site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वानर बनेर उफ्रिँदा !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नौटंकीको रहरले मध्यरातसम्म पनि घरबाहिर हिँडेको छु म । खै के नशा हो, रक्सीभन्दा कडा ! गाँजा र भाङभन्दा बढी हल्लाउने, नौटंकी भनेपछि कसैका कुरा पनि नसुन्ने ! ठूलाबडाका गाली समेत पचाउने क्षमता बढिसकेको थियो ।

रौसले नै जागेको थियो, त्यो हिम्मत । नभए १२/१३ वर्षको उमेरमा समतुरिया केटाहरूसँग रातको नौ बजे दुई कोस परको गाउँ जाने हिम्मत हुन्थ्यो होला र ! बूढापाकाहरूले केही भनिहाले पनि त्यस्ता भनाइ एउटा कानले सुनेर अर्कोले उडाउन खप्पिस भइसकेका थियौँ, हामी सबै ।

त्यसो त हाम्रै हितका लागि हो पाकाहरूको झपार, थाहा थियो । नौटंकीतिर नलाग्, पढाइमा ध्यान दे, अर्थ त्यही थियो । तर, अर्थको गहिराइमा पुग्न खोज्ने को ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

सधैँ हरफनमौला भएर हिँडियो । त्यसैले तान्यो धौनखी मार्का नौटंकीले । तान्यो रामलीला र कृष्णलीलाले । बाइजीको नाच र कब्बालीले ।

बड्डाहरूको कुरामा खासै ध्यानै दिइएन । त्यसैले त गाउँ मात्रै होइन, कोसकोस पर धाउने बानीमा पनि परिवर्तन आएन ।

Royal Enfield Island Ad

कहिलेकाहीँ भने रामलीला, कृष्णलीला, राजा हरिश्चन्द्रजस्ता धार्मिक नाटक गाउँमै हेन्थ्यिो, सपरिवार । अरू कुनै धार्मिक लीला वा नौटंकी भए चार गाउँ चहारिन्थ्यो ।

अचेल गाउँमै पनि चार गाउँ चहार्ने बानी हराएको छ । कारण, गाउँमा पहिलेजस्तो नाटक आउँदैन । न त नौटंकी नै गरिन्छ । रामलीला, कृष्णलीला, हरिश्चन्द्रजस्ता नाटक पनि आउन छोडे ।

सबैलाई टेलिभिजनले तानेको छ । मोबाइलले खिचेको छ । नौटंकी हेर्नझैँ चार कोस पर पैदल हिँड्नु पर्दैन, कसैले । युट्युबमा घण्टौँ रमाउने बानी परेको छ ।

उमेश चौधरी भाइसँग एकपटक कुरा हुँदा सोधेको थिएँ, बाइजी नाचका बारेमा । रामलीला र कब्बालीका बारेमा ।

अहँ ! उनी आफैँ अनभिज्ञ छन् । आफू सानै हुँदा हेरेको उनले सुनाए । अहिले गाउँमा यस्ता कार्यक्रम नै हुँदैनन् ।

अर्थात्, मनोरञ्जनका लागि गरिने यस्ता कार्यक्रम अचेल गाउँ ल्याइँदैन । हराउँदै गएको छ यो चलन । र, जितेको छ टीभी र मोबाइलले ।

हाम्रो पालामा सिनेमा हेर्न त सोच्नु पर्थ्यो, दुई रुपैयाँ निकाल्न नसकेर । अचेल हरेकका मोबाइलामा एकदुईवटा सिनेमा डाउनलोड हुन्छन्, फुर्सदमा हेर्ने गरी ।

महोत्तरीको भरतपुरमै भेटिएका रामविलास महतोसँग कुरा हुँदा मधेसका गाउँमै पनि त्यस किसिमको नाट्य प्रस्तुति प्रचलन हराउँदै गएको सुनाए । भने, ‘ऊ सब त खत्तम भगेल । पहिने पहिने होइत रही ! अखिनु त सबके हातहातमे मोबाइल है । के देखतै रामलीला !’

यी रामविलास रहेछन्, हनुमान आराधना समूहका मूल मानिस । उनको काम नै रहेछ, हनुमान आराधनाको जिम्मा लिने र सुन्दरकाण्ड आयोजना गर्न चाहनेहरूकहाँ गएर बाजागाजा र अभिनयसहित दोहावाचन गर्ने ।

अर्थात्, उनले परम्परा धान्ने एउटा बाटो समाएका छन्, सुन्दरकाण्डका दोहाहरूमा कलाकारलाई अभिनय गर्न लगाएर ।

रामविलासका अनुसार उनका दिनहरू हनुमान आराधनामै बित्छ । दुई दर्जन बढी व्यक्तिहरूको समूह छ, जसले रामायणको सुन्दरकाण्ड पाठ गर्छन् । अनि, दोहाले अभिव्यक्त गरेको कथा विभिन्न पात्रहरूले संवादसहित अभिनय पनि गर्छन् ।

उनले भने, ‘माघ महिनामे आठ गो सुन्दरकाण्ड रहलै । फागुन महिनाको लागि कतौ कतौ बात भगेल है । अइज वकिल साहबके यहाँ क के एक जगह आरो है ।’

उनले नै सुनाए हनुमान आराधनाका समय कोही व्यक्ति हनुमान बन्छ, कोही जामवन्त । कोही लङ्किनी त कोही विभीषण र रावण । कोही सीता त कोही सुरसा अनि त्रिजटा ।

समूहभित्रकै पुरुषहरूले पात्रानुरूपको पहिरन र मुखौटा लगाएर अभिनय गर्छन्, सुन्दरकाण्डका दोहासँगै हारमोनियम, ढोलक र झाइलको तालमा ।
००० 
काठमाडौंमा एक दिन । विनोद मामा (वरिष्ठ अधिवक्ता विनोदकुमार शर्मा)ले भन्नुभयो, ‘राजेश, माघ २१ गते भरतपुर आऊ है । आमाबुवाको नाममा हनुमान आराधना गराउँदै छु ।’

‘म आउँछु मामा ।’ मैले तुरुन्तै निर्णय गरेको थिएँ । र, पहिलोचोटि भरतपुर जाने कुराले दंग परेको थिएँ । आमाको माहिलो बुवाको घरबार, खेतीपाती भए पनि म भरतपुर पुगेको थिइनँ । मौका नै मिलेन । (मैले सुनेअनुसार माहिलो’बा साठी वर्षअघि नै भलुवाहीबाट भरतपुर बसाइँ सर्नुभएको थियो ।)

यसपटक मौका मिलेको थियो । मौका छोड्न चाहन्नथेँ । त्यसैले मैले तत्काल आउँछु भनेको थिएँ । अनि, माघ २० गतेको गोधूलिमा मडहा नदीपछिको डगहर पछ्याउँदै भरतपुर भित्रिएको थिएँ म ।

मामाघरको यो आँगन पहिलोपटक टेकेको थिएँ । त्यहीँ विनोद मामाको अँगालो र स्नेहमा केही बेर बाँधिएँ । केही भावुक भएँ । केही रोमाञ्चित भएँ । आँगनभरि घरपरिवार, पाहुना र गाउँलेहरूको जमघट थियो ।

साँझ चिसोचिसो नै भएकोले चिया निरन्तर चलिरहेको थियो । चिया पाक्दै थियो, मानिस खाइरहेका थिए । उता दक्खिनबरिया घरमा बेलुकालाई खानाको जोहो हुँदै थियो । डगहरपारिको टाटीवाल परिसरमा भने साँझैदेखि भोलिपल्टलाई खानपानको चाँजोपाँजो मिलाइँदै थियो ।

पूजाको दिन भरतपुर र वरपर गाउँका हजारौँ मानिस हनुमान आराधनाको प्रसाद ग्रहणका लागि आउनेवाला थिए । त्यसैले सबैका लागि खानाको व्यवस्था गर्न एउटा सिंगो जमात भिडेर लागेको थियो ।

त्यही भिडानमा खटिएका थिए, रवि अधिकारी दाइ । उनी रातभर बाहिरै रहेछन् । बिहान रवि दाइ भन्दै थिए, ‘राति सुतिनँ नि ! यिनीहरूसँगै यताउता गर्दै चुल्होका छेउमा रात बिताएँ ।’

रवि दाइको खटनपटन देखेर छक्क परेँ । किनकि, म त्यति खट्न सक्दिनँ । मनु दाइ (अधिकारी) पनि आत्तिए । उनी भन्दै थिए, ‘त्यसै रवि राहु होइन नि यो !’

कडा हुस्सुले छोपेको त्यो बिहान एकचरण घुमेर (खासमा कठघरा दोकानमा चिया खाएर) आएपछि खानेकुरा पाक्दै गरेको ठाउँमा हेरेको, तीन हजार बढी मानिसलाई पुग्ने जिलेबी र बुनिया तयार भइसकेको थियो । भित्री कोठामा बडेमानको खाटमा ती लडाइएका थिए ।

बाहिर सबै खटिरहेका थिए, तरकारी, पुरी र अचार बनाउन । कोही उसिनेको आलु छोडाउँदै थिए । कोही तरकारी काट्दै थिए, छिमी छोडाउँदै थिए । यसरी पूजापछि प्रसादको व्यवस्थाका लागि युवा दौडिरहेका थिए ।
०००
बिहान मामाघरको आँगनमा पूजाको चहलपहल सुरु भइसकेको थियो । पहिलो चरणमा भगवान्को पूजा सकिएपछि हनुमान आराधना (सुन्दरकाण्ड) पाठको तयारी सुरु भयो । त्यसैका लागि नजिकै कालीपुरका रामविलास महतोको समूह तम्तयार थियो ।

हारमोनियम, ढोलक, झ्याली र वाचकहरू सुन्दरकाण्डको पुस्तकसहित दुई लहरमा बसेका थिए । छेउमा केही माइकहरू थिएँ । र थिए, ठूलै आवाज निकाल्ने दुई स्पीकरहरू । जसको आवाजले सिंगै गाउँलाई सत्सङमय बनाउँदै थियो ।

तुलसीकृत रामचरित मानसको पञ्चम सोपान, सुन्दरकाण्ड वाचन सुरु भयो :
जामवंत के बचन सुहाए ।
सुनि हनुमंत हृदय अति भाए ।।
तब लगि मोहि परिखेहु तुम्ह भाई ।
सहि दुख कंद मूल फल खाई ।।
जब लगि आवौं सीतहि देखी ।
होइहि काजु मोही हरष बिसेषी ।।

तुलसीदासद्वारा अवधि भाषामा लेखिएको रामायणको सुन्दरकाण्डमा रामभक्त हनुमान वीरताको गाथा गाइएको बताइन्छ । जहाँ जामवंतले हनुमानलाई उनको शक्तिका बारेमा बताएपछि सीताजीको खोजीमा हनुमान समुद्रपारिको लंका पुग्छन् । र, अशोकवाटिकामा गएर सीताजीसँग भेट्छन् ।

सुन्दरकाण्ड वाचनको मध्यान्तर भयो । वाचक तथा तिनको समूह नास्ता खाने तरखरमा लाग्यो । २०÷२५ जनाको समूहले खाईवरी अर्को चरणको वाचनक्रम थालनी गरे ।

यतिखेर सुन्दरकाण्डको दोहा वाचनसँगै समूहमा आबद्ध विभिन्न व्यक्तिहरूले नाट्य प्रस्तुति दिन थाले । भरिभराउ आँगनका बीच तिनका अभिनयले मिठो झुरझुरीको अनुभव गरायो, मेरो ज्यानमा !

सुन्दरकाण्डका दोहामा उल्लेख कथा अनि पात्रानुसारको अभिनयले मलाई भने ४० वर्षअघि मध्यरातसम्म रामायण र नौटंकी हेर्दाको समयमा पुर्यायो । पूर्वस्मृतिमा चक्कर मार्न थालेँ म ।

दोहाहरूमा हुँदै गरेको अभिनय र पात्रप्रवृत्ति मैले देखेको भन्दा फरक थियो । हनुमान र अन्य वानरसेनाको भूमिकामा रहेका पात्रहरूले रातो पहिरन लगाएका थिए, अनुहारमा हनुमानको मुखौटा ।

विभीषण गेरुवा वस्त्रमा थिए । महिला पात्रहरू चरित्रानुसारको मुखौटामा थिए । तर, राक्षस मूलका पात्र कालो पहिरनमा थिए । अरू गेरुवा रङमा । नाट्याभिनय गर्नेहरूका हातमा तारसहितको माइक थियो । पात्रले दोहाअनुसारको संवाद बोल्नु पर्थ्यो, तिनका हातमा माइक थमाइन्थ्यो । अनि, बोल्न नपर्नेले अभिनय गरिरहन्थे । नभए नेपथ्यमा फर्किन्थे ।

