site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
5XehlhlXIt8
SkywellSkywell

डिल्लीबजारको उकालोमा थियो सर्वनाम । २०३९ मा रामकृष्ण निराला दाइले सर्वनामको दैलोमा पुर्‍याएपछि मैले त्यसबेलाका चर्चित कवि तथा साहित्यकारहरुलाई भेट्ने मौका पाएँ । त्यसैबेला चिनेको हुँ अशेष मल्ल, विष्णुविभु घिमिरे, दिनेश अधिकारी, ओममणि शर्मा, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ, गगन विरही, गोविन्दसिंह राउत, रमण घिमिरेहरुलाई । 

पछि एउटै पेशामा रहेकोले रमण घिमिरेसित निकट भइयो । अरुहरुसित नमस्कारको साइनोमात्रै रह्यो । पछिपछि मात्रै निकटता बढेको हो । तर कवि गगन विरहीसितको परिचय उनले सिनेमा बनाउँदासम्म पनि सामान्य औपचारिकतामा मात्रै सीमित रह्यो ।

चलचित्र ‘शिखर’को असफलतापछि उनी अमेरिका गए । लामो समय उतै बसे । करिब ११ वर्षपछि उनी नेपाल फर्किए । 

KFC Island Ad
NIC Asia

त्यो बेला रेडियो रियाजमा कार्यक्रम आत्मवृतान्तको प्रस्तोता थिएँ म । भरत स्टेशन प्रमुख थिए । उनैले आत्मवृतान्तका लागि गगन विरहीलाई बोलाउन सुझाए । 
२०७१ साल भदौ दोस्रो साताको एकदिन गगन विरही र म, स्टुडियोमा निक्कैबेर गफियौं । कुराकानी सकिएपछि गगन विरहीले भने, ‘राजेश भाइ, अब भेटिरहनु पर्छ है ।’ 
त्यो कुराकानीपछि बीचमा एक पटक भेट भयो होला । त्यस उप्रान्त भेटको मौका नै जुरेन । अब भेटौं भन्ने गगन दाइ नै रहेनन् । ६१ वर्षको उमेरमा उनले महाप्रस्थानको बाटो समाए ।
त्यस दिन कार्यक्रममा उनले आफ्नो जीवनका धेरै कथा सुनाए । सिन्धुपाल्चोकको बाह्रबिसेमा २०१४ सालमा सामान्य परिवारमा जन्मिएका गगन विरहीमा किशोरवयदेखि नै साहित्य सिर्जनाप्रति रुची बढ्यो । भोटेकोशीको कलकल र वरपरको घना जंगलले उनलाई सिर्जनातर्फ डोर्‍याएको थियो ।

बाह्रबिसे सानो गाउँ थियो । तर शिक्षाका लागि सबै जागरुक थिए । त्यसैले स्कुलका अतिरिक्त केटाकेटीहरुले साहित्य र समाचार पनि पढुन् भनेर जनजागृति पुस्तकालय स्थापना गरिएको थियो । गगन र उनका साथी प्रायः त्यही पुस्तकालयमा समय बिताउँथे । जहाँ उनको साहित्यप्रतिको रुची मौलाउँदै गयो । फस्टाउँदै गयो । 

Royal Enfield Island Ad

उनलाई लेख्ने प्रेरणा नयाँ सन्देश साप्ताहिकले दियो । उनले सानासाना कविता नयाँ सन्देशमा पठाउँथे । कविता छापिन्थ्यो । केदारमान व्यथितको कविताले उनमा धेरै प्रभाव परेको थियो । त्यसैले पनि उनले कविता लेख्ने प्रयास गरेका थिए । उनले कविता लेख्दै गए । कविताको प्रशंसा पनि हुँदै गयो । 

आत्मवृतान्तमा उनी खुलेर कुरा गर्दैथिए । उनी सुनाउँदै थिए आफूलाई मदनमणि दीक्षितले लेखनका लागि औधि प्रेरित गरेको प्रसंग । उनले समीक्षा साप्ताहिकमा पनि खुबै लेखे ।
ताहाचल क्याम्पसमा पढ्दै गर्दा उनले ‘यस्तै छ यहाँ’ शीर्षकको कविता लेखेर समीक्षामा पठाए । केही दिनपछि हवाई पत्रमा लेखिएको एउटा चिठी उनको हात लाग्यो । समीक्षाका सम्पादक मदनमणि माडसाबको पत्र रहेछ । उनले लेखेका थिए, ‘गगन भाइ, तिमीले लेख्न नछोड । तिम्रो लेखाई राम्रो छ । तिम्रो कविता छापिन्छ ।’ 
केही समयपछि त्यो कविता समीक्षामा छापियो ।

बाह्रबिसेबाट राजधानी भित्रिँदा उनको इच्छा सिभिल इन्जिनियर पढ्ने थियो । २०३२ सालमा उनले पुलचोक क्याम्पसमा इन्ट्रान्स पनि दिए । तर पास हुन सकेनन् । साउनको महिना थियो । दुई चार महिना यतिकै सडक नापे, राजधानीको । 

उनको काकाको पसल थियो भिमसेनगोला बानेश्वरमा । काकालाई सहयोग गर्न उनी पसलमा बस्न थाले । त्यहीँ अनिता दीक्षितसँग उनको चिनापर्ची भयो । उनैले गगनलाई महेन्द्ररत्न क्याम्पस ताहाचलमा शिक्षा शास्त्र पढ्न सुझाइन् । क्याम्पसले माघे सेमेस्टरमा भर्ना लिँदैथियो । गगन उतै हान्निए । इन्ट्रान्स पास भए । आइएडमा भर्ना भए । र, केही वर्षमै आइएड सक्याए । 

आइएड पढ्दापढ्दै उनी साहित्य र पत्रकारिताको रसमा चुर्लुम्म डुबे । समीक्षा र नयाँ सन्देशसँगको सम्वन्ध यथावत थियो । 

तिनताक उनी काठमाडौंमा हुने हरेक साहित्यिक कार्यक्रमहरुमा भाग लिन्थे । आफ्ना रचना वाचन गर्थै । यसले उनको लेखनलाई गति दिँदैगयो । फलतः साहित्यमा समर्पित साथीहरुसित पनि उनी जोडिँदै गए । उनको सम्बन्ध विष्णुविभु घिमिरे, दिनेश अधिकारी, अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विजय बजिमय, तिर्थ श्रेष्ठ, कृष्ण भुषण बल, प्रमोद प्रधानहरुसँग भयो । 

२०३६ सालमा तत्कालिन युवा कविहरुले कवितालाई क्रान्तिको आधार बनाए । उनीहरुले कविताका माध्यमबाट क्रान्ति शुरु गरे । सडकमा कविता घन्किन थाल्यो । कविताले जनतालाई जागरुक तुल्यायो । पत्रपत्रिकाहरुले कवितालाई स्थान दिन थाले । पञ्चायतकालिन कालरात्रीमा यी कविहरुको कविताले उज्यालोको संकेत दिन थाल्यो ।

यसरी सडक कविता क्रान्तिमा मोहन कोइराला, हरिभक्त कटुवालहरु पनि जोडिए । दिनेश, अशेष, विष्णु, गगनहरु जस्ता कविले प्रतिवन्धित पार्टीका नेताहरुलाई हिम्मत दिए । तिनका लागि कविहरु शक्तिपुञ्ज थिए । तर नेताहरुले कविहरुलाई सधैँ छायाँमा पारे । खोलो तर्‍यो लौरो बिर्सियो । यही नै भयो कवि साहित्यकारहरुको हकमा ।
बीएडको पढाइ सिध्याए उनले । त्यसैसमयमा उनले ललितपुरबाट निस्कने एउटा साप्ताहिक पत्रिकामा महेन्द्र आदर्श विद्याश्रममा नेपाली शिक्षकको माग गरेको सूचना देखे । उनी भोलिपल्टै स्कुलमा पुगे । 

रेडियो कुराकानीमा गगन सुनाउँदै थिए त्यो प्रसंग, “मसँग सानो अन्तर्वार्ता लिइयो । तत्कालै कक्षा कोठामा पढाउन पठाइयो मलाई । माध्यमिक स्तरका विद्यार्थीहरुलाई जे भएपनि पढाउनु पर्नेथियो । अर्थात् मलाई शिक्षकका रुपमा लिने वा नलिने, निर्णय गर्ने अधिकार विद्यार्थीहरुलाई दिइयो । विद्यार्थीले पनि मैले पढाएको राम्रो माने । र त्यही मैले मैले पाँच वर्षसम्म काम गरेँ ।’

पढाउन शुरु भएपनि उनले कविता लेख्न छोडेका थिएनन् । एउटा शनिबार, एकेडेमीमा कवि कृष्णभुषण बलले कुनै पुस्तक विमोचनको आयोजना गरेका थिए । त्यहीँ गगनसँग भेट भए नीर शाह । नेपाल टेलिभिजन भरखरै स्थापना भएको थियो । गगनमा नीरले के देखे कुन्नी, उनले सिधै टेलिभिजनमा बोलाए उनलाई । टेलिभिजनको कार्यालय त्यसबेला लाजिम्पाटमा थियो ।

उनी पुगे भरखरै खुलेको टेलिभिजनको कार्यालयमा । नीर शाहले उनलाई वृत्तचित्र बनाएर ल्याउने होमवर्क दिए । क्यामेरापर्सन थिए विजय उदय पाल्पाली । गगनले केही दिन विद्यालयबाट विदा लिए र पाल्पालीसँगै दमौली पुगे । त्यहीँ उनले पहिलो वृत्तचित्र खिचेर ल्याए ।

जब गगनले भ्वाइस ओभर गरिरहेका थिए, बाहिर नीर शाह उनको आवाज सुन्दै थिए । गगनको आवाज सुनेर नीर शाह दंग परे । धाप मारे । र उनलाई भने ‘गगनजी, मलाई तपाईको भ्वाइस चाहियो ।’ 

यहीबाट उनले पाँच वर्ष पढाएको स्कुल छोडे । टेलिभिजनमा काम थाले । देशदर्शन नाममा वृत्तचित्रहरु बनाएर देखाए । समाचार पढे । समाचार सम्पादन गरे । 
तर बहुदल आएपछि उनलाई राजावादी भएको आरोप लाग्यो । उनलाई दुःख लाग्यो । ३६ सालको सडक कविता क्रान्तिमा त उनी पनि सक्रिय थिए ! 
उनले टेलिभिजन छोडे । र, थाले चलचित्रको निर्माण तथा निर्देशन गर्न । किनभने उनले टेलिभिजनमा रहँदा त्यही सिकेका थिए । 

उनले नेपाली चलचित्र ‘संकल्प’को निर्माणमा हात हाले । यस चलचित्रमा उनले पहिलो पटक भारतीय गायक महेन्द्र कपुरलाई गाउन लगाए, आँधीसँग झेल्नु पर्छ हुरीसँग खेल्नु पर्छ, संघर्षको भूमरीलाई जिन्दगीले झेल्नु पर्छ  । 

‘संकल्प’ पछि ‘बादल’, ‘घर आँगन’, ‘झझल्को’को निर्माणसँग गगन जोडिए । ‘झझल्को’ उनले आफ्नै निर्देशनमा तयार पारे । त्यस पछि ‘मितेरी गाउँ’को निर्माण र निर्देशन गरे ।
यसरी चलचित्र निर्माणमा होमिएका कवि तथा पत्रकार गगन विरही चलचित्र ‘शिखर’ असफलतापछि अमेरिकातर्फ लागेका थिए । 
उनले धेरै गीत लेखे । उनका गीत चर्चित पनि छन् । प्रकाश श्रेष्ठले गाएको पानीको रिमझिम बर्सात्को बेला होस् वा प्रेमध्वज प्रधानको तिमीलाई अचेल कहाँ भेटु जस्ता गीत, आज पनि चर्चित छन् । 

आफूलाई राम थापाले गीतकार बनाएको बताउने गगनका गीत धेरैजसो राम थापाले संगीतबद्ध गरेका छन् । 

निक्कै अगाडि ‘एउटा बस्तीको कथा’ शीर्षकको कविता छापिएको थियो, चार जनाको नाममा । कविता छाप्यो मधुपर्कले । यसरी चार जनाले संयुक्तरुपमा लेखेको त्यो पहिलो कविता थियोे । 

पछि त्यही शीर्षकमा उनले लघु उपन्यास लेखे । त्यसमै आफ्नो विचार अभिव्यक्त गरे र प्रकाशन गरे ।

जीवनलाई भोगाइ मान्ने गगन विरही पछिल्लो दुई वर्षदेखि अस्वस्थ थिए । कलेजोमा देखिएको समस्याका कारण घरमै आराम गरिरहेका थिए । तथापि उनको सिर्जनात्मक क्षमतामा कुनै कमी आएको थिएन । अमेरिका प्रवासमा रहँदा पनि उनको सिर्जनात्मकतामा कुनै कमि देखिएन । त्यसबेला त झन् उनी उर्जावान भए । उनले त्यहीबाट नेपाली भाषामा नेपाल समाचारपत्र नामको आठ पेजको साप्ताहिक पत्रिका प्रकाशन गरे । यसरी भाषा साहित्यमा उनी हमेशा सक्रिय रहे । 

उनको गीत कविता र मुक्तकको संग्रह ‘हस्ताक्षर’ तयार भइसकेको थियो । उनी घरैमा त्यसको विमोचन गर्न चाहन्थे । हठात् उनलाई बिमारले च्याप्यो । उनी नर्भिक अस्पतालमा भर्ना भए । र, महाप्रस्थानमा जानुपूर्व आफ्नो काव्यकृति ‘हस्ताक्षर’ सारा पाठकहरुका लागि छाडेर गए ।

निरन्तर सक्रिय शब्दशिल्पी गगन विरही दाइमा हार्दिक श्रद्धाञ्जली । अलविदा गगन दाइ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro