काठमाडौँ । सोमबार कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्ड अध्ययन–अनुसन्धान गर्न गठित छानबिन समितिका सदस्य वीरेन्द्र केसीले ‘ज्यान खतरामा रहेको’ भन्दै पत्रकार सम्मेलन गरेरै राजीनामा दिए । मंगलबार सोही प्रकृतिको हत्याकाण्डका अर्का पीडित परिवारले बलात्कारजस्तो जघन्य अपराधमा समेत प्रहरीले उदासिनता देखाएको भन्दै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर रोष प्रकट गरे ।
यही भदौ १५ गते काठमाडौँ बसुन्धराको स्पिड गेष्टहाउसमा हत्या गरेको अवस्थामा फेला परेकी लक्ष्मी नेपालीको परिवारले अपराधी पत्ता लगाउन प्रहरीले कुनै भूमिका नखेलेको र छोरी–चेली जोगाउन राज्य असफल भएको बताएका हुन् ।
कसरी भयो घटना ?
काठमाडौंँकै बोहोराटारस्थित शीतला माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेकी हुन् लक्ष्मीले । कक्षा १ देखि १२ सम्म काठमाडौँमै पढेकी उनको पढाइ पनि राम्रै थियो ।
भर्खर १२ कक्षा उत्तीर्ण गरेकाले स्नातक तह भर्ना गर्न बाँकी नै थियो भने त्यसभन्दा अघिको फुर्सद सदुपयोग गर्न उनी नुवाकोटस्थित फुपूको घर गएकी थिइन् र उतै सिलाइसमेत सिक्दै थिइन् ।
भदौ एक गते काठमाडौँ फर्किएकी उनी सात गतेबाट एकाएक सम्पर्कविहीन भइन् । “आमालाई साथीको घर जान्छु भनेर हिँडिछ, मैले बेलुकामात्रै थाहा पाएँ,” उनका बाबु तुलामान नेपाली सुनाउँछन् ।
सात गतेबाट छोरी सम्पर्कविहीन भइन् । यता बहिनीज्वाइँको शल्यक्रिया र माइली छोरीसमेत बिरामी परेकाले बाबु तुलामान त्यही अल्मलिए । छोरीको तलास गर्न पाएनन् ।
उता हराएकी छोरी एकाएक ११ गते सम्पर्कमा आइन् । आफू साथीको घर गएको र भोलि फर्कने बताइन् । तर, बेलुकादेखि मोबाइल अफ भएको बाबु बताउँछन् ।
“बेलुका आएर फोन गरेँ, स्विच अफमात्रै भन्छ । साथीको घर गएकी आउली नि भनेर दुईतीन दिन बाटो हेरेँ, आइन,” तुलामानको भनाइ छ ।
एकैपटक १५ गते साँझतिर फोन आयो, त्यो पनि धादिङको उनकै गाउँपालिकाबाट ।
“गाउँकै आफन्तले फोन गरेका थिए,” उनी भन्छन्, “फोन गरेर लक्ष्मी तपाईंकी छोरी होइन ? खै राम्रो कुरा छैन । चौकीमा लगेको छ रे ! घटना घटेजस्तो छ ।”
उनी सोही दिन साँझ महानगरीय वृत्त महाराजगञ्ज गए । त्यहाँ उनलाई प्रहरीले छोरीको शव देखाए, त्यो पनि अनुहारमात्रै । उनले चिनिहाले ।
शव गेष्ट हाउसबाट बरामद
गेष्ट हाउसको भनाइअनुसार भदौ ७ गते साँझपख एकजना केटा र केटी गेष्ट हाउसमा कोठा खोज्दै आएका थिए । श्रीमान्–श्रीमती बताएका उनीहरूले गेष्ट हाउसको खातामा युवकको नाम अनिल परियार र युवतीको नाम लक्ष्मी परियार टिपाएका थिए । उनीहरू ४ दिनसम्म त्यही होटलको कोठा नम्बर १०१ मा बसे । त्यस्तो अस्वभाविक गतिविधि केही देखिएन ।
एक्कासि भदौ ११ गते साँझपख युवक कोठाबाट झरे । गेष्ट हाउस सञ्चालकका अनुसार उनी केही आत्तिएका थिए र श्रीमती बिरामी भएको अनि अस्पताल पुर्याउनुपर्ने भएकाले यताउता खोजेझैँ गरेका थिए ।
कोठाको साँचो युवकले नै लगेकाले गेष्ट हाउस सञ्चालकले धेरै सोधीखोजी गरेनन् । बेलुका तिनै युवकले फोन गरेर बिरामीलाई अस्पतालले भर्ना लिएको र आफू होटलमा आउन नसक्ने भन्दै कोठा नखोल्न भने ।
गेष्टहाउस सञ्चालकले प्रहरीलाई दिएको बयानअनुसार युवकले १४ गतेसम्म नै फोन गरेर आफू आउने जानकारी दिएका थिए ।
तर, १५ गतेदेखि युवक सम्पर्कमा आउन छाडे । यता कोठाबाट दुर्गन्ध बाहिरिन थाल्यो । तत्कालै गेष्ट हाउस सञ्चालकले महाराजगञ्ज प्रहरीलाई खबर गरे र प्रहरीले लक्ष्मीको शव बरामद गर्यो ।
पोष्टमार्टम रिपोर्टमै गडबडी
मृतकका बाबु तुलामानका अनुसार प्रहरीले उनलाई १६ गते शवको पोष्टमार्टम गर्न अह्राएको थियो । उनले प्रहरीले भनेबमोजिम नै शिक्षण अस्पताल महाराजगञ्जमा शवको पोष्टमार्टम गराए पनि ।
तर, रिपोर्ट चित्तबुझ्दो नआएको उनको भनाइ छ ।
“होटलमा श्रीमान्–श्रीमती भनेर बसेपछि युवकले छोरीलाई बलात्कार गरेको हाम्रो आशंका छ । तर, चिकित्सकले ‘विष सेवनबाट मृत्यु भएको’ भन्ने आशंका छ भन्छ । विस्तृत रिपोर्ट आउन दश दिन लाग्छ भनेको छ,” बाबु तुलामान भन्छन् ।
“शव गलिसकेकाले पोष्टमार्टम रिपोर्ट राम्रो नआउने चिकित्सकले बताएकाले छोरीको हत्यारा पत्ता लाग्ने सम्भावना घटेर गयो,” उनी चिन्ता व्यक्त गर्छन् । उनका परिवार शव पोष्टमार्टम गर्न लैजाँदा घाटीमा नीलडाम प्रष्ट देखिएकाले बलात्कारपछि हत्या गरिएको हो भन्ने प्रशस्त आधार भएको दाबी गर्छन् ।
घटनाको नाटकीय मेल
गेष्ट हाउसका अनुसार अनिल परियार र लक्ष्मी नेपाली उक्त गेष्ट हाउसमा श्रीमान–श्रीमती भन्दै पटकपटक बस्दै आएका थिए । केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका युवकले मलेसियामै रहँदा नै लक्ष्मीसँग कुराकानी गरिरहन्थे ।
त्यस्तै बोहोराटारस्थित कोठामा रहेको लक्ष्मीले लगाउने पोसाकको खल्तीमा अनिल परियारको जन्मदर्तासमेत परिवारले फेला पारेको छ । यसबाट उनीहरूबीच प्रेमसम्बन्ध रहेको र विवाहको विषयमा कुरा नमिलेकाले बलात्कारपछि हत्या गरेको आशंका परिवारले गरेको छ ।
गृहमन्त्रीको निरीहता
यसबीचमा मृतकका बाबु तुलामानले गृहमन्त्री रामबहादुर थापा बादललाई क्वार्टरमै गएर भेटेका थिए । गृहमन्त्रीले तत्काल प्रहरीलाई निर्देशन दिएर हत्यारा पक्राउ गरिछाड्ने निर्देशनसमेत दिएका थिए ।
त्यसबाहेक उनले १६ गते अनिल परियारकै नाममा प्रहरीमा किटानी जाहेरीसमेत दिएका छन् । तर, दशदिन बित्दासमेत प्रहरीले तदारूकता नदेखाएको ‘अनुसन्धान हुँदैछ’ भन्ने वचनमात्रै दिएकाले न्यायका निम्ति गुहार माग्नु परेको तुलामान बताउँछन् ।
“११ गतेदेखि फरार भएको अभियुक्त १४ गतेसम्म सम्पर्कमा छ । उसको लोकेशनसमेत प्रहरीलाई थाहा छ । पत्ता लगाउन पनि सक्छ । मृतकको मोबाइल पनि उसकै साथमा छ । तर, प्रहरीले कुनै चासो देखाएको छैन, न्याय खोज्न कहाँ जाउँ ?,” उनी बिलौना गर्छन् ।
के भन्छ प्रहरी ?
लक्ष्मी नेपाली हत्याकाण्डमा प्रहरीले तदारूकताका साथ अनुसन्धान गरिरहेको र अपराधीको तलास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँ एसएसपी वसन्त लामा बताउँछन् ।
“भारत पसेको आशंका गरेका छौँ । अपराधीको पहिचान भइसकेको छ,” लामा भन्छन् । उनले श्रीमान–श्रीमती भनेर पटकपटक सोही होटलमा बस्दै आएकाले उनीहरुबीच खटपट भएर हत्या गरेको हुनसक्ने प्रारम्भीक आकलन प्रहरीले गरेको बताए ।