैलई हामी गिरान्चौर आउन अनुरोध गर्छौं ।
हामीले यो अवसरमा समस्त दाता, समाजसेवी, राष्ट्रिय कलाकारहरूलाई गिरान्चौर आउनका लागि अनुरोध पनि गरेका छौँ । र, म बाह्रखरीमार्फत सबैलाई पुनः आग्रह गर्छु, कृपया बस्ती हस्तान्तरणका दिन गिरान्चौर आइदिनुहोस् !
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ ०५:३०
प्रतिक्रिया दिनुहोस्