“कति दिक्क मान्छेस्.... खोले खाने भाग्य लिएर जन्मिएपछि भात सम्झिएर हुन्छ... !,”
अझै सम्झना छ, आमाले खोले खान दिगमिग मान्दा गाली गरेको । तर मलाई के थाहा– सिस्नो–फाँडो–खोले नै अमृत हो ।
पेटभरी भात खाने खुसी खोज्दा नर्ककुण्ड पुगेँ । अमानुषिक ताडनाको पोल्टामा परेँ । बत्तीको पुतलीझैँ झन्डै युद्धको मोहोरीमा परेँ ।
चलचित्रको सम्वादझैँ लाग्नै सिन्धुपाल्चोक बाह्रबिसेकी कान्छीमाया तामाङले यी वाक्यहरू सुनाइरहँदा अनुहारको कान्ति निभेको थियो । आँखाका छेउकुना रसाएका थिए ।
आठ वर्षअघि–
कोपिलाझैँ फक्रँदै थिए– सपना ।
बाबु बाथको दीर्घरोगी । आमा डाँडामाथिको घामजस्तै । गरिबीले कोपर्दा–कोपर्दा जीर्ण तुल्याएको थियो उनलाई । सन्तानको रेखदेख र लालनपालनले जिन्दगी बन्धक बनाएको थियो । सारा खुसी धितो राख्दा पनि परिवार नउकासिँदा बडो प्रताडित थिइन् आमा ।
तीन छोरीको बिहे भइहाल्यो । बाँकी रहेकी उनै थिइन्– कान्छीमाया । रोलक्रमले उनी साइँली हुन् तर आमाबाबु, दिदीहरूको लाडप्यार पाइन् र ‘कान्छी’को उपमा पाइन् ।
भर्खरै आठ कक्षाको जाँच दिएकी थिइन् । कक्षा ९ को खुट्किलो उक्लने तय हुँदै थियो ।
एकाबिहानै आमाले दुईवटा बाटा देखाइन् । पहिलो, सहरमा गएर कमाउने र दोस्रो दिदीहरूझैँ बिहे गरेर आफ्नो घरजम गर्ने ।
उनलाई दुवै शर्त मञ्जुर थिएनन् । उनलाई त आमाले नदेखाएको तेस्रो बाटो हिँड्ने रहर थियो– कक्षा नौको सिँडी । र, त्यही बाटो पुग्नुथियो– जिन्दगीको सुदूर गन्तव्य ।
तर, नियति निर्मम भइदियो ।
कुम्लो–कुटुरो च्यापेर उनी सहरतिर हानिनुपर्ने भयो ।
पढ्ने रहरलाई भोटेकोसीमा बगाएर उनी १४ वर्षको कलकलाउँदो उमेरमा सहर हान्निइन् र काठमाडौँको जोरपाटीमा आएर गलैँचा बुन्न थालिन् । तिनताक जोरपाटी गलैँचाको राजधानी थियो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेलगायत ग्राम्य क्षेत्रका बालख–किशोरीहरू गलैँचा बुन्थे र घर धान्थे ।
उनको नित्यनिरत पनि त्यही भयो ।
जिन्दगी भन्नु त्यही गलैँचाको तान थियो । यस्तो लाग्थ्यो– सूर्य पनि त्यही गलैँचाको तानबाट उदाउँछ र गलैँचाकै तानमा अस्ताउँछ ।
सहरको रमझम, झिलिमिली सबै त्यही गलैँचाको तान थियो । बिहान उदयाचलदेखि गलैँचाको तानमा धागो भर, हथौडाले सम्याउ, वान्किला बुट्टा कुँद । मिटरको हिसाब गरेर पैसा बुझ । अबेर रातिसम्म त्यही गलैँचासँग पौठेजोरी खेल । मानौं न, जिन्दगीको मूर्त परिभाषा नै यही हो ।
तर, यही परिभाषको चौघेराभित्रमात्रै अल्झिइरहन मन लागेन उनलाई । जीवनमा अनगिन्ती सपना थिए– जसको रसस्वादन गलैँचा बुनाइबाटमात्रै सम्भव थिएन ।
मन–मथिङ्गलमा अनेकानेक सपना थिए । तिनले रातविरात सताउन थाले । भररात ऐँठन दिन थाले ।
तिनताक विदेश जाने लहरै थियो । दसैँमा घर गइन् र त्यही मेसोमा राहदानी बनाइन् । राहदानी समातेको दिन, जीवनकै तन्नेरी समय थियो । क्षितिजमा चम्किरहेको घाम हेर्दैै उनले कल्पनाको उडान भरेकी थिइन्, “अब त म पनि विदेश जान्छु र परिवारको दुख्ख दूर गर्छु । बाको बाथ निको बनाउँछु र अनुहारमा हाँसो जगाउँछु ।”
फर्किएर काठमाडौँ आइन् । विदेश जाने सपनाले झन् ठूलो ताडना दिन थाल्यो ।
गाउँको नोर्बु तामाङ चिनिएका एजेन्ट थिए । उनले थुप्रै चेलीहरूलाई भारतको बाटो हुँदै किर्गिस्तान पुर्याएको हल्ला गाउँमा व्याप्त थियो । मध्य–एसियामा अवस्थित किर्गिस्तान रोजगारीका लागि योग्य हो कि होइन ? सरकारले श्रम इजाजत दिएको छ कि छैन, सुरक्षित र भरपर्दो गन्तव्य हो कि होइन, किर्गिस्तान भनेर मध्यस्थकर्ताले अन्तै पुर्याउने पो हुन् कि ? यस्ता प्रश्न निकै गौण बनेका थिए ।
रोजगारीको खोजीमा विदेश जाने । बस् यति सोचे, बुझे भइहाल्यो । मानौँ, त्योभन्दा बढी जान्ने–बुझ्ने फुर्सद नै कसलाई छ र ? “दलालले नेपाली चेलीहरूलाई विदेशी भूमिमा अलपत्र पारेको, घरको न घाटको तुल्याएको, अमानवीय यातना भोग्न बाध्य बनाएको, पशु–पन्छी सहर किनबेचको साधन बनाएको आदि–इत्यादि समाचार आइरहेकै थिए, आफूले पनि त्यस्तै भोग्नुपर्ला भनेर कहाँ सोचियो र ?,” उनी अहिले थकथकी मान्छिन् र भन्छिन्, “गावैँका दाइले त्यसो गर्लान् भनेर अपराध चिताउनु कसरी ?”
कान्छीको परिवार पनि एजेन्ट नोर्बुको सम्पर्कमा पुगिहाल्यो र पासपोर्ट बुझायो ।
“कान्छीलाई राम्रो देश पठाउँछु, सुर्ता गर्नुपर्दैन, पैसा पनि लाग्दैन !” एजेन्टले पनि फकाइहाले ।
गरिबीको आहालमा घाँटीसम्म जाकिएको परिवार, एक पैसा नलाग्ने, अझ बाटोखर्चसमेत एजेन्टले नै बेहोर्ने भनेपछि परिवारको कान ठाडो भइहाल्यो र विदेश पठाउन राजी भयो ।
०७२ को भूकम्पले आहत थियो परिवार । भुइँचालोले थिल्थिल्याएको घर तङ्ग्रिएको थिएन । बाथले कुँजिएका बाबु पनि बौरिने छाँट थिएन । २०७४ फागुन १४ गतेको चिसो बिहान उनी किर्गिस्तानतर्फ प्रस्थान गरिन् ।
श्रम स्वीकृति नपाएको देश । नेपालबाट भिसा लागेर त्यहाँ पुग्ने सम्भावना नै थिएन । “भारतबाट भिसा लगाउनुपर्छ,” एजेन्टले भनेका थिए । सोझी उनले पत्याइन् र एजेन्टले जेजे भन्थे, पत्याउँदै गइन् ।
“गरिबीले किलकिले अँठ्याइरहेको थियो, नपत्याउँ कसरी ?,” अहिले पनि विस्मय मान्छिन् ।
भैरहवा नाका हुँदै भारतसम्म पुगेको उनलाई थाहा छ ।
दिल्लीको होटलमा पाँच दिन राखे । त्यहाँ पुगेपछि थाहा भयो, किर्गिस्तान जान हिँडेका उनीजस्तै पाँच जना महिला रहेछन् । सबैका अनुहारमा कौतूहल मडारिइरहे पनि कोही आपसमा बोल्दैनथे । एजेन्टले नबोल्नु भनेको हुँदो हो, शायद ।
पाँचौँ दिनको साँझपख उनीहरू जहाज चढे । फारम भर्नेदेखि भिसा लगाउने प्रक्रिया सबै एजेन्टले गरे । उनीहरूको काम खानेबस्नेमात्रै भयो ।
“त्यतिबेलासम्म त नोर्बु दाइ भगवान् पो लाग्थ्यो । मेरो दुःख देखेर उहाँको हृदय पग्लिएझैँ लाग्थ्यो,” उनी अहिले सम्झिन्छिन् । जब जहाजले भुइँ छाड्यो । उनी हावामा कावा खान थालिन् । सपनाले पनि जमिन छाड्यो र दुःखका दिन सकिएझैँ लाग्यो ।
जहाज कतार हुँदै मध्यपूर्वतर्फ मोडियो र अवतरण भयो । सबैतिर अरबी अक्षरमात्र लेखिएका छन् । उनी चित खाइन् । अरबी अक्षरको ‘क’जस्तो वर्ण देखिन् भने आह्लादित हुन्थिन र सोच्थिन्, “किर्गिस्तान आइपुगेँ, अब त दुःख पनि कुलेलम ठोकिसक्यो होला !”
विमानस्थलमा धेरै कुर्नुपरेन । त्यस्तै आधा घन्टामा कान्छीकै फोटो बोकेर अरबी युवक आइपुग्यो र उनलाई लिएर गयो । कार्यालयजस्तो घरमा पुर्यायो । त्यहाँ उनीजस्तै अरू नेपाली महिलाहरू पनि थिए ।
उनी छाँगाबाट खसेजस्ती भइन् । ती दिदीबहिनीहरू आँखाभरि आँसु लिएर घर फर्काइदिन अनुनयविनय गर्दै थिए । कसैका अनुहारमा नीलडाम हुँदाहुन् । तर उनले खासै वास्ता गरिनन् ।
तीमध्ये एउटी महिला त बाझ्दै थिइन्, “यस्तो नर्कमा ल्याउने ? छिटो घर पठाइदेऊ !”
रुँदारुँदै थाकेका आँखा एकदम सुन्निएका थिए । ओठ उस्तै कालो, कलेटी परेको थियो ।
ती महिला कान्छीतिर फर्किइन् भन्न थालिन्, “किन आएका होलान् यिनीहरू ? हामीलाई त यहाँबाट कहिले फर्कनुजस्तो भएको छ !”
भर्खर आएको छु, पैसा कमाउने सपना बोकेर । उनी फर्किइहाल् भन्छिन् । कान्छीले केही बुझ्न सकिनन् ।
कान्छीलाई बुझ्न मन लागेको थियो– किर्गिस्तानको कुन ठाउँमा छु ! तर थाहा पाउन सकिनन् । ती महिलाले पनि केही भनिनन् ।
त्यस्तै चार–पाँच दिन राखे होलान् त्यहाँ । एउटा साँघुरो कोठामा बिहान बेलुका मोटामोटा चामलको भात ल्याएर दिन्थे । अरबको उष्ण दाल, स्वाद न ब्यादको । दिगमिग मान्दै खान्थिन् उनी ।
बेलाबखत अरबी केटाहरू आउँथे र एकएक गर्दै बोलाउँथे ।
उनीहरू नेपाली युवती–महिलाहरूलाई बाख्रा–खसी छानेझैँ छान्थे । आकर्षक जीउडालका, बलिष्ठ हातपाखुरा भएका देखे भने लैजान राजी हुन्थे । देखेनन् भने नाक खुम्च्याउँदै फर्कन्थे ।
आठौँ दिनको दिन उनी छानिइन् । एउटा अरबी केटो आएर लिएर गयो उनलाई ।
त्यस्तै एक घन्टामा उनलाई तीन तल्ले घरमा पुर्यायो । घर एकदम निर्जन, निःशङ्ख थियो ।
पाँच जनाको परिवार । ल्याउने युवकचाहिँ त्यो घरको ड्राइभर रहेछ ।
घरमा पुर्याउनेबित्तिकै मालिकले पासपोर्ट नियन्त्रणमा लिइहाले । “यो हामी नै राख्छौँ, तँ घरको काम गर्,” अरबी भाषामा आधा अंग्रेजी मिसाएर बोल्यो, मालिकले ।
पाँच–सात दिन त राम्रैसँग बित्यो । छैटौँ दिनदेखि उनको दुर्दिन शुरू भयो । बिहान जुरुक्क उठेर घरधन्दा शुरू गर्नुपर्ने । दिउँसो ३ बजेसम्म जीउ ठाडो पार्न नपाइने ।
तीन बजेतिर गाँस च्याप्यो र अर्कै ठाउँमा काम गर्न गयो । फर्कंदा रातको बाह्र बजिसकेको हुन्थ्यो । घरमा दलाएर नपुगेर अफिसमा समेत काम गर्न लैजान्थे, मालिक ।
दुःखको छिनोमा कुँदिएको ज्यान, यतिको दुःख सहनु पनि हुन्थ्यो । क्रमशः यातना पनि बढ्न थाल्यो । एउटा सानो बालख थियो, अत्यन्त झगडालू । फगत रोइमात्रै रहन्थ्यो ।
घर–मालिकले चाहिँ त्यो बालख रोएको सुन्न नहुने । बाघले झैँ झम्टन्थे र चुल्ठो बटार्न आइहाल्थे ।
घरको दुःखबाट आहत भएर दुई महिनासम्म त जसोतसो सहिन् । तेस्रो महिना लागेपछि उनले घर फर्काइदिन याचना गर्न थालिन् ।
त्यसपछि पो रहस्य पर्दाफास भयो– उनी बेचिएकी पो रहिछन् । आठ हजार पाँच सय डलरमा ।
“तँलाई हामीले आठ हजार पाँच सय डलरमा किनेका हौँ, त्यो पैसा फिर्ता गर अनिमात्रै घर जान पाउँछेस् !” चिसो भयो उनको मुटु । भुइँमा हत्केला बजार्न थालिन् । निरूपाय भएर रुन थालिन् । शुरूशुरूमा फेसबुकमार्फत् आफन्तलाई भनेर पैसाको जुगाड गर्न नखोजेकी पनि होइनन् तर तेत्रो पैसा कहाँबाट पाउनु !
त्यहीबेला थाहा भयो– उनी त इराकमा पो रहिछन् ।
इराक भन्नेबित्तिकै उनको शरीरमा काँडा उम्रियो । ०६१ साल भदौ १५ गतेको घटना आँखा अगाडि झल्झली आयो । १२ जना नेपाली मारिएको समाचार उनले घुर्मैलो सुनेकी थिइन् ।
नेपालबाट जाँदा मोबाइल पनि लगेकी थिइन् । सिम नपाए पनि घरका जहान–परिवारले वाइफाइ चलाउन दिएका थिए ।
त्यसैको सहायताले नेपालमा सम्पर्क गर्न थालिन् । सहयोगको याचना गरिन् । नेपालबाट प्रकाशन हुने अनलाइन पत्रिकामा उनको फोटोसहितको समाचार छापियो । त्यो कुरा एजेन्टले थाहा पाइहाले ।
एउटी नेपाली महिला इराकमै रहेर एजेन्टको काम गर्थिन् । उनैलाई लगाएर एजेन्टले धम्की दिनमात्रै लगाएनन्, परिवारलाई मोबाइल जफत गर्नसमेत लगाए । परिवारले धम्क्यायो पनि, “आइन्दा मोबाइल चलाइस् र घरमा खबर पठाइस् भने यहीँ गोली हानेर मार्दिन्छु ।”
“त्यस्तो धम्की त दिनहुँ सामना गर्नुपथ्र्यो, यत्रो कष्ट सहनुभन्दा मार्दिए पनि हुन्थ्योजस्तो लाग्थ्यो कहिलेकाहीँ,” इराकको पीडा सुनाउँछिन् उनी ।
मासिक पाँच सय डलर दिने लोभ देखाइएको थियो तर उनले मासिक ३ सय डलर पाइन् । त्यो पनि ६ महिनामात्र ।
छोरी इराक पुगेर बन्धक बनेको । यातना सहन नसकेर घर फर्काइदिन गुहार मागेको खबर सुनेपछि बाबुको रोग झन् बढ्यो । शरीरले व्यथा थेग्न नसकेपछि उनको चोला उठ्यो ।
बाबु बितेको खबर मुस्किलले थाहा पाइन् । घरमालिकले मोबाइल लुकाएको ठाउँ देखेकी थिइन् र लुकिछिपी मोबाइल चलाउँथिन् । त्यही क्रममा बाबु बितेको खबर थाहा पाएकी हुन् उनले । फेसबुकको इनबक्समा खबर छाडेको पाँच दिन भइसकेको रहेछ ।
“मर्नेबेलामा बाबुको मुखसमेत हेर्न पाइनँ,” बडो पश्चाताप भयो उनलाई ।
त्यसपछि उनलाई एकमिनेट पनि बस्न मन लागेन ।
अमानुषिक यातना र कुटपीट सहेर मर्नुभन्दा गाउँ फर्कनु निको ठानेर उनले फर्कने अनेक यत्न गर्न थालिन् । जतिपटक यत्न गर्थिन् उतिपटक दलालले थाहा पाउँथे र उल्टो यातना सहनुपथ्र्यो ।
१३ महिनापछि यो क्रमले विश्राम पायो । बाबु बितेपछि घरमालिकले बेलाबेला मोबाइल चलाउन दिएका थिए । तर फेसबुकको पासवर्ड उनैले राखेका थिए । घरमालिक नभएको मौका पारेर उनले पासपोर्ट र कागजात दराजबाट सुटुक्क झिकिन् र गोप्य ठाउँमा राखिन् ।
त्यतिञ्जेल यता उद्धारका लागि नेपालबाट पहल शुरू भइसकेको थियो । वर्क फर नेपाल, गैर सरकारी संस्थाको सम्पर्कसूत्रबाट उनको उद्धारको थालनी भइसकेको थियो ।
०७४ को चैतको अन्तिम साता उनको उद्धारको समय बन्यो । वैशाख १ गतेको झुल्के घामसँगै उनी नेपाल आइन् ।
‘नर्ककुण्ड’बाट उम्कन उनले सानो यत्न गर्न परेन । उता नेपाल फर्काइने सम्पूर्ण तयारी पूरा भइसकेको छ, उता घरमालिकले बाहिर निस्कनै दिँदैन ।
संयोग नै मान्नुपर्छ, इराकको सरकारी कार्यालयमा नोकरी गर्ने ती घरमालिक बिदा सदुपयोग गर्न बेलायत जाने तयारी गर्दै थिए । पत्नी केही समयअघि नै बेलायत गइसकेकी थिइन् भने पतिचाहिँ दुई–चारदिन पछि गए ।
घर आफन्तको जिम्मा लगाएका थिए । आफन्त मालिकभन्दा कडा थिए । बाहिरफेर हेर्नसमेत दिँदैनथे । काममा यन्त्रवत् घोटिनुपथ्र्यो । उनले बिरामी भएको अभिनय गरिन् र घर कुर्न आएका पाहुनालाई औषधि किन्न पठाइन् । त्यही मौकामा बुर्काजस्तो कपडाले टाउको छोपेर उनी त्यहाँबाट सुइँकुच्चा ठोकिन् ।
घरको कम्पाउन्ड वरिवरि सीसीटीभी राखिएको थियो । त्यसको पर्वाह नगरी उनी निस्किइन् र मूल सडकमा आइन् । १३ महिनाको अवधिमा एकपटक पनि बाहिर ननिस्किएकी उनलाई इराकको सडकबारे केही थाहा थिएन । इराकको राजधानी बग्दाद नजिकै भएकाले उनको उद्धारका लागि आएका ड्राइभरले चिनिहाले र विमानस्थल पुर्याए ।
घर छाडेर भाग्दा पासपोर्ट पानीले पूरै गलेको थियो । तर, उद्धारकर्ताले पहिल्यै कागजात तयार पारिसकेकाले नेपाल फर्कन बाधा पुगेन । सग्लै र सहजै नेपाल फर्किइन् उनी ।
“म त कुन भाग्यले नेपाल फर्किएँ । अझै कति दिदीबहिनी हुनुहुन्छ, उहाँहरू नेपाल फर्किन सक्नुभएको छैन, कतिले उतै आत्महत्या गर्नुभएको छ, उहाँको लाससमेत नेपाल फर्कन सक्ने अवस्था छैन,” दुःखमनाउ गर्छिन् उनी ।
“बरु खोले खान्छु तर विदेश जान्न,” अन्तिममा इराकको दुःख बिट मारिन् उनले ।