केटाकेटी बेन्चमा बस्न तँछाड मछाड गरिरहेका थिए । त्यसो गर्नेमा एउटा रामशरणको नाति रहेछ, अर्को ऊसँगै पढ्ने केटो ।
रामशरण नजिकै गए र कुरा बुझ्न खोजे ।
मन्दिरको प्रांगणमा रहेका बेन्चहरूमध्येको एउटा बेन्च । रामशरणको नाति त्यसमा आफू र आफ्ना साथीहरू बसून् भन्दो रहेछ । अर्को म पनि बस्छु भन्दो रहेछ ।
रामशरणको नाति भन्दो रहेछ, ‘यो मेरो हो, मेरो हजुरबाले राखेको । नपत्याए नाम हेर् । यसमा म र मेरा मान्छे बस्ने ।’
कुरा बुझेपछि रामशरणलाई बेमज्जा लाग्यो ।
उनले सुरुमै भनेका थिए, ‘म आफ्नो खर्चमा बेन्च त राख्छु, तर त्यसमा आफ्नो नाम लेख्दिनँ । मलाई दानवीर देखिनु छैन । फेरि, मन्दिरमा चढाएको कुरामा मेरो निजी स्वामित्व हुने भए पो नाम लेख्नु ! त्यो दान हो, त्यसमा मेरो स्वामित्व देखिनु हुँदैन ।’
कसैले सुझायो, ‘यो दानशीलताको दृष्टान्त पनि हुन्छ, अरूलाई प्रेरणा मिल्छ । सबैले नाम राखेकै छन्, राख्नोस् न ।’
आज नातिको आशय बुझेपछि रामशरणलाई अलिकति खर्च गरेर मन्दिरमा आफ्नो स्वामित्व कायम गर्न पो खोजिएछ भन्ने लाग्यो ।
केही दिनपछि मन्दिरको प्रांगणमा एउटा नयाँ बेन्च देखियो । यसमा कसैको नाम लेखिएको थिएन ।