site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
र, हामीले गायौँ– जन गण मन 

यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले...

करिब पाँच दशकअघि कवि गीतकार यादव खरेलको शब्द, नातिकाजीको संगीत र फत्तेमानको स्वरमा सार्वजनिक यो गीत आज पनि नेपाली जनजिब्रोमा झुन्डिएको छ । यस्ता थुप्रै गीत छन् खरेलका । ती उनका दर्जन बढी सांगीतिक एल्बमहरूमा संगृहीत छन् ।

गीत मात्र होइन, उनका साहित्यिक कृति पनि प्रकाशित छन् । ०२२ सालमै उनको पहिलो कविताकृति सार्वजनिक भएको थियो । त्यसयता मुक्तक, नियात्रा, हास्यव्यंग्य, गीतसंग्रह, बालसाहित्य, पटकथा र आलेखसंग्रह गरेर उनका ११ कृति प्रकाशित छन् ।
    
खरेल लामो समय चलचित्र क्षेत्रमा समेत क्रियाशील रहे । पछिल्लो समय चलचित्रसम्बन्धी कार्यक्रमहरूमा विशेष उपस्थितिबाहेक यस क्षेत्रमा उनको सक्रियता कमै देखिन्छ । अर्थात्, आफू पुनः साहित्यमै समर्पित भएको उनी बताउँछन् ।

केही समयअघि खरेलसँग भेट हुँदा आफूले लेखेका धेरै सामग्री पुस्तकका रूपमा आउन बाँकी रहेको उनी बताउँदै थिए । उनले भने, “उमेरले ८० नाघेँ । लेखेका सामग्रीहरू थुप्रै छन् । त्यसैले पनि तिनलाई कृतिगत रूपमा ल्याउने हुटहुटी जागेर आयो । यसै कारण सबै खोजी गरेर एक ठाउँमा ल्याएर सम्पादन गर्दै छु ।”

Dabur Nepal

खरेलका अनुसार यतिखेर उनको एउटा गीतसंग्रह तयार छ । प्रेसमा जान मात्र बाँकी छ । एउटा अर्को पुस्तक ‘हाम्रो बाजेको पालामा’ पनि लेखेर तयार छ । सम्पादन गरेर अन्तिम स्वरूप दिन बाँकी छ । छाप्न प्रकाशक तयार छ ।

‘हाम्रो बाजेको पालामा’ नातिलाई आफ्नोे गाउँमा घुमाउन लैजाँदा आफ्नो समयको मूल्य–मान्यता, संस्कार, भूगोलका बारेमा जानकारी दिने प्रयास गरेको उनले बताए । यसमा आफूले भोगेको समयका बारेमा नातिलाई दिइएको विहङ्गम जानकारी भएको उनको भनाइ छ ।

खरेल भन्छन्, “मेरो नाति बेलायतमा बस्छ । उसलाई मेरो गाउँठाउँ, भूगोल, संस्कार, मूल्य–मान्यता, परम्परा प्रचलनबारे केही थाहा छैन । त्यसैले उसलाई लिएर काभ्रेको खरेलथोक पुगेँ । र, त्यहाँको विषयमा जानकारी दिएँ ।”

उनले अगाडि थपे, “गाउँ जाँदा उसलाई एउटा बिहेमा जाऊँ भनेर लगेँ । वरपीपलको चौतारीमा मानिसको जमघट थियो । त्यहाँ लत्ताकपडा चढाएर पूजाआजा गरियो । नजिकै पञ्चेबाजा घन्किरहेको थियो । पूजा सकिएपछि सबै फर्किए । वरपीपलमा रातोसेतो कपडा बाँधिएको थियो । नातिले सोध्यो, ‘तपाईंले बिहे हेर्न लैजान्छु भन्नुभएको होइन ? खोइ त बिहेका बेहुलाबेहुली ? मैले त देखिनँ ।’ मैले उसलाई त्यही वरपीपलको बिहे भएको हो भनेँ । ‘रुखको पनि बिहे !’ भन्दै ऊ छक्क परेर हाँस्यो । हो, गाउँका यस्ता पुराना कुरा उसलाई थाहा छैन । ऊ मात्रै होइन, उसको उमेरसमूहका धेरैलाई थाहा छैन होला । त्यसैले त्यस्ता विषय सन्दर्भबारे जानकारी होस् भनेरै मैले यो पुस्तक लेखेको हुँ ।”

उहिलेउहिले गाउँमा चौतारो बनाउने चलन थियो । पाटी बनाउने चलन थियो । बनेको पाटीमा अक्षय तृतीयाका दिन सातु र सर्बत बाँड्ने चलन थियो । अहिले त्यस्तो हुँदैन । त्यो परम्परा मासियो । यस्ता विविध विषयवस्तु नातिलाई सुनाएको शैलीमा किताब तयार गरेको उनी बताउँछन् ।

काभ्रेको खरेलथोक मात्र नभई उनले नातिलाई मौजा रहेको सप्तरीको गाउँ पनि लिएर गए । र, तराईका परम्परा र प्रचलनहरूका बारेमा जानकारी गराए ।

उनले सम्झिए सात दशकअघि मीनपचासको छुट्टी । खरेल भन्छन्, “जाडो महिनामा मीनपचासको छुट्टी हुन्थ्यो । पचास दिन माछालाई पनि जाडो हुन्छ भनेर दिइने त्यो छुट्टीको समय हामी सप्तरी गएर बिताउँथ्यौँ । त्यस बेला बुवाले हामीलाई तराईकै स्कुलमा भर्ना गरिदिनुहुन्थ्यो । तर, आश्चर्य के भने स्कुल जाँदा हामीले पनि नेसनल एन्थम गाउँदा ‘जन गण मन...’ गाउनुपर्थ्यो ।”

यो भन्दै गर्दा उनी हाँसे । उनले सुनाए त्यति खेर नेपालभित्रै पनि नेपाली रुपैयाँ नचल्ने प्रसंग । पिताजीको जमिनदारीबाट सारा धानचामल बेचेको पैसा भारु ‘करेन्सी’मा नै आउँथ्यो ।

उनी भन्छन्, “मैले भन्न खोजेको कुरा हो, समयको अन्तरालमा कत्राकत्रा ठूला परिवर्तन भएका छन् । ती सारा परिवर्तनका सन्दर्भ ‘हाम्रो बाजेको पालामा’ उल्लेख गर्ने प्रयासमा छु ।”

यो आत्मकथा हो त ? कुरो उठ्यो । उनी भन्छन्– होइन ।

आफूले देखेभोगेका रोचक प्रसंगहरू मात्र एउटा पात्रमार्फत प्रस्तुत गरेको उनले बताए । अर्थात्, त्यति बेलाको समय प्रस्तुत गरेका छन्, यो प्रकाशोन्मुख कृतिमा ।

उनले सम्झिए गाउँका केही पात्र । एक कामदार दिनभरि धान जोख्थे । कोही धान खेतमा बट्टाई समाइरहेका हुन्थे । गोठको जिम्मा लिने एकजनाले कुट्टी काटेर गाईवस्तुलाई खुवाउँथे । भान्छामा गुइँठा बालेर खाना पकाइन्थ्यो । गोमन र करेत सर्प देख्यो कि त्यसलाई सिंगै गाउँ उल्टेर भए पनि मार्थे । यावत् जीवन भोगाइ ‘हाम्रो बाजेको पालामा’ प्रस्तुत गरेका छन् ।

एउटा अर्को कृति पनि तयार छ, ‘स्रष्टा र सिर्जना’ नामको । त्यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि बीपी कोइराला, मविवि शाह, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, हरिप्रसाद रिमाललगायत थुप्रै अग्रज सर्जकका बारेमा लेखिएको उनले बताए ।

यसबाहेक चलचित्र ‘आदिकवि भानुभक्त’को पटकथालाई नाटकका रूपमा प्रकाशन गर्ने उनको तयारी छ ।

आफ्नो बारेमा लेखिएका रचनाहरूको एउटा सँगालो निकाल्ने तरखरमा पनि रहेको उनले सुनाए । ‘यादव खरेल : अरूका दृष्टिमा’ – कृतिको नाम यही राखिने उनले बताए ।

यादव खरेल भन्छन्, “सबैभन्दा महत्त्वपूर्ण नेपाली चलचित्रको इतिहासबारे लेख्दै छु । मैले २०२८ सालमा चलचित्र संस्थानको नेतृत्व गरेँ । पछि चलचित्र विकास बोर्डको नेतृत्व गरेँ । फिल्म प्रोड्युसर एसोसिएसनको पहिलो अध्यक्ष भएँ । राष्ट्रिय चलचित्र नीति पनि मेरै नेतृत्वमा तयार भएको थियो । त्यसैले नेपाली चलचित्रको एउटा ऐतिहासिक दस्तावेज आधिकारिक रूपमा आओस् भन्ने मेरो चाहना छ । यस विषयमा सोच बनाइरहेको छु । त्यसलाई पूर्णता दिनेतर्फ लाग्छु म ।”

पछिल्लो समयकालमा उनको सक्रियता लघुकथा लेखनमा पनि रह्यो । नियमित लघुकथा लेखे । थप केही लघुकथा लेखेर त्यसलाई समेत कृतिका रूपमा ल्याउन सकिने र त्यसतर्फ पनि आफूले सोचिरहेको उनी बताउँछन् ।

साहित्यकार खरेल भन्छन्, “म अलि द्विविधामा छु, के तत्कालै निकाल्ने र के अलिक पछि निकाल्ने ! उमेरले गर्दा लेखनको गति पनि कम भएर गएको छ । विभिन्न कारणले गर्दा ती कामहरूले तीव्रता पाउन सकेका छैनन् । तर पनि अहिलेलाई केही किताबहरूको प्रकाशन निश्चित भएको छ । सम्भवतः ती पुस्तक छिट्टै नै प्रकाशनमा आउनेछन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro