site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीबी राईले बचतकर्ताको १६ अर्ब दुरूपयोग गर्न यसरी खडा गरेका थिए ‘ठगीको साम्राज्य’ 
SkywellSkywell

काठमाडौं । गोर्खा मिडिया प्रा.लि.का अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले नेटवर्किङ्ग व्यवसायको नेटवर्क प्रयोग गरी सहकारी खोलेर बचतकर्ताको १६ अर्ब रुपैयाँभन्दा बढी रकम दुरूपयोग गरेको पाइएको छ । 

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा सूर्यबहादुर थापा सभापति रहेको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । 

प्रतिवेदनमा नेटवर्किङ्ग व्यवसायसँग सहकारी ठगी जोडिएको जनाइएको छ । “गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्,” प्रतिवेदनमा उल्लेख छ ।

KFC Island Ad
NIC Asia

राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा ‘गोर्खा ग्रुप अफ कम्पनी’ खोलेको थिए ।  सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । त्यसपछि नेपालमा हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याएका थिए ।

तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी जीबी राई र उनको समूहले नेचर हर्ब्स, नेचर नेस्टलगायतका नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेको प्रतिवेदनमा जनाइएको छ ।
 
“सहकारी संस्थामा बचतकर्ताको बचत रकम अपचलन र दुरुपयोग गर्ने एवं सहकारीको बचत रकम गैरकानुनी रूपमा निजी कम्पनी र व्यक्तिको नाममा प्रवाह गर्ने जीबी राई समेतको गिरोह लामो समयदेखि नेटवर्किङ्ग व्यवसायमा रहेका र नेटवर्किड्ड शैलीमै सहकारी संस्थाहरूको फैलावट र प्रसार गरी हरेक संस्थाबाट रकम अपचलन गर्ने गरेको पाइन्छ,” प्रतिवेदनमा उल्लेख छ ।

Royal Enfield Island Ad

त्यस्ता सहकारी सञ्चालकहरूले कम्पनीकै शैलीमा सहकारी संस्थाहरूको बिस्तार गर्नुका साथै अरूको नाममा कर्जा खडा गरी आफैँले दुरूपयोग समेत गर्ने गरेको पाइएको छ । 

गोल्डक्वैष्टदेखि हर्बो हुँदै सहकारी

२०५६ सालदेखि २०५८ सालसम्म नेपालमा गोल्डक्वैष्ट भन्ने हङ्ककङबाट सञ्चालित कम्पनीले सुनको सिक्का प्रतिव्यक्ति ३७ हजार ५०० को दरले दिने भन्दै गैरकानुनीरूपमा नेटवर्किङ (प्रत्यक्ष बिक्री प्रणाली) गर्दै पैसा उठाएको थियो ।

त्यो व्यवसायमा जीबी राईले सुरुदेखि नै आफ्नो दाजु अनन्तबाबु राईको माध्यमबाट जोडिएका थिए । यस्तै नेटवर्क व्यापारमा लागेर सुरुदेखि नै नेतृत्व विकास भन्दै अनेक प्रशिक्षण र कला समेत सिकेका थिए । गोल्डक्वैष्टमा नेपाल सरकारले प्रतिबन्ध गरेपछि पनि उनी यस्तै गैरकानुनी धन्दामा रमाउन थालेको प्रतिवेदनमा भनिएको छ । 

यस्तैक्रममा स्वदेशी जडीबुटीजन्य वस्तुको व्यापार नेटवर्किङ तरिकाले गर्ने नाममा २०६१ सालमा हर्बोलगायत धेरै कम्पनीहरू खुल्छन् । अनन्तबाबु राई हर्बोको संस्थापक निर्देशक बन्छन् र उनैको साथमा उनका माइलो भाइ देबेन्द्रबाबु राई र कान्दो भाइ जीबी राई पनि हर्बो व्यापारमा लाग्ने र पढ्ने पढाउने र सङ्गठन बनाएर काम गर्न सुरु गर्छन् ।

त्यो व्यापारलाई व्यवस्थित गर्न सरकारले उपभोक्ता ऐनअन्तर्गत नेटवर्क मार्केटिङ् व्यवसायसम्बन्धी निर्देशिका जारी गरेको थियो । त्यही निर्देशिकाअन्तर्गत उनले चारवटा कम्पनीहरू सञ्चालन गर्छन् । अन्यले अनुमति लिन कोशिस गरिरहेकै बेला हर्बोले सरकारसँग मिलेर स्थायित्व दिन काम सुरु गछ । तर युनिटीलगायत कम्पनीले निर्देशिकाविपरीत हुने गरी वस्तुको व्यापार नगरेको देखिएको र पैसा उठाएर कमिसन दिने मात्र काम गरेकाले अनुमति पाउँदैन् र कारबाहीमा पर्छन् ।

यहीबीचमा देशी विदेशी कम्पनीका प्रतिनिधिहरूको पहलमा तत्कालीन वाणिज्य मन्त्री राजेन्द्र महतोको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका खारेजको सूचना निस्किन्छ । यो सूचना ‘सरोकारवालाको लगानी डुबाउने खेल र दुई पक्षीय छलफल नभई गरिएको निर्णय गलत छ’ भनेर हर्बोलगायत ४ वटा कम्पनी सर्वोच्चमा रिट हाल्छन् र न्यायाधीश खिलराज रेग्मीको इजालसले अन्तरिम आदेश दिएपछि काम सुचारु हुन्छ ।

यही समयमा जीबी राईको भगवती बम्जन (निशा बम्जन) सँग विवाह हुन्छ । गोर्खा सेभिङ्गससँग सम्बन्धित ज्ञानबहादुर बम्जनले आफ्ना धेरै सहकारीमध्ये पोखराको सूर्यदर्शनमा आफ्ना ज्वाई जिबीलाई काम गर्न लगाउँछन् र हर्बोको काम बीचमै ‘साइड बिजनेस’ बनाएर कर्मचारीको रूपमा काम गर्न पोखरा बस्न सुरु गरेको देखिन्छ । 

जीबी राईले हर्बोबाट उल्लेखनीय कमाइ गर्न नसकेको देखिन्छ । हर्बोमा जीबी राई सामान्य लिडर र हर्बोकाबारेमा प्रेजेन्टेसन गर्न सक्ने भूमिकामा मात्र देखिन्छन् ।

“यसरी नेटवर्क व्यापारबाट शिक्षित र दिक्षित बनेर जीबी राई सहकारीको क्षेत्रमा ससुरालीको सम्बन्ध प्रयोग गरेर छिरेको देखिन्छ र पछि त्यही सहकारी कब्जा गरेर देशैभरि नेटवर्क कम्पनी कै जस्तो गरी सहकारीको नेटवर्क बनाएको देखियो,” प्रतिवेदनमा भनिएको छ । 

सङ्गतबाट कामाद हुँदै स्वर्णलक्ष्मी

हर्बो इन्टरनेशलन प्रा.लि.मा कार्यकारी निर्देशक रहेका अनन्तबाबु राईले भाइ जीबी राईलाई मार्केटिङ्गमा जागिर लगाइदिएका थिए । पछि उनी सूर्यदर्शन सहकारी पोखरामा जागिर खान गए ।  उनै जीबी राईले हर्बो ग्रुप र साबिक हाम्रो ग्रुप हाल गोर्खा ग्रुप सञ्चालन गर्न २०६८ सालमा सङ्गत ग्रुप प्रा.लि.मा पुष्पराज पौडेलसँग मिली विभिन्न निर्णयहरू गरेका थिए ।

उक्त निर्णयअनुसार सबै सम्पत्ति र कम्पनीको हरहिसाब गरेर सङ्गत ग्रुपमा राख्ने भने तापनि सबै शेयर र जग्गा लिएपछि जीबी राई सम्पर्कविहीन भएर हिसाब नगरेको भन्ने सङ्गतकै अन्य सञ्चालकरूको दावी गरेको प्रतिवेदनमा उल्लेख छ ।

जीबी राई सम्पर्कमा नरहेपछि ती निर्णयहरू कार्यान्वयन हुन सकेनन् । कम्पनी सञ्चालनको विषय कम्पनी रजिस्ट्रारको कार्यालयको क्षेत्राधिकारभित्रको विषय देखिने प्रतिवेदनमा जनाइएको छ । आर्थिक वर्ष २०६२–६३ तिर पुष्पराजसहितले स्थापना गरेको कामाद सहकारीलाई पनि सञ्चालकहरूको इच्छाविपरीत कब्जा गरेर अरु सहकारीमा एकीकरण गराएको प्रतिवेदनमा उल्लेख छ ।

उनले कामाद सहकारीका अरू सञ्चालकहरूको शेयर आफुखुसी शून्य बनाइदिएको, बैङ्क खाताको पैसा पनि आफुखुसी चलाउने गरेका थिए । “सहकारी एकीकरणपछि कतिपय बचतकर्तालाई पासबुक पनि नबनाइदिएको वा पैसाको ग्राहकलाई हिसाब दिएका थिएनन्,” प्रतिवेदनमा भनिएको छ । 

शेयरधनी र बचतकर्ताको पनि छुट्याएर २/३ करोडको कारोबार नमिलाएको तर स्वर्णलक्ष्मी र प्रणोदयिनीका कानुनी समस्याहरू लुकाउन कामादको विधान प्रयोग गर्न एकतर्फी एकीकरण गरेर हिसाब नदिएको भन्ने निवेदन छानबिन समितिमा परेको थियो ।

हर्बोबाट गोर्खा ग्रुपसम्म, ९ सय शेयरधनी पीडित

हर्बो इन्टरनेसनल प्रा.लि. र साबिक हाम्रो ‘ग्रुप अफ कम्पनी’ हाल ‘गोर्खा ग्रुप अफ कम्पनी प्रा. लि.’ लाई आफ्नो हिसाब मिलाउन हर्बोका तत्कालीन अध्यक्ष गोकुल श्रेष्ठले जग्गा दिने निर्णय भएको तर कीर्ते कागज बनाएर जीबी राईले दुबै कम्पनीलाई ठगी गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैले उक्त जग्गाहरूको विषय पनि विवादित छ ।

गोर्खा ग्रुप र हर्बोको नाममा जग्गा पास गरेको भनी लालपूर्जा ल्याएर दिने र जग्गा किन्ने कार्यलगायत कम्पनीको कारोबार सबै गोकुल श्रेष्ठले गर्ने गरेको देखिँदा गोकुल श्रेष्ठ र जीबी राई गोर्खा ग्रुपमा सञ्चालक समितिमा सँगै काम गरेका र अन्य कम्पनीमा पनि साझेदार रहेको ठहर समितिको छ ।

छानबिनका क्रममा जग्गा किन्न भनेर हर्बोको ४ करोडभन्दा बढी र जीबी राईबाट १ करोड २५ लाख रुपैयाँ पनि गोकुल श्रेष्ठले लगेको देखिएको छ । तर कम्पनीको नाममा उक्त जग्गा रहेको देखिँदैन । 

गितेन्द्रबाबु राई र गोकुल श्रेष्ठ दुबै जनाले कागजपत्र पनि नदिने, जानकारी पनि नदिने, हरहिसाब पनि नगर्ने गरेर पुष्पराज लगायत गोर्खा ग्रुपका ९०० भन्दा बढी शेयरधनीहरूलाई ठगी गरेको भन्ने अर्को छुट्टै विवाद रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

नयाँ कम्पनीहरूको सञ्जाल, लगानी नगरी सेयर

जीबी राई सञ्चालक समितिमा आएपछि प्रणोदयिनी सहकारी र स्वर्णलक्ष्मी सहकारीबाट ऋण लिएर नेचरनेस्ट प्रा. लि., ८४ परिकार कम्पनी, कपास सटिङ एण्ड सुटिङ कम्पनी र कामद बहुउद्देश्यीय सहकारी लगायत सञ्चालन गरेका थिए । 

सबै कम्पनीको सम्पत्ति र सहकारी कब्जा गरेर लेखापरीक्षणमा कुनै हिसाब सम्म नदेखाएको, खिमानन्द कँडेल र पुष्पराजको नामबाट ऋण पनि नहटाएको तथा लगानी पनि हिसाब नगरिदिएको छानबिनमा देखिएको छ । 

“कम्पनी जिम्मा लिएपछि कम्पनीको ऋणधन पनि जिम्मा लिनेकै हुनुपर्ने हो तर जीबी राईले पैसा र शक्तिको दुरुपयोग गरे, तर हिसाब मिलाएनन्,” प्रतिवेदनमा भनिएको छ ।

जीबी राईले आफु खुसी कम्पनी चलाउन शेयरधनीबाट अवरोध भएपछि कानूनी झन्झटबाट बच्न आफ्ना कर्मचारीको नाममा शेयर पटक–पटक किनबेच र नामसारी गरेको पनि छानबिनका क्रममा देखिएको छ ।

“अझ पैसा नै नहाली कागजपत्र मिलाएर आफु खुसी आफ्नै ग्रुपको शेयर किर्ते गरी धेरै बनाएर बहुमत देखाएर कम्पनीहरू नियन्त्रण गरेको भन्ने पनि निवेदन आएकोले कारबाही चलाउनुपर्ने देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ ।

राईले तिनकुनेमा रहेको ९ आनामा बनेको २ वटा घर जग्गा, काभ्रे र मकवानपुर ठिङ्गनका लगभग ३०० रोपनी जग्गा, जयसङ्गत आश्रमको नाममा भएको गोदावरीको ६ रोपनीभन्दा बढी जग्गा, बाँडीगाउँको १४ रोपनी जग्गा, बडीखेलको २० रोपनी जग्गा र भक्तपुरको ५ रोपनीभन्दा बढी जग्गा लगायत अन्य सहयोगी सदस्यहरूको लगानी सम्पत्ति सबै विभिन्न नाममा नामसारी गरेको पाइएको छ ।

जोसँग मिलेर काम गर्यो उसैलाई धोका दिँदै सहकारीको रकम दुरुपयोग गरी विभिन्न व्यक्ति एवं कम्पनीको शेयर र सम्पत्ति कब्जा जीबी राईले गर्दै आएको प्रतिवेदनमा जनाइएको छ । 

“समग्रमा जीबी राईको समूहले हर्बो र गोरखा ग्रुपका हातहतका व्यक्ति र कम्पनीहमा सहकारीको पैसा ऋण दिने, ऋण दिएवापत बिनालगानी शेयर हिस्सा लिने, बिस्तारै सबै ऋणीहरुलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरुलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको छ,” प्रतिवेदनमा भनिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro