site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

सत्याग्रही प्राध्यापक डा. गोविन्द केसीको अनशन अन्त्य भएको समाचारले पक्कै पनि धेरैलाई हर्षित बनाएको हुनुपर्छ । उनको सत्याग्रहका समर्थकहरू त खुसी हुने नै भए विरोधीहरूले समेत सन्तोषको सास फेरे होलान् । सरकारी वार्ता टोली र डा. केसीबीच बिहीवार मध्यरातमा ९ बुँदे सहमति भएपछि डा. केसीको पन्ध्रौं अनशन २७ औ दिनमा अन्त्य भयो । सरकारले उनका सबै माग पूरा गर्‍यो भने डा. केसीले पनि संसद्मा प्रवेश गरेको विषयलाई त्यहीँबाट टुंग्याउने प्रक्रियामा सहमति जनाए । अर्थात्, सरकार डा. केसीका सबै माग मानेर पनि हारेन । डा. केसीले त हार्ने वा जित्ने कुरै पो के थियो र ? उनका मागहरू पूरा गर्दा राज्य चिकित्सा शिक्षालाई विकृतिमुक्त बनाउने दिशामा बढ्न सफल भयो । यसैले पनि सत्याग्रहका समर्थक वा विरोधी सबै हर्षित भएको हुनुपर्छ । सबैभन्दा सन्तोष भने प्रधानमन्त्री ओलीलाई भयो होला ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयं अग्रसर भएपछि मात्रै वार्ता निर्णायक हुनसकेको समाचार सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली डा. केसी र उनको सत्याग्रहप्रति बढी नै आक्रामक देखिएका थिए । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओली स्वयं आक्रामक भएपछि पार्टीका अरू नेता कार्यकर्ता त झन् बढी आक्रामक हुने नै भए । डा. केसीविरुद्ध सरकार गिराउने षड्यन्त्रमा संलग्न भएको भन्नेसम्मको आरोप सार्वजनिकरूपमै नेकपाका नेता कार्यकर्ताले लगाए । डा. केसीका मागहरूको समर्थन गर्ने विपक्षी दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले सत्याग्रहमा ‘रोटी सेकेको’ आरोप पनि लगाए । परन्तु, अन्त्यमा डा. केसीप्रति प्रधानमन्त्री ओली र उनको पार्टी तथा सरकारका पदाधिकारीले गरेको सबै कटु र भ्रामक टिप्पणीहरूविपरीत सत्याग्रहीका सबै माग पूरा गरी डा. केसीको जीवन रक्षाका लागि लचिलो भएकोमा प्रधानमन्त्री ओली धन्यवादका पात्र भएका छन् । सत्याग्रहको सदन, सडक र सञ्चार माध्यमबाट समर्थन गर्नेहरू त यसै पनि धन्यवादका पात्र भएकै छन् । 

Dabur Nepal
NIC Asia

ओली नै अगिल्लोपटक प्रधानमन्त्री हुँदासमेत डा. केसीसँग मूलतः यिनै मागहरूमा सहमति भएको थियो । सरकारहरूले अनशन तोडाउन सहमति गर्ने तर कार्यान्वयन नगर्ने गर्दैआएका थिए । यद्यपि, डा. केसीकै मागअनुसार क्रमशः सुधार पनि हुँदैआएको थियो । विशेषगरी नेपाली कांग्रेसमा सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा राष्ट्रिय नीति तर्जुमा सम्बन्धी उच्चस्तरीय कार्यदल (माथेमा कार्यदल) को गठन एउटा उल्लेख्य उपलब्धि थियो । कांग्रेसकै अर्का सभापति शेरबहादुर देउवाको पालामा त्यही कार्यदलको सुझावमा आधारित चिकित्सा शिक्षा अध्यादेश जारी हुनु डा. केसीको सत्याग्रहको अर्को उल्लेख्य उपलब्धि थियो । त्यही अध्यादेशमा उल्लेख भएका प्रावधान प्रतिस्थापन विधेयकमा हेरफेर गरिएपछि डा. केसी पन्ध्रौं अनशनका लागि जुम्ला पुगेका थिए । डा. केसी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बल प्रयोग गरेर सरकारले उनलाई काठमाडौं ल्याएको थियो । सरकारको त्यस बलमिच्याइँको सर्वत्र विरोध भएको थियो भने संसद् र सडकमा पनि सरकार प्रतिरक्षात्मक पंक्तिमा उभिन पुगेको थियो ।  

जे भयो राम्रै भयो । संसद्ले सडकमा उठाइएका विषयमा पनि ध्यान दिनुपर्ने र वैधानिक निर्णय संसद्बाटै हुने लोकतान्त्रिक अभ्यासलाई डा. केसीको सत्याग्रहबाट पनि बल पुगेको छ । यसले नेपालको लोकतन्त्रलाई अझ सुदृढ बनाउन सक्छ । तर, त्यसो हुनका लागि सरकार आफ्ना प्रतिबद्धतामा दृढ र इमानदार हुनुपर्छ भने नैतिक शक्तिको वैधता सबैले स्वीकार गर्नुपर्छ । अब कुनै अलमल नगरी डा. केसीसँग भएको सहमतिका बुँदाहरू कार्यान्वयन प्रक्रिया सरकारले थाल्नुपर्छ । काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोल्ने बुँदादे नेकपाका नेता र तिनका निकट मानिने केही व्यवसायीको स्वार्थमा असर गरेपछि अध्यादेश परिमार्जन गरिएको थियो । संसद्मा त्यो समूहले अगिल्लोपटक पनि चलखेल गरेको थियो । यसैले प्रधानमन्त्री ओली आफैँले विशेष ध्यान नदिए पुनः सहमतिविपरीत चलखेल हुने जोखिम छ । सहमतिका प्रमुख बुँदाहरूमा जालझेल वा आलटाल गर्न खोजियो भने डा. केसीले पुनः अनशन सुरु गर्नसक्छन् । उनको अनशनसँगै सडक र सदन दुवै तात्नेछ । त्यसो भयो भने सरकार हार्न सक्छ । अहिले सरकार हारेको छैन । यसैले डा. केसीलाई यिनै माग राखेर अर्को अनशन गर्न नपर्ने सुनिश्चित गर्न आलटाल नगरियोस् । आशागरौँ ! डा. केसीका मागहरू कार्यान्वयन हुँदा देशको चिकित्सा शिक्षाका विकृति नियन्त्रण र उल्लेख्य सुधार हुने यथार्थ सरकारले आत्मसात् गरोस् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०७५  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu