site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

राज्यको ध्यान सहकारी ठगीमा केन्द्रित नभएकै बेलामा पनि चोके (मिटर) ब्याज पीडितहरूको समस्या प्राथमिकतामा परेको थिएन । त्यसमाथि केही महिना यता त झन् राजनीतिक दलहरू, संसद् र सरकारको ध्यान सहकारी ठगीमा केन्द्रित भयो । यसै हेपिएका मिटर ब्याजपीडित झन् उपेक्षित भए । यसैले होला अहिले पनि मिटर ब्याजीका कारण घरबार गुमाउनु परेको पीडाका पोख्नेहरूको समाचार आइरहेका छन् । 

सडक आन्दोलन त मिटर ब्याजपीडितले पनि गरेकै थिए । सरकारले उनीहरूलाई न्याय दिलाउने वाचा गरेर सम्झौता पनि गरेकै थियो । मिटर ब्याजीहरूलाई कारबाही गर्ने कानुन पनि बनाइएकै हो । तर,  मिटर ब्याजीहरूको शोषणको चक्र थामिएन । प्रचलित कानुनअनुसार दण्डनीय अपराध भए पनि मिटर ब्याजीहरूमाथि सरकारले आवश्यक कारबाही गरेको छैन ।     

राजनीतिक दलका नेता कार्यकर्ताले सहकारी ठगीको मामिलामा जति चासो भने मिटर ब्याजका विषयमा लिएको देखिएन । मिटर ब्याजको समस्या अपेक्षाकृत बढी भएको मधेस प्रदेशमा त झन् राजनीतिक नेताहरूले नै मिटर ब्याजीहरूको संरक्षण गरेको गुनासो पीडितहरूले गरेका छन् । प्रहरी प्रशासनको मिटर ब्याजीप्रति नै सहानुभूति रहेको पीडितहरूको अनुभव छ ।

पैसा हुनेको पहुँच र प्रभाव पनि हुन्छ । पदमा हुनेहरू जनप्रतिनिधि हुन् वा कर्मचारी प्रभावशालीहरूकै नजिक हुन्छन् । धेरै हदसम्म पैसावाल मिटर ब्याजी, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरी प्रशासनका अधिकारीहरूबीच निकै जेलिएको र कसिलो सम्बन्ध हुन्छ । मिटर ब्याजी पीडितहरूले राज्यको स्नेह र संरक्षण पाउन नसक्नुको मूल कारण सायद यही त्रिपक्षीय सम्बन्ध हो ।

लामो आन्दोलनपछि अनुचित लेनदेनसम्बन्धी ऐन बनेको भए पनि  मिटर ब्याजीहरूको रजगज कायमै रह्यो । पीडितहरूको घरखेत भइरह्यो भने  उठीबास हुन रोकिएन । अर्थात्, कानुन त कमजोर थियो नै कार्यान्वयन पनि प्रभावकारी भएन । फलस्वरूप बिचौलियाको गोरखधन्दा चलिरहेकै भए पनि मिटर ब्याजीपीडितहरू अझै न्याय पाएका छैनन् ।

संसद्को अधिवेशन अन्त्य भएका समयमा जनतामाथि अत्याचार बढ्ने गर्छ । त्यसमाथि दसैंको छेक पारेर मिटर ब्याजीहरू ऋणीको घरखेत गर्न सक्रिय हुनसक्छन् । नेपालमा अदालतहरूले स्वजानकारीमा कमजोर नागरिकका पक्षमा मुद्दा चलाएको उदाहरण खासै पाइँदैन । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन पीडितहरूको पक्षमा हुने गर्दैन ।

यस्तो अवस्थामा संसद्ले हस्तक्षेप नगर्ने हो भने कमजोरहरूले न्याय पाउने सबै सम्भावना बन्द हुन्छ । संसद् नचलेका बेला संसदीय समितिहरूले यस्ता विषयमा निगरानी गर्नुपर्छ । कम्तीमा निमुखा नागरिकमा पनि आफ्ना प्रतिनिधिले संरक्षण गर्छन् र न्याय दिलाउँछन् भन्ने विश्वास जागोस् । मूलतः संघीय संसद्का सरोकारवाला समितिहरू र मधेस प्रदेश सभाका सम्बन्धित समितिका सदस्यहरूले दसैंका बेला मिटर ब्याजीहरूले पीडितहरूलाई थप पीडा दिन नपाऊन् भनेर निगरानी गरुन् । 

के नेपालमा सांसदहरूले कमजोर वर्गका पक्षमा उभिएर इतिहास निर्माण गर्लान् त अब ?         
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro