site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

यो वर्ष पनि संविधान दिवसका दिन कैद मिनाहा दिने तयारी सरकारले गरेको छ । गत वर्ष सर्वोच्च अदालतले एक जना व्यक्तिको कैद मिनाहा गर्ने सरकारी निर्णय उल्ट्याइदिएको थियो । सोही निर्णयमा अदालतले कैद मिनाहा गर्ने निर्णय गर्नुपूर्व पालना गर्नुपर्ने सर्तहरू पनि तोकिदिएको छ ।

यस वर्षको संविधान दिवसका अवसरमा कैद सजाय मिनाहा पाउनेहरूको सूची सार्वजनिक गरेर सरकारले सर्वोच्च अदालतको आदेश पालन गरेको छ । मिनाहाका लागि प्रस्तावित व्यक्तिहरूको सूची सार्वजनिक गरेर सरकारले कसैको आपत्ति भए उजुरीका लागि आह्वानसमेत गरिसकेको देखिन्छ । यसैले यस वर्ष कैद मिनाहाको निर्णय कम विवादास्पद हुने अपेक्षा गर्न सकिन्छ ।

कैद छुट हुनेहरुको नाम सार्वजनिक गरेर उजुरी आह्वान गर्नुको उद्देश्य भने औपचारिकता पूरा गर्नुमात्र होयन । यद्यपि, सरकारको कार्यशैली हेर्दा यसको मूल मर्मको बेवास्ता गरी प्रक्रिया पूरा गर्नमात्र खोजिएको भान हुन्छ । वास्तवमा अपराधबाट पीडितहरूले कैदी छुट्न लागेको थाहा पाउन् र उनीहरूलाई कुनै आपत्ति भए उजुर गरुन् भनेर नै अदालतले सूची सार्वजनिक गरी उजुरीको आह्वान गर्न आदेश दिएको हो ।      

अपराध गर्नेलाई सजाय दिनु सधैँ नै राज्यको कर्तव्य मानिदै आएको छ । विधिको शासन भएका मुलुकमा यस्तो सजाय कानुनका आधारमा न्यायालयबाट दिइन्छ । अपराधको गम्भीरताअनुसार कसुरदारलाई कैद सजाय पनि हुन्छ ।  

यसरी स्वतन्त्रता खोस्नुको मूल उद्देश्य  प्रायश्चितको मौका दिएर कसुरदारको आचरणमा सुधार गर्नु हो । यसैले संसारका सबैजसो मुलुकमा राज्य प्रमुखले कसुरदारको सजाय माफी मिनाहा पनि दिने चलन छ । नेपालमा पनि कैद सजाय माफी मिनाहा दिने परम्परा छ ।

संविधानमै असल मनसायबाट व्यवस्था गरिएको यस प्रावधानको प्रायः दुरुपयोग नै भएको छ । विशेषगरी पहुँच हुनेहरूले यस प्रावधानबाट पनि अनुचित लाभ लिएका छन् । एउटा उदाहरण त गत वर्ष सर्वोच्च अदालतले उल्टाइदिएको निर्णय पनि हो । यथार्थमा त्यो राज्यकै लागि लाजमर्दो उदाहरण बन्यो ।

हुनत, गत वर्षभन्दा पक्कै पनि यस वर्ष निर्णय पारदर्शी र परिपक्व भएको हुनुपर्छ । अरू पक्षमा भन्दा पनि कैद छुट पाउने सम्बन्धित कसुरदारका कारण पीडामा परेकाहरूको सहमति लिने विषयलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ । यसमा सरकारी संयन्त्रले हेलचेक्य्राइँ गरे वा बदनियत राखेका खण्डमा समग्र प्रक्रियाकै साख गुम्छ । सार्वजनिक सूचना प्रकाशित गरेकै भरमा पीडितहरूले जानकारी पाउँछन् भन्ने ठान्नु हुँदैन । 

यस्तै आचरणमा सुधार भएको वा असल चालचलन भएको भन्दै कैद छुट गरिएकाहरूलगत्तै अपराधी गतिविधिमा संलग्न भएर पक्राउ परेका पनि उदाहरण छन् । यसैले आचरणमा सुधार भएको सिफारिस गर्दा पनि हेलचेक्य्राइँ वा बदनियत हुनु हुँदैन । गलत सिफारिस र सदर गर्ने सरकारी अधिकारीलाई उनीहरूको निर्णयप्रति उत्तरदायी बनाएमात्र यसको दुरुपयोग कम हुनेछ ।

राष्ट्रपति कार्यालयमा आइपुग्नु अगाडि नै सरकारका विभिन्न अधिकारीहरूले कैद छुटको निर्णयको परीक्षण र परख गरेका हुन्छन् । यस्तै, सामान्यतः मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपतिले स्वीकृत गर्ने अभ्यास छ । तैपनि, मानवीय संवेदना मिसिएका यस्ता विषयमा गलत निर्णय नहोस् भनेर राष्ट्रपतिको कार्यालय पनि सावधान हुनुपर्छ । सम्भवतः गत वर्षको विवादले यसपटक राष्ट्रपतिको कार्यालय पनि सजग भइसकेको होला ।

आशा गरौँ, यस वर्ष कैद छुटको निर्णयमा प्रक्रिया पूरा भएको छ र कतै कसैले बदनियत राखेको पनि छैन । पीडितहरूले राज्यप्रति गुनासो गर्नु नपरोस् र उनीहरूमा प्रतिशोधको भावना पनि नजागोस् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro