site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नजुरेको तीनजुरे
SkywellSkywell

सात/आठ वर्षअघि विश्व दाइ (कवि विश्वविमोहन श्रेष्ठ)सँग कुराकानी गर्दा उनको जन्मथलो म्याङलुङको चर्चा भयो ।

त्यसैक्रममा उनले तेह्रथुमको वसन्तपुर सम्झिए । गुराँसको राजधानी मानिएको तीनजुरे सम्झिए । विश्व दाइको सम्झनासँगै म पनि रमाएँ । किनभने, मेरा लागि त्यो कुनै आख्यानमा प्रयुक्त दृश्यझैँ थियो ।

जलेश्वरको गर्मीमा पसिनाले लफ्रक्कै भिजेर पनि आनन्द मान्ने मेरा लागि वसन्तपुरको चिस्यान कल्पनै त थियो । झुप्प आँपको मज्जर (मञ्जरी) मा रमाउने मेरा लागि गुराँसको झुप्पो सुन्दरताको विम्बभन्दा कम त पक्कै थिएन ।

KFC Island Ad
NIC Asia

म दाइका तिनै विम्बहरूमा रमाएँ । अनि, त्यहीँ हराएँ ।

सायद, म हराएको बुझे उनले । भने, ‘राजेश, एकपटक जानुपर्छ है तीनजुरे । रङबिरंगी गुराँसलाई नजिकबाट नियाल्न ।’

Royal Enfield Island Ad

विश्व दाइको भनाइसँगै सायद म पुगिसकेको थिएँ, तेह्रथुम । र, रम्दै थिएँ तीनजुरेका गुराँसहरूसित ।

यसरी कल्पनामा रमेको करिब आठ वर्षपछि तेह्रथुम यात्रा जुरेको थियो, ‘वसन्त काव्य उत्सव’का नाममा । पूर्वी पहाडका धेरै थुम्को नटेकेको मेरा लागि तेह्रथुमको यात्रा उत्सवमय हुनु स्वाभाविक थियो ।

काठमाडौं छोड्दा बिहानको १० बजेर ५ मिनेट गएको थियो । एयरपोर्ट पुग्दा बिहान ७ बज्नलाई १५ मिनेट बाँकी नै थियो । त्यसअघि नै राजेन्द्र शलभ, किशोर पहाडी र मणि लोहनी पुगिसकेका थिए ।

केही बेरमै आइपुगे जयदेव भट्टराई, श्रीओम रोदन, संयोजक संस्था एपेकका अध्यक्ष विश्वविमोहन ।

पूर्वतिर दिनभरको कार्यक्रम टुंग्याउनै भनेर बिहानको उडान तय गरिएको थियो ।

बुद्ध एयरबाट विराटनगर झरेर उक्लनुपर्ने थियो, इटहरी हुँदै धरान, धनकुटा, वसन्तपुर, तीनजुरे अनि म्याङ्लुङ ।

तर, ७ बजे नै प्रस्थानकक्षमा छिरेका हामी म्याङ्लुङ र गुराँसभन्दा बुद्ध एयरको ढिलाइमाथि चर्चा गर्न बाध्य थियौँ । काव्य उत्सवभन्दा कति बेला जहाज उड्छ भन्ने रनाहामा थियौँ ।

तीन घण्टाको समय बुद्धले खायो । ‘लामै सिनेमा हेरेको भए पनि तीन घण्टा लाग्थेन !’ कवि तथा फिल्म निर्देशक शलभ दाइलाई मैले सुनाएँ । सुनाउनु त थियो । अरू के नै गर्न सकिन्थ्यो र !

मौसम सफा थियो । हवाईजहाज ओर्लिरहेका थिए । उडिरहेका थिए । प्रस्थानकक्षमा भिड बढ्दो थियो । यात्रु बस्ने कुर्सी खाली थिएन । कुर्सी खाली भयो कि अर्कोले रजाइँ गर्थ्यो ।

यथार्थमा म्युजिकल चियरको खेल खेलाउँदै थिए, एयरलाइन्सहरू । (साँच्चिकै खेलाडीहरूलाई त राम्रो प्राक्टिस भयो होला ।)

यात्रु अधीर बन्दै थिए । समयमा पुग्नै भनेर हवाईजहाजको टिकट लिएको तिनको गुनासो थियो ।

हामीलाई पनि विराटनगरबाट करिब १५० किलोमिटरभन्दा टाढा उकालो लाग्नु थियो । बीचबीचमा तोकिएको कार्यक्रममा सहभागी हुनु थियो ।

तर, एयरलाइन्सवालालाई यात्रुसँग कुनै सरोकार थिएन, नभए ८ बजे तोकिएको ठाउँमा यात्रुलाई १८ बजाउने कर्ममा लाग्ने थिएनन् होला ।

कतिले त त्यही दिन सबेरैको उडानबाट विराटनगर गई काम सकाएर साँझ फर्किने टिकट समेत लिएका थिए । तर, त्यसतर्फ जहाजका हाकिमहरूले किन सोच्थे र !

सोचेको भए त्यो भिडमा गुम्सिनु पर्थेन ।

तर, त्यो गुम्स्याइलो भिडमा पूरा तीन घण्टा बिताउनुपर्‍यो । त्यसपछि मात्रै उद्घोष भयो, ‘बुद्ध एयरबाट विराटनगर जाने यात्रु एक नम्बर गेटमा पुग्नुस् ।’

‘निर्धारित समयमा उड्न पाएको भए सबैतिरको कार्यक्रम भ्याइन्थ्यो ।’ विश्व दाइको स्वरमा चिन्ताको रेखा दौडियो ।

धन्न, प्लेन १०.०५ मै उड्यो ! अझै ढिलो गरेन ।

म चकलेटको प्रतीक्षामा थिएँ । अचेल जहाजमा चकलेट त ‘दिल्ली दूर है’ भइसकेको रहेछ ! कानमा कोच्न कपास र पिउनलाई पानी पनि माग्नुपर्ने भइसकेको रहेछ ।

धेरै भएछ म नउडेको । हैट !

१०.४० मा जहाज विराटनगर ओर्लियो ।

बाहिर गर्मीको साम्राज्य थियो । ओर्लंदाओर्लंदै त्यसले आक्रमण गर्नु थियो । गर्यो ।

ढिलै भए पनि उडेर आएको रेकर्ड राख्न पृष्ठभूमिमा जहाजसहितको तस्बिर खिचियो ।

विराटनगर एयरपोर्टको माथ्लो झ्यालबाट कवि गोकुल अधिकारीले हात हल्लाउँदै विराट भूमिमा स्वागत गरे । भेटिए कवि/कथाकार विवश पोखरेल पनि ।

त्यो गर्मीमा बिहान ८ बजेदेखि पर्खी बसेका विवशजी र गोकुलजीको स्थिति अनुमान गर्न सकिन्थ्यो ।

लगेज समेटेपछि ढिलो नगरी रिजर्भ गरिएको माइक्रो इटहरीतिर हुइँकियो ।

इटहरीमा पर्खिरहेका इलामेली कवि विमल वैद्यलाई बोक्दै गाडी अगाडि बढ्यो । धरानमा खाजासहित चढे, गुराँस साहित्य प्रतिष्ठानका सचिव पुष्प गुरागाईं ।

२ बजेको हाराहारी धनकुटा पुग्दा रवीन्द्रभक्त श्रेष्ठको कवितासंग्रह ‘शाश्वत’ सार्वजनिक गर्न सल्लेरी साहित्य संगमका साथीहरू पर्खेर बसेका थिए ।

‘वसन्त काव्य उत्सव’अन्तर्गत नै यो विमोचन आयोजन हुँदै थियो । तर, भोको पेटले हामीलाई होटेलतिर लखेट्यो ।

अमेरिकाको भर्जिनिया बस्दै आएका धनकुटा निवासी श्रेष्ठको कवितासंग्रह कार्यक्रममा उपस्थित सबैले एकमुष्ट सार्वजनिक गरे ।

अमेरिकाको मध्यरात । र पनि, कवि श्रेष्ठ सपत्नी मोबाइलमा प्रत्यक्ष जोडिएका थिए ।

त्यसैले केही बेर कृतिकार बोले । कृतिमाथि श्रीओमले टिप्पणी गरे । बाँकी वक्तामा थिए, विश्वविमोहन, रेणु श्रेष्ठ र रमेशचन्द्र अधिकारी ।

त्यहीँदेखि काव्य उत्सव यात्रामा जोडिए रमेशचन्द्रजी ।

धनकुटा छोड्दा करिब ५ बजिसकेको थियो । अबेला भएकाले बीचका केही कार्यक्रम हाप्नुपर्‍यो । यात्रा अवधिभर बुद्ध एयरले दिएको दुःखको चर्चा भइरह्यो ।

नभए, हिलेमा रमाइन्थ्यो । वसन्तपुरमा बसिन्थ्यो । गुराँसको राजधानी टेकिन्थ्यो ।

तर, चित्रेमा ‘मोबाइल चित्र’ उतार्ने काम मात्रै गरियो । अनि लागियो, म्याङ्लुङतिर ।

गन्तव्य टेक्दा अँध्यारै भइसकेको थियो । तथापि, स्वागतका लागि गुराँस साहित्य प्रतिष्ठानका साथीहरू होटेलमै थिए ।

बिहानको विलम्बले जहीँतहीँ लखेटेको लेखेटेकै गर्यो ! यात्रामा ढिलो । खानामा ढिलो । कार्यक्रममा ढिलो । पहुँचमा ढिलो !

ढिलोले ओछ्यानमा मज्जाले ढाल्यो । 
०००
२०३७ सालदेखि नै कवि विश्वविमोहन चाहन्थे, म्याङ्लुङमा कविता यात्रा गर्न । साहित्यिक पत्रकार संघमा हुँदा केही ठाउँमा उनले कविता यात्रा सम्पन्न नगरेका हैनन्, तर त्यो यात्रा म्याङ्लुङसम्म पुगेन ।

ढिलै भए पनि आफ्नो गाउँठाउँमा कविता उत्सवको संयोजन गर्न पाउँदा उनी दंग थिए । आफ्नो इच्छा पूरा हुँदा खुसी लाग्नु स्वाभाविक थियो ।

विश्व दाइ दंग, उनलाई देखेर हामी पनि दंग !

बिहान म्याङ्लुङ देवीको दर्शन गरियो । शुक्रबारे हाट घुमियो । स्थानीय उत्पादन ढाकाको कपडा किनियो । त्यहाँका व्यक्तिहरूसित कुराकानी गरियो ।

अनि, दिउँसो लागियो ‘वसन्त काव्य उत्सव’को मूल कार्यक्रमतिर । जहाँ जम्माजुट थिए स्थानीय कविहरू ।

उद्योग वाणिज्य संघको सभाकक्षमा भएको वसन्त काव्य उत्सवमा स्थानीय नयाँ–पुराना कविहरूले रचना सुनाए । प्रेम खड्काले लोकभाका गाएर माहोल झनै जमाए ।

साझा प्रकाशनका अध्यक्ष डा. विजय सुब्बाले तेह्रथुमले थुप्रै साहित्यकार दिएको बताए । आफ्नो थातथलोमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले लीलबहादुर क्षेत्री, डा. अभि सुवेदी, गंगाप्रसाद उप्रेती, पुरुषोत्तम सुवेदी, चूडामणि गौतम, विश्वविमोहनलगायत थुप्रै स्रष्टाहरूको नाम लिए, जो तेह्रथुमका थिए ।

काव्य उत्सवको आयोजक संस्था म्याङ्लुङ नगरपालिकाका मेयर संजयकुमार तुम्बाहाम्फे चुनावी चटारोमा थिए । र पनि, ‘साहित्यले समाजलाई सुमार्गमा डोर्‍याउने’ बताउँदै उनले सहभागीलाई धन्यवाद दिन भ्याए ।
०००
शनिबार म्याङ्लुङस्थित पाथीभरा मन्दिरको दर्शनपश्चात् पुनः यात्रा सुरु भयो विराटनगरतिरको ।

लसुनेमा केही बेर मिठो दहीले अलमल्यायो । त्यहाँदेखि गुडेको गाडी वसन्तपुर पुगेर अडियो । भोजन विश्रामको सदुपयोग गर्दै स्थानीय चोलुङ पार्कमा केही समय ‘सेल्फी सट’मा रमाइयो ।

वसन्तपुरमा सुन्दर पार्क बनाइएको रहेछ । मौलिक शैलीको पार्कमा घुम्न आउनेहरू प्रशस्त थिए । त्यहीँ भेटिए, साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल ।

चोलुङ पार्कमै लोकभाकाको गीतमाथि म्युजिक भिडियो बन्दै रहेछ । एउटा भिड त्यता रमाइरहेको थियो ।

वसन्तपुरमा केही समय बिताउँदा समेत तीनजुरेले हामीलाई तान्न सकेन । सायद, यसपटक लालीगुराँसको रङमा रंगिने मौका जुरेकै थिएन !

खानापछि यात्रा अघि बढ्यो । र रोकियो, हिलेमा । त्यहाँ तोङ्बे भाँडासँग तस्बिर खिचियो ।

कवि रमेश अधिकारीले चर्चित साहित्यकार झमक घिमिरेको धनकुटा, कचिडेस्थित घरमा गएर भेट्ने कुरा गरे । सबै सहमत भए । र लागियो, कचिडेतिर ।

झमकको आँगनमा करिब आधा घण्टा बिताइयो । छुट्टिने बेला उनले पाउले कलम समाउँदै डायरीमा लेखिन्, ‘म लेख्नैका लागि जन्मिएकी हुँ ।’

झमकसँग सामूहिक तस्बिर खिचेर हिँडेपछि केही समय धनकुटा बजारमा रोकियौँ ।

‘यता अशेष मल्लको घर, उता कविवर तुलसी दिवसको घर’ भनी देखाउँदै थिए रमेश अधिकारी ।

जाँदा धनकुटाबाटै चढेका रमेशजी त्यहीँ ओर्लिए ।

धनकुटाबाट तमोर तर्दै भेडेटार उक्लियौँ । यतिखेरसम्म चियाको तलतल लागिसकेको थियो । चिया पिउन अडियौँ ।

त्यहीँ भेट भए, धरान विराटनगरका साहित्यकर्मीहरू प्रा. डा टंक न्यौपाने, दधिराज सुवेदी, बद्रिविशाल पोखरेल, टीका आत्रेयलगायत ।

धरान, इटहरी, दुहवी हुँदै विराटनगरको स्वागतद्वार प्रवेश गर्दा साँझ छिप्पिँदै थियो ।  
०००
अर्को दिन बिहानैदेखि विराटनगरको गर्मीले सेक्न सुरु गरिसकेको थियो ।

विमल वैद्य सखारै इलाम फर्किए । श्रीओम र म मन्दिरतिर लाग्यौँ । मणि मित्रमण्डलीसँगको भेटमा हिँडे । अरू पनि आ–आफ्नो भेटघाटमा लागे ।

म जहिले विराटनगर पुग्छु, मेरा आँखाले एउटा घर खोजिरहेको हुन्छ । ०३२ सालमा पहिलोचोटि यो भूगोलमा प्रवेश गर्दा त्यही घरमा दुई–तीन रात बिताएको थिएँ ।

त्यसको झिनो सम्झना मात्रै छ । त्यो कसको घर थियो, थाहा छैन । चारैतिर बगैँचा र फूलबारीले घेरिएको त्यो घर साँच्चिकै राम्रो थियो । अहिले कस्तो होला ? मनमनै प्रश्न गरेँ । जवाफ थिएन !

त्यस बेला एकदम मन परेर विराटनगर बजारमा एउटा नम्बरवाला सानो ताल्चा किनेको थिएँ । जबकि, त्यसको उपयोगिता मेरा लागि केही थिएन । किन किनेको होला ! सम्झँदा पनि हाँसो उठ्छ ।

त्यो घर योपटक पनि सम्झिएँ । तर, वास्ता गरिनँ । न त श्रीओमसँगै यो प्रसंग उठाएँ ।

बरु, श्रीओम र म भाटभटेनी मार्केट छिर्‍यौँ । केही बेर त्यहीँ बितायौँ । र, दुवैले एक–एकथान सर्ट किनेर फर्कियौँ ।

त्यहाँ हुन्जेल गर्मी भएन । बाहिर निस्किनासाथ पसिनाले शरीरमा बाटो बनाउन थाल्यो ।

दिउँसो विराटनगरका चर्चित कविहरूका सशक्त र बलिया कविता सुनेर आनन्दित भइयो ।

वसन्त काव्य उत्सवअन्तर्गत इन्द्रमोहन स्मृति गुठी धनकुटा, एपेक नेपाल र पूर्वाञ्चल साहित्य प्रतिष्ठानले संयोजन गरेको कवितावाचन कार्यक्रमको जति नै प्रशंसा गरे पनि कम हुन्छ ।

कार्यक्रम सकिनासाथ हामी सबै एयरपोर्टतिर दगुर्‍यौँ । आज पनि रातिको १० बजाउँछ कि ! यो आशंका सबैको मनमा उब्जेको हुनुपर्छ ।

धन्न, त्यस दिन समयमै प्लेन उड्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro