site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रामथान उपनिर्वाचन : कांग्रेस पृष्ठभूमिका प्रमुख दलका तीन उमेदवारबीचको भिडन्त
Tiktok banner adTiktok banner ad

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका ग्रामीण बस्तीहरू पछिल्लो समय चुनावी माहोलले तातेका छन् । उमेदवारहरू मतदातालाई भेट्न खेत खलियानसम्म पुगिरहेका छन् । कतिपय उमेदवार धान काट्ने चटारोमा रहेका किसानलाई सघाउन कार्यकर्तासहित धान काट्न र थन्क्याउन सक्रिय बनेका छन् ।

उपनिर्वाचनमा प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उमेदवारबीच नै प्रतिस्पर्धा हुने अड्कल भइरहेको छ । रोचक के छ भने तीनवटै प्रमुख दलबाट पालिका अध्यक्षमा उठेका उमेदवार कांग्रेस पृष्ठभूमिका हुन् । वैचारिकरूपमा फरक दलको प्रतिस्पर्धा भए पनि राजनीतिक विश्लेषकहरूले यस चुनावलाई कांग्रेसकै उमेदवारबीचको प्रतिस्पर्धाका रूपमा अर्थ्यारहेका छन् ।

ग्रामथानका पुराना कांग्रेस नेता टीका खतिवडा तीनै उमेदवारले कांग्रेसबाट राजनीति सिकेको बताए । “कांग्रेससहित एमाले र माओवादीका दुई उमेदवार पनि कांग्रेसबाट राजनीति सुरु गरी पार्टीको विभिन्न तहतप्कामा बसेर काम गरिसक्नुभएको हो । पार्टी फरक भए पनि सबै हामीलाई त आफ्नै साथीभाइ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ जस्तो लागि रहेको छ ।”

NC-Umedwar-Gramthan-1732468453.jpg
ग्रामथानमा कांग्रेसले बलराम सरदार, एमालेले तुलसीराम विश्वास र माओवादीले नमोनारायण माझीलाई उमेदवार बनाएका छन् । एमालेमा भने एकजना बागी उमेदवार छन् ।

विश्वास र माझी विगतमा कांग्रेसबाट स्थानीयरूपमा राजनीति गरेका नेता हुन् । दुवैले कांग्रेस छाडेर फरक पार्टीबाट राजनीति थाले । माझीले भने केहीअघि मात्र पार्टी परित्याग गरी माओवादी केन्द्र रोजेका हुन् । उनी यसअघि ग्रामथान वडा नम्बर १ मा कांग्रेसबाट विजयी वडाध्यक्ष हुन् । वैदेशिक रोजगारीबाट फर्किएर उनी २०७४ को स्थानी चुनावमा उमेदवार बनेका थिए ।

“मैले विगत एक कार्यकाल स्थानीय तहमा बसेर जनसेवा गरेको छु । यो पटक जनताले पालिका प्रमुखकै रूपमा निर्वाचित गराउनुहुन्छ भन्ने विश्वास छ,” उनले भने ।

एमाले प्रवेश गरेका माझीले विगतको पृष्ठभूमिका कारण त्यो जनमत र विश्वाससमेत आफूले प्राप्त गर्ने बताउँछन् ।

बलराम सरदार ग्रामथानका पुराना कांग्रेस नेता हुन् । कांग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र विराटनगरका पूर्वमेयर तथा पार्टीका मोरङ सभापति स्वर्गीय अशोक कोइरालासँग समेत उनी लामो समयदेखि पार्टीमा सक्रिय थिए । पार्टीमा निरन्तरको सक्रियता र लगावका कारण पालिकामा अवसर प्राप्त गरेको उनी बताउँछन् ।

“मलाई पुराना कांग्रेस र अहिलेका युवापुस्ताको राम्रो समर्थन छ,” उनको दाबी छ ।

ग्रामथानको राजनीतिमा आफू लामो समयदेखि सक्रिय रहेकाले त्यहाँको सबै परिस्थितिसँग आफू परिचित रहेको उनले सुनाए ।

UML-Gramthan-1732468454.jpg
ग्रामथान तेतरियाका राजेन्द्र चौधरी दुई दलका उमेदवार पनि कांग्रेस पृष्ठभूमिकै भएको कारण कतिपयले कांग्रेसको मत विभाजन हुन सक्ने बताए पनि परिणाममा झिनो अन्तर पर्ने विश्लेषण गर्छन् । उनी भन्छन्, “विगतदेखि नै कांग्रेसको पकड राम्रो भएको ठाउँ भएकाले पनि के होला भन्ने अहिल्यै अवस्था देखिँदैन ।”

गत स्थानीय तहको निर्वाचनमा एमालेले प्राप्त गरेको मतभन्दा झन्डै १५ सय बढी मत कांग्रेस उमेदवारको थियो । माओवादी केन्द्र तेस्रो नम्बरमा थियो ।

मंसिर १६ गते उपनिर्वाचनका लागि ग्रामथानमा १५ वटा राजनीतिक दलका उमेदवार चुनावी मैदानमा छन् ।

कस्तो छ विगतको अंकगणित ?

०७९ सालमा सम्पन्न निर्वाचनमा ग्रामथान अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारू सातहजार ६०५ मत ल्याएर विजयी भएका थिए । एमालेका शिवनारायण माझी थारूले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले दुईहजार ७२७ मत प्राप्त गरेका थिए । अध्यक्ष थारूको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

MB-Gramthan-1732468453.jpg
पालिकाको सात वडामध्ये एमालेले पाँच, कांग्रेस र माओवादी केन्द्रले एक–एक वडामा जितेका छन् । वडाध्यक्षको मत जोड्दा पालिकामा कांग्रेसको पाँचहजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको दुई हजार ६६५ मत आएको थियो ।

०७४ मा पालिका अध्यक्ष एमालेले जितेको थियो । ०७४ मा एमालेका शिवनारायण माझी थारूले चार हजार ७२०, मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का जयप्रकाश गच्छदार थारूले चार हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारूले तीनहजार १४३ मत प्राप्त गरेका थिए । माओवादीका रमेशकुमार भगतले भने एक हजार ६०२ मत मात्रै ल्याएका थिए ।

निर्वाचन आयोगले गरेको अद्यावधिक नयाँ विवरणअनुसा ग्रामथानमा हाल २७ हजार ४३९ जना मतदाता छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro