सञ्चालनमा नरहेको रोल्पा विमानस्थल । तस्बिर : रासस
काठमाडौं । सरकारले सञ्चालनमा नआएका विमानस्थललाई एयर स्पोर्टस् ग्राउण्डका रुपमा प्रयोग गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नीति नै बनाएर प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस् ग्राउण्डका रुपमा प्रयोग गर्ने रणनीति बनाएको हो ।
यो योजना मन्त्रालयले आफ्नो ५ वर्षे कार्ययोजनामा पनि राखेको छ । ठूलो लगानी गरेर निर्माण गरिएका विमानस्थल गौचरणमा परिणत भएपछि मन्त्रालय नयाँ नीति बनाएर केही भए पनि आम्दानी गर्ने रणनीतितर्फ उन्मुख भएको हो ।
“मन्त्रालयले प्रयोगमा आउन नसकेका विमानस्थलमा एयर स्पोर्टस् एक्टिभिटिज सञ्चालन गर्ने तयारी गरेको छ,” संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, “यसअन्तर्गत अल्ट्रालाइटदेखि प्याराग्लाइडिङ सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।”
के हो अल्ट्राइट ?
अल्ट्रालाइट भनेको हल्का किसिमको विमान हो । जसमा एकपल्टमा एक जना यात्रु र एक जना चालक गरी दुई जनामात्र बस्न मिल्छ । अल्ट्रालाइट अहिले हिमश्रृंखला नजिकबाट नियाल्नको लागि लोकप्रिय भएको पाइन्छ । नेपालमा व्यावसायिक रुपमा पोखरामा अल्ट्रालाइट सञ्चालनमा छन् । सन् १९९७ बाट नै यस्ता विमान पोखरामा सञ्चालनमा छन् ।
पोखरामा आउने विदेशी तथा नेपाली पर्यटकबीच लोकप्रिय अल्ट्रालाइट विमानबाट त्यहाँका प्रमुख आकर्षण फेवाताल, बेगनासताल हिमश्रृंखलाहरु, वनजंगल, पहाड तथा त्यहाँका ग्रामीण भेगको दृष्यावलोकन गर्न पाइन्छ ।
प्याराग्लाइडिङ भने देशका विभिन्न ठाउँमा सञ्चालनमा छ । नियमितदेखि कुनै निश्चित चाडपर्व तथा मेला महोत्सवमा प्याराग्लाइडिङ उडाउने गरेको पाइन्छ । पोखरामा भने नियमित रुपमा प्यराग्लाइडिङ सञ्चालनमा छ । पोखरामा सन् २०१७ मा १९ हजार २७१ जनाले प्याराग्लाइडिङ गरेको तथ्यांक छ । नेपाल एयर स्पोर्टस् एसोसिएसन पोखराका अनुसार यसमा विदेशी पर्यटकको संख्या १४ हजार ३८४ थियो ।
विमानस्थलमा एयर एक्टिभिटिज सञ्चालनका लागि मन्त्रालयले व्यावसायिक कम्पनीलाई आग्रह गर्ने तयारी गरिरहेको छ । “नीति नै बनाएर हामी यसबारे व्यावसायिक कम्पवनीहरुलाई आग्रह गर्ने तयारीमा छौं । लोकेशनले पनि यसमा व्यवसायी आकर्षित हुने–नहुने निर्धारण गर्ला ।”
सरकारले अल्ट्राइलाइट र प्याराग्लाइडिङ सञ्चालनका रणनीतिक योजना बनाए पनि पर्यटक नजाने दुर्गमा जिल्ला तथा क्षेत्रका विमानस्थलमा भने व्यवसायी आकर्षित हुने सम्भावना कमै रहने मन्त्रालयकै एक अधिकारी बताउँछन् ।
नेपालमा हाल २० वटा विमानस्थल प्रयोगविहिन छन् । “विभिन्न कारणले हामीसँग २० वटा एयरपोर्ट सञ्चालमा छैनन् । बलेवा र राजविराज एयरपोर्ट भने भर्खर सञ्चालनमा आएका छन् । २४ वटा विमानस्थल भने सञ्चालनमा छन्,” नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने ।
आवश्यकता र सञ्चालन सम्भावनाका आधारमा भन्दापनि जनप्रतिनिधि तथा नेताको पहुँचका आधारमा विमानस्थल बन्ने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले अब हचुवाका भरमा विमानस्थल सञ्चालनमा नआउने र आवश्यक नभएका ठाउँमा विमानस्थल निर्माण गर्न आफूले नदिने बताउँदै आएका छन् ।
यी हुन् सञ्चालनमा नरहेका विमानस्थल
तथ्यांक स्रोतः नागरिक उड्ययन प्राधिकरण