यहीक्रममा सुरसा र लङ्किनी कालो पहिरनमा आँगनमा आइपुगे । हनुमान बनेका पात्र आँगनमा आफ्नै पारामा नाचिरहेका थिए । त्यसै बेला रवि दाइ मतिर आए र भने, ‘राजेश, वानरको मुखौटा लगाऊ ।’

म हाँसे । तर, तानेर बीचमा लगिएपछि केही बेर मुखौटा लगाएर वानर उफ्रिएझैँ उफ्रिएँ । रवि दाइ पनि एउटा मुखौटा लगाएर केही बेर हल्लिए । हामीबीच हाँसोको फोहोरा छुट्यो ।

सुन्दरकाण्डकी एक पात्र सुरसा बनेका युवक कालो लहंगाचोलीमा देखिए । तिनले हनुमानसँग संवाद गरे । दुवैबीच चर्काचर्की हुनु थियो । भयो । सुन्दरकाण्डलाई नाट्य रूपान्तरण गर्ने पुनि यादव पात्रहरूलाई के–के गर्ने भनेर सम्झाउँदै थिए । र, नमिलेका ठाउँमा मिलाउन कानेखुसी गर्थे ।

त्यही बेला रवि दाइ मेरो छेउ आए र हाँस्दै भने, ‘महिला बनेको त्यो पात्रको पेट हेर त, रौँ नै रौँ छ !’

338345296_256948613424732_8368439472492978185_n (1)1680925688.jpg

फेरि हाँसोको अर्को लहर गुञ्जियो । मनु दाइ र विमल मामा (डा. विमलकुमार शर्मा)को पनि साथ रह्यो यसपटक, हाँसोमा ।

सुन्दरकाण्डको दोहाअनुसारको अभिनय गर्दै गए कलाकारहरूले । विभीषण–हनुमान वार्ता भयो । अशोकवाटिकामा सीतालाई भेटिसकेपछि हनुमानले फलफूल खाँदै वितन्डा मच्चाए । स्रोता–दर्शकका लागि पनि केरा लुटाइयो ।

अशोकवाटिकामा सीता बनेका पात्र बसिरहेका थिए । सुरसा बनेका युवक नै सीताको भूमिकामा अभिनय गर्दै थिए । त्यसै बेला दशमुण्डी लिएर रावण आइपुगे । र, त्यहाँ सीतालाई रावणले थर्काए ।

त्यसैबीचमा हनुमानको पुच्छर जलाउने काम भयो । हनुमानले त्यही जलेको पुच्छरले लंका डढाएको अभिनय गरे ।

दोहामा कलाकारहरूले अभिनय गरिरहँदा म भने सम्झिरहेको थिएँ, भलुवाहीमा रामलीला हेर्दाको क्षण । उतिखेर कलाकार मुखौटा नलगाई उत्रिन्थे । अनुहारमा मुर्दाशंख लगाउँथे, गोरो र चम्किलो बनाउन । अनि, अनेक रङका शृंगार सामग्रीले अनुहारलाई रातोपिरो बनाउँथे र मञ्चमा आएर पात्रानुसार अभिनय गर्थे । त्यसबखत पनि महिला पात्रमा पुरुष नै हुन्थे, यहाँ पनि त्यही देखियो ।
०००
दिउँसो चिसो नै थियो । गाउँ हुस्सुमै छोपिएको थियो । दुई बजेउप्रान्त हनुमान आराधनाको प्रसाद ग्रहणका लागि मानिस आउन थालिसकेका थिए । र, बेलुका नौ बजेसम्म करिब चार हजारले खाना खाइसकेको रवि दाइ सुनाउँदै थिए ।

साँझ विनोद मामा भन्दै हुनुहुन्थ्यो, ‘राजेश बाबु, मेरा लागि सबैभन्दा ठूलो सन्तुष्टि हो, सिंगै गाउँ यस पुनीत कार्यमा खुसी भए । तिनको खुसी नै मेरो खुसी हो ।’

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro