
काठमाडौं । चेरि अटोमोबाइल कम्पनी लिमिटेडको सब–ब्रान्ड, ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि. ‘चेरि इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित भएको छ । उक्त सम्मेलन चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजना गरिएको थियो, जहाँ चेरिको हेडक्वार्टर तथा मुख्य उत्पादन केन्द्र पनि अवस्थित छन् ।
सम्मेलनमा चेरि होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशन गौरव शारडालाई यो अवार्ड हस्तान्तरण गरेका हुन् ।
१२० भन्दा बढी देशका तीन हजारभन्दा बढी डिलरहरूको सहभागिता रहेको अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धिहरू प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनीतिक विचारहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गर्ने अवसर प्रदान गर्यो । सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरि इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङ्गयुए, र चेरि इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङ लगायतको उपस्थिति थियो ।
एसपीजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारीसाधनहरूको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान तथा कम्पनीको उल्लेखनीय बजार पर्फमेन्सका लागि यो ‘ईभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो । यो सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात (सस्टेनेबल मोबिलिटी) प्रवर्द्धनप्रति कम्पनीको प्रतिबद्धता र सक्रियतालाई उजागर गर्दछ ।
ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा इ–फाइभ’ ईभी सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो भने ‘नाडा अटो सो २०२४’मा यसको रगेड र स्टाइलिस सब–ब्रान्ड ‘जेइको जे–सिक्स’ इएसयूभी प्रस्तुत गरेको थियो । यी नवीनतम ईभी ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एसपीजी अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडीहरू सफलतापूर्वक बिक्री गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।