काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु (ब्रेन डेथ)पछि मानव अंगदान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । मन्त्री पौडेलले यसअघि दिइँदै आएको एकलाख रुपैयाँमा वृद्धि गरी दुई लाख पुर्याउने निर्णय गरेका हुन् ।
मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । त्यसबापतको रकम मन्त्रालयको आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्ने छ ।
आफ्नो मृत्युपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न रकममा वृद्धि गर्ने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।
सामयकि मृत्यु वा ब्रेन डेथ भएका व्यक्तिबाट आँखाको नानी, मिर्गौला, फोक्सो, मुटु कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । हाल नेपालमा नानी, मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने सेवा उपलब्ध छ ।
हाललाई मिर्गौला र कलेजो दान गर्ने व्यक्तिका परिवारलाई सो रकम उपलब्ध गराइने छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहित वीर र त्रिवि शिक्षण अस्पतालले यो सेवा दिँदै आएका छन् ।
हाललाई प्रत्यारोपण सेवा उपलब्ध भएका सरकारी अस्पतालबाट अंगदान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
कस्तो अवस्था हो ब्रेन डेथ ?
मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले मस्तिष्क मृत्युको अवस्था र यसलाई प्रमाणित गर्ने विज्ञ टोलीबारे प्रस्ट व्याख्या गरेको छ । टाउकोमा हुने कुनै पनि गम्भीर चोटका कारण मस्तिष्क मृत्यु भएको अवस्था ब्रेन डेथ हो । यो दुर्घटना वा मस्तिष्कघातका कारण पनि हुन सक्छ ।
यो अवस्थामा व्यक्तिले श्वास लिन सक्दैन । यस्तो अवस्थालाई चिकित्सा विज्ञानले मृतकै रूपमा परिभाषित गरेको छ । यद्यपि, उनीहरूमा रत्तचाप, धड्कनजस्ता लक्षणहरू भने महसुस गर्न सकिन्छ ।
ब्रेन डेथ भएका व्यक्तिलाई भेन्टिलेटरको सहायतामा केही दिनसम्म राख्न सकिने भए पनि उनीहरू फेरि जीवनमा फर्किन भने नसक्ने कन्सल्टेन्ट न्युरोसर्जन डा. राजीव झा बताउँछन् ।
तर, अन्य अंग भने काम गर्न सक्ने अवस्थामा हुन्छन् । नेपालमा ब्रेन डेथ हुने अधिकांश कारणहरूमा सवारी दुर्घटनाबाट टाउकोमा हुने गम्भीर चोट नै देखिएको छ ।
यसरी विविध कारणले मासिक ३० देखि ४० जनाको ब्रेन डेथ हुने गरेको डा. झा बताउँछन् । ब्रेन डेथ भएका एकजना व्यक्तिबाट आठ जनाले पुनर्जीवन पाउन सक्छन् ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार, ब्रेन डेथ भएका व्यक्तिबाट मिर्गौला, फोक्सो, मुटु कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ ।
नेपालमा अहिले अभ्यास भएअनुसार, दुईवटा मिर्गौला र एउटा कलेजोको हिसाबले नेपालमा अहिले एकजना ब्रेन डेथ भएको व्यक्तिको अंगबाट तीन जनाले पुनर्जीवन पाउन सक्ने अवस्था छ ।
ब्रेन डेथपछि कसरी गर्ने अंगदान ?
मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐनले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट पनि अंग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरेको छ । ऐनको नियमावली, २०७३ ले मस्तिष्क मृत्युको घोषणापछि विशेषज्ञ चिकित्सक, प्रहरी अधिकृतलगायतको जाँचबुझ समितिले मृतकको पोस्टमार्टमपूर्व अंग झिक्न स्वीकृति दिन सक्ने व्यवस्था छ ।
यसमा मृतकको तर्फबाट दिइने दुईवटा तरिकाले अंगदान गर्न सक्छन्– व्यक्तिले जीवन रहँदै स्वेच्छाले गरेको अंगदान र मृतकले अगाडि नै अंगदान गरेको नभए पनि परिवारका सदस्यले दिएको मन्जुरीका आधारमा गरिने अंगदान ।
यसरी दिइने मन्जुरी लिखित र विवरणसहितको हुन्छ, जुन स्वास्थ्य संस्था र मृतकका परिवार दुवै पक्षले राख्ने छन् ।
कुन अंग कति समयपछि प्रत्यारोपण गर्न मिल्छ ?
डा. श्रेष्ठका अनुसार, ब्रेन डेथ भएका व्यक्तिबाट निकालिएका अंगहरूमा मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याङ्क्रियाज १२ घण्टाभित्र, मुटु र फोक्सो चार घण्टासम्म आइसप्याकमा राखेर प्रत्यारोपण गर्न सकिन्छ ।
नेपालमा हाल मिर्गौला प्रत्यारोपण गर्नेको संख्या सबैभन्दा धेरै छ । केन्द्रबाट मिर्गौला प्रत्यारोपणका लागि दाता १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने भने दुइवटै मिर्गौलामा कुनै पनि प्रकारको रोग देखिन हुँदैन ।
उच्च रक्तचाप र मधुमेहका बिरामीले मिर्गौला दान गर्न मिल्दैन । 'ओ' रक्त समूह भएका व्यक्तिलाई सोही समूहका व्यक्तिले मिर्गौला दिन सक्छन् भने 'ओ' रक्त समूह भएकाले भने सबैलाई दिन सक्छन् ।
'ए', 'बी' र 'एबी' रक्त समूह भएका व्यक्तिले सोही समूह भित्रकालाई मात्रै मिर्गौला दान गर्न सक्छन् । यसबाहेक रक्तसमूह नमिलेमा पनि मिर्गौला दिन भने मिल्छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ब्रेन डेथ भएका व्यक्तिबाट अंगदान गर्न चाहेमा तत्काल विशेषज्ञ टोली घटनास्थलमा पुगी अंग संकलन गर्ने अभ्यास गरिरहेको छ ।
नेपालको कुल जनसंख्याको १० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या भएको तथ्यांक छ । मिर्गौलामा समस्या देखिएकामध्ये पनि तीन हजार बिरामी प्रत्यारोपण नै गर्नुपर्ने अवस्थाका छन् । केन्द्रबाट वार्षिक २०० जनाको मिर्गौला र २० जनाको कलेजो प्रत्यारोपण हुँदै आएको छ ।
ब्रेन डेथ भएका व्यक्तिबाट मिर्गौलामात्रै प्रत्यारोपण गर्न सके पर्खाइमा रहेका बिरामीलाई अकालबाट बचाउन सकिने डा. श्रेष्ठ बताउँछन् ।