site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समितिमा ६ जनाको बयान– सहकारीको अपचलन गर्ने रवि यिनै हुन्, तर पुष्टि गर्ने कागजात छैन
SkywellSkywell

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा ६ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको ‘संलग्नता’बारे नाम लिएका छन् ।
 
समितिले बयान लिने क्रममा गोरखा मिडिया प्रा.लि., पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. र बुटबलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. सँग आवद्ध व्यक्तिले लामिछानेको नाम लिएका हुन् । 

सहकारीको रकम हिनामिना भएको सम्बन्धमा समितिले विभिन्न व्यक्तिहरुसँग वयान लिएको थियो । तीमध्ये ६ जनाले लामिछानेको नाम लिएका थिए । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उनीहरुको बयान राखिएको छ । 

“सूर्यदर्शनबाट भएको कारोबारबारे मलाई जानकारी भएन तर सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट मेरो नाममा करीब १ करोड ९० लाखको कृतिम ऋण खडा गरी करीब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करीब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको हो,” सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष कुमार रम्तेलले बयानमा भनेका छन् ।

Dabur Nepal
NIC Asia

ऋणी रवि लामिछाने पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य भएको र छविलाल बन्जाडे जोशी पूर्व नायव महानिरीक्षक भएको ठोकुवा रम्तेलले गरेका छन् । उक्त ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको पनि उनले बताएका छन् । 

“मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो । मैले चिनेको रवि लामिछाने निज पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन् । मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि. को खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिनसाथ भन्न सक्छु,” रम्तेलले बयानका क्रममा भनेका छन् ।
 
तर रवि लामिछानेको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्न आफूले नसक्ने उनले जनाएका छन् । 

रम्तेलले थप स्पष्ट पारेका छन्, “रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ ।” 

ग्यालेक्सी टीभीमा कम्तिमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा उनले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा रविले यस विषयमा गितेन्द्रबाबु (जीबी) राईसँग कुरा भइसकेको बताएको रम्तेलले जनएका छन् । 

हाल सहकारी ठगी मुद्दामा कारागारमा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समितिको पूर्वसदस्य भविश्वर अर्यालले पनि रवि लामिछानेको नाम लिएका छन् । 

सूर्यदर्शनबाट पचास–पचास लाख गरी दुई पटक गोरखा मिडिया नेटवर्क प्रा. लि को नाममा १ करोड पेश्की देखाई गोरखा मिडिया नेटवर्क प्रा.लि. को बैंक खातामा रकम जम्मा गरिएको बयानका क्रममा उनले बताएका छन् ।

“उल्लिखित रकमलाई रवि लामिछानेको नाममा ऋण बनाई गोरखा मिडिया नेटवर्क प्रा. लि. को नाममा भएको पेश्की फर्छ्यौट गरेको देखिन्छ । तत्पश्चात विभिन्न मितिमा ब्याजलाई पुँजीकृत गरी साँवा ब्याज दुबैलाई गोरखा मिडिया नेटवर्क प्रा.लि. को नाममा कर्जा खडा गरी रवि लामिछाने नामको ऋण चुक्ता गरिएको देखिन्छ । उक्त कार्य किन गरिएको हो मलाई जानकारी भएन,” अर्यालले भनेका छन् ।
 
उक्त कार्य कानुनसम्मत् नभएको उनले जनाएका छन् । उनले बायनमा भनेका छन्, “निज रवि लामिछाने नाम गरेको व्यक्तिको नागरिकता र अरु प्रामाण कागजात नभेटिएको हुँदा पूर्व उपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाको माननीय सदस्य नै हो होइन, यकिन साथ भन्न सक्दिनँ तर गोरखा मिडिया नेटवर्क प्रा.लि. को खातामा रकम गएको देखिएकाले उँहा नै हुन सक्ने देखिन्छ ।”

कुमारीपाटी ललितपुरमा रहेको जी.बी. ग्रुप अफ कम्पनिजमा आफू नियमत कामका लागि जाँदा जी.बी. राईसँग रवि लामिछानेलाई बैठकमा देखिरहने गरेको समेत उनले बताएका छन् ।

गोरखा मिडिया नेटवर्क प्रा.लि.को एउटा बैठकमा गितेन्द्रबाबु राई, रवि लामिछाने र दिपेश पुनसँगै आफू पनि रहेको उनले खुलाएका छन् ।

“रवि लामिछानेले गोरखा मिडिया नेटवर्क प्रा.लि.बाट राजिनामा दिएर छाडेपछि सोही रकम गोरखा मिडिया नेटवर्क प्रा.लि. को नाममा सारिनुले उक्त रवि लामिछाने भन्ने व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाका माननीय सदस्य हुन् कि भन्न सकिन्छ,” अर्यालले भनेका छन् । 

गोरखा मिडियाका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीले आफूले चिनेको रवि लामिछाने भनेको पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको सदस्य रवि लामिछाने भएको बताएका छन् ।
 
बयानका क्रममा गोरखा मिडियाका आफ्नो नाममा रहेको ५० प्रतिशत शेयरमध्ये १५ प्रतिशत रवि लामिछानेलाई दिएको उनले बताएका छन् । गोरखा मिडियामा जीबी राईको नाममा ५० प्रतिशत, आफ्नो नाममा ३५ प्रतिशत र रवि लामिछानेको नाममा १५ प्रतिशत शेयर रहेको उनले उल्लेख गरेका छन् ।

कम्पनीका लागि ऋण लिने प्रक्रियामा नेपाल बैक लि.को न्युरोड शाखामा आफू, रवि लामिछाने र लेखा प्रतिनिधि गएको उनले जनाएका छन् । उक्त ऋण लिन श्रीमतीको नाममा रही नेचर हर्ब्स कम्पनीलाई भाडामा दिइएको घर धितो राख्ने प्रस्ताव जीबी राईले गरेपछि त्यसमा आफू असहमत भएको जोशीले जनाएका छन् । त्यसपछि गोरखा मिडियाबाट आफूले पूर्ण रुपमा बिदा भएको उनले उल्लेख गरेका छन् । 

“मैले चिनेको रवि लामिछाने भनेको पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने नै हो । म काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुखमा हुँदा स्टिङ अपरेसन गर्ने सिलसिलामा कहिलेकाहीँ प्रहरी चाहिएको हुँदा मैले केही प्रहरी पठाउने क्रममा रवि लामिछानेसँग चिनजान भएको थियो,” जोशीले बताएका छन् । 

टेलिभिजन खोल्ने सिलसिलामा एपीवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी पौडेलले आफूहरुसँग लामिछानेको चिनजान गराएको भनाई उनको छ । त्यसपछि रवि लामिछाने शेयर होल्डर, म्यानेजिङ् डिरेक्टर भएर ग्यालेक्सी फोरके टेलिभिजनमा सर्वेसर्वा भएको जोशीले जनाएका छन् ।
 
गोरखा मिडिया नेटवर्क प्रा.लि.बाट आर्थिक वर्ष २०७७/०७८ व्याजवापत १ करोड ५५ लाख भुक्तानी गरेको देखिन्छ । उक्त रकम कसलाई र कुन ऋणवापत दिनुभएको हो ? भनी समितिले सोधेको प्रश्नमा जोशीले भनेका छन्, “कि प्रभुले जानुन्, कि जि.बी. राई र रवि लामिछानेले जानुन् । मलाई जानकारी भएन ।”

लाओ एसिया प्योसिफक सेटलाइट कम्पनी लिमिटेडबाट सन् २०२२ जुन १४ मा गोरखा मिडियाले ५५ लाख १७ हजार ७२३ रुपैयाँ लिएको देखिन्छ । उक्त ऋण किन र कसरी लिइयो भन्नेबारे जीबी राई र रवि लामिछानेलाई थाहा हुने उनले बताएका छन् । 

सहकारीहरूले गोरखा मिडियालाई दिएको ऋण रकम र गोरखा मिडियामा दाखिला भएको ऋणको औचित्यबारे पनि जीबी राई र रवि लामिछानेसँग जानकारी हुने उनले जनाएका छन् । 

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.को क्यासियर रोशनी गुरुङले २०७७ चैत १८ गते सहकारीको सफ्टवेयर प्रणालीमा रवि लामिछानेको नाम इन्ट्री गरेकी थिइन् । समितिले छानबिनका क्रममा उनलाई ‘के कागजातका आधारमा लामिछानेको नाम इन्ट्री गरेको ?’ भनी प्रश्न गरेको थियो । 

जवाफ दिने क्रममा रोशनी गुरुङले भनेकी छन्, “व्यवस्थापक सागर के.सी.ले फाराम फिलअप नभरी ‘रवि लामिछाने’को नाममा खाता खोल्ने र ठेगाना ‘डट डट’ राखी छिटो उक्त खाता नं. मलाई दिनु भन्नुभएको थियो । मैले ठेगाना, कागजात, नागरिकता, सम्पर्क नं. मा के लेख्न भन्दा ‘डट डट’ मात्रै लेख्नु भन्नुभएको थियो ।”
  
यस्तै प्रक्रिया छविलाल जोशीकोमा पनि गरिएको थियो । यसप्रकारका खाता अन्य केही व्यक्तिहरूको पनि गरिएको उनले जनाएकी छन् । 

आफूले इन्ट्री गरेको ‘रवि लामिछाने’ भन्ने व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभाका सदस्य रवि लामिछाने हो वा होइन भन्ने बारे भने आफू यकिन नरहेको उनले बयानमा बताएकी छन् । “त्यस विषयमा मलाई जानकारी भएन । रवि लामिछानेको नाममा खाता खोल्न लगाउनुभयो, मैले खाता खोलेको थिएँ । उक्त खातावाला को हुन् मलाई थाहा भएन,” रोशनी गुरुङले भनिन् । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हाल सहकारी ठगी मुद्दामा कारागारमा रहेका ओमप्रकाश गुरुङसँग पनि समितिले बयान लिएको थियो । 

समितिले ओमप्रकाश गुरुङलाई सोधेको थियो, “रवि लामिछानेको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइ.एम.ई. बैङ्कमा भएको खातामा मिति २०७७ चैत १८ मा २ करोड रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो के हो ?” 

उनले उक्त कार्य प्रमुख संरक्षक जीबी राई राई र कार्यकारी प्रमुख सागर के. सी. को मिलेमतोमा भएको बताएका छन् । आफू पक्राउ परेपछि मात्र उक्त कुरा अनुसन्धानबाट आफूले थाहा पाएको उनले जनाएका छन् । 

“निज ऋणी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने नै हो । कसरी भने गोरखा मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजन अध्यक्ष गितेन्द्रबाबु राई र प्रबन्ध निर्देशक रवि लामिछाने र सुप्रिम सहकारीबाट गोरखा मिडियामा जम्मा भएको रकमबाट नै रवि लामिछानेको ग्यालेक्सी टेलिभिजनमा सेयर कायम भएको प्रहरीको अनुसन्धानबाट मैले थाहा पाएकोले निज ऋणी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने नै हुन् भन्ने मलाई लाग्छ,” ओमप्रकाश गुरुङले भनेका छन् ।

गोरखा मिडिया नेटवर्क प्रा.लि.मा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष एवं सुप्रिम सहकारीका प्रमुख संरक्षक जीबी राई, सुप्रिम सहकारीका कार्यकारी प्रमुख सागर के. सी. र ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछानेको मिलेमतोमा ठूलो रकम लगानी भएको उनले बताएका छन् ।

“सुप्रिम सहकारीका कार्यकारी प्रमुख सागर के.सी.लाई म पक्राउ पर्नुभन्दा २ महिनाअगाडि इलाका प्रहरी कार्यालय बुटवलमा खोजी गरी पाऊँ भनी निवेदन दिएता पनि हालसम्म कुनै सुनुवाई भएको छैन,” बयानमा उनले भनेका छन्, “गितेन्द्रबाबु (जीबी) राईद्वारा सञ्चालित ७ वटा सहकारीको सञ्चालक तथा कार्यकारी प्रमुखहरूको नाममा करोडांै ऋणहरू देखिदा पनि पक्राउ नपर्नु शंकाको विषय देखिन्छ ।” 

ईलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.बाट अन्दाजी १२ करोड रकम गोरखा मिडियाको खातामा गएको देखिएको उनले जनाएका छन् । 

गोरखा मेडिया नेटवर्क प्रा.लि. का अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख संरक्षक गितेन्द्रबाबु (जीबी) राई, कार्यकारी प्रमुख सागर के.सी. भएको हुनाले ती सबै रकम सहकारीमार्फत गएर लगानी भएको हुनाले यी तीन जना व्यक्तिहरुको सरसल्लाहबाट सहकारीको रकम उक्त संस्थामा लगानी भएको दाबी उनले गरेका छन् । 

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.का पूर्वसचिव दिपेशकुमार पुनसँग पनि समितिले बयान लिएको थियो । 

बयान लिने क्रममा समितिले सोधेको थियो, “रवि लामिछानेको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा मिति २०७७ चैत १८ मा २ करोड रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो के हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? निज ऋणी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने हो, होइन खुलाइदिनुहोस् ।”

यस विषयमा आफूले समाचरहरूमा सुनेका तर के–कसरी भएको हो आफूलाई जानकारी नभएको पुनले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu