site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसियन गेम्समा साख जोगाउने लक्ष्यमा कराते 

काठमाडौं । इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगिता आउन अब एक महिना पनि छैन । एसियाली खेलकुदमा नेपालबाट पदकको आशा गरिएको खेल हो कराते । नेपाली कराते टिमको तयारी कस्तो छ त ?

गत वैशाखदेखि एसियाली खेलकुद प्रतियोगिताको लागि मुख्य लक्ष्य बनाएर कराते टिम अभ्यासमा व्यस्त छ । नेपालको लागि आश गरिएको खेलको रुपमा रहेको कराते खेलाडी १८औं एसियन गेम्समा जसरी पनि पदक ल्याउने लक्ष्य बनाएर अभ्यास गरिरहेका छन् । तर, जति आश गरिएको छ, त्यहीअनुसारको अभ्यास तथा प्रशिक्षण भने भएको छैन । 

प्रशिक्षक दीपक श्रेष्ठ सरकार तथा संघले अपेक्षा गरेअनुसारको तयारीको व्यवस्था नमिलाएको दुखेसो पोख्छन् । प्रशिक्षक श्रेष्ठले भने, “इन्चोन एसियन गेम्समा नेपालको लागि करातेले एकमात्र पदक जितेको थियो । यो पटक पनि सबैले करातेमा आश गरेका छन् । प्रशिक्षक तथा खेलाडीमा प्रेसर परेको छ । तर, त्यो प्रेसरबाट कसरी माथि उठाउने भन्ने कुरा न सरकारले गर्यो न नेपाल कराते महासंघले नै ।”

कराते खेलाडीले अभ्यासमात्रै गरिरहेका छन् भने एक्सपोजरहरू अहिलेसम्म पाएका छैनन् । प्रशिक्षक श्रेष्ठले थपे, “आशमात्र देखाउने काम भएको छ । अन्तर्राष्ट्रिय एक्सपोजरहरू छैन । खेलाडीमा मेडल ल्याउनुपर्छ भन्ने इख त छ तर इखमात्रै भएर पुग्दैन, सेवा सुविधा पनि हुनुपर्छ ।”

एसियन गेम्समा भाग लिने कराते खेलाडीमध्ये एक हुन् दिवस श्रेष्ठ । ८४ केजी तौल समूह मुनी प्रतिस्पर्धा गर्ने दिवसले क्लोज क्याम्पको सुरुवाती समयमा भन्दा हरेक कुरामा सुधार भएको बताए । उनले एसियन गेम्सको तयारीबारे भने, “धेरै नै सुधार भएको छ । मेरोमात्रै होइन, सबै खेलाडीको प्रदर्शन सुधार भएको छ । तर यतिले मात्रै हुँदैन । रिङ अनुभव पनि चाहिन्छ । त्यो आवश्यकता भएको हुँदा वैदेशिक प्रशिक्षण कुरेर बसिरहेका छौं ।”

वैदेशिक प्रशिक्षणका लागि जापान जाने
थप प्रशिक्षणको लागि कराते टिम जापान जाने तयारीमा रहेको छ । तर अझै भन्न सकिने अवस्था भने छैन । यसका लागि कराते महासंघ र सरकारको त्यति तदारुता नदेखाको प्रशिक्षक दीपक श्रेष्ठको भनाइ छ । 

उनले भने, “संघले प्रस्ताव राखेको छ भन्ने कुरा चलेको थियो । त्यो कुरालाई विश्वास नगरी हामीले राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई भेट्याैं । खेलाडी र प्रशिक्षक गएर कुरा गर्दा तपाईहरूको कार्यक्रम ल्याउनुहोस् म पठाउँछु भन्नु भएको छ । आशमात्रै गर्न सकिन्छ, ठोस निर्णय छैन ।”  वैदेशिक भ्रमणको टुंगो यही साता लाग्नेछ ।

एसियन गेम्सलाई नै लक्षित राखेर कराते टिम पोखरामा २ महिना अभ्यास गरेर काठमाडौं फर्किएको १ साता पनि भएको छैन । पोखरामा निकै राम्रो अभ्यास भएको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

“ट्रेनिङको लागि आएको भनेपछि त्यही अनुसारको व्यवस्था मिलाइदिएको थियो । अभ्यास राम्रो भयो । सरकारले १४ सय भत्ता दिएको थियो । त्यसले खान र बस्नमात्रै पुग्यो । अन्य डाइटदेखि धेरै कुरामा  पोखराबासीको साथ पायौं । अन्य सबै खेलाडीको सामग्रीहरू हामीले प्रयोग गर्न पायौं,” प्रशिक्षक दीपकले भने । पोखराबाट फर्किएपछि कराते खेलाडीले बौद्धमा बसेर गोठाटारमा तयारी गरिरहेका छन् । भौतिक संरचनाकै अभावमा कराते टिम बौद्ध पुगेको हो ।

एसियन गेम्सको तयारीबारे प्रशिक्षक श्रेष्ठ पूर्णरुपले सन्तुष्ट भने छैनन् । “राम्रो अभ्यास भइरहेको छ तर खेलाडीमा मानसिक स्थिति ठीक छैन । किनभने स्कुलमा पढ्यौं–पढ्यौं तर परीक्षा भएन भने के हुन्छ ? त्यस्तै भएको छ,” उनले भने ।

प्रशिक्षक श्रेष्ठले थपे, “खेलाडीको रेकर्ड हुन्छ, त्यही रेकर्डलाई मापन गर्दै अन्य देशले अभ्यास गरेको हुन्छ । तर हाम्रोमा त्यस्तो छैन । एउटा अन्तर्राष्ट्रिय खेल खेल्न पाएका छैनौं अनि अनुमान लगाउन सकिन्छ ? हामी त अन्दाधुन्धमा जाँदैछौं ।”

नेपाली खेलाडीले यी समूहमा भाग लिँदैछन् 
यतिबेला ८ जना कराते खेलाडी एसियन गेम्सको लागि तयारीमा व्यस्त छन् । नेपाली खेलाडीले करातेको ८ स्पर्धामा भाग लिँदैछन् । पुरुषतर्फ ६० केजीमा सोनाम लामाले प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै, ६७ केजी तौल समूहमा विजय लामा र ८४ केजी तौल समूहमुनी दिवस श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दैछन् । दिवससँग १७औं इन्चोन एसियन गेम्सको अनुभव छ । त्यस्तै, पुरुषतर्फ कै व्यक्तिगत कातामा पर्शुराम बास्तोलाले प्रतिस्पर्धा गर्दैछन् । उनले यसअघिको इन्चोन एसियन गेम्समा पनि खेलेका थिए ।

त्यस्तै, महिलातर्फ ५० केजी तौल समूहमा अनु अधिकारीले प्रतिस्पर्धा गर्दैछन् । अनुले यसअघि इन्चोन एसियन गेम्स पनि खेलेकी थिइन् । त्यस्तै, ६१ केजी तौल समूह मुनीमा सुनिता महर्जन र ६८ केजी तौल समूह माथिमा रिता कार्कीले नेपालबाट खेल्ने छिन् । महिलातर्फको व्यक्तिगत कातातर्फ चञ्चला दनुवारले खेल्नेछिन् ।

अभ्यासमा व्यस्त दिवसले मेडल जित्ने नै भनेर तयारी गरिहेको बताए । उनले भने, “खेलमा पनि उत्कृष्ट नै प्रदर्शन गर्ने भनेर अभ्यास गरिरहेका छौं । पहिले एसियन गेम्समा पनि राम्रो प्रदर्शन गरेको थिएँ । योपाली त्यो भन्दा राम्रो नतिजा ल्याउने लक्ष्यमा छु ।” 

सन् २०१४ को कोरियामा सम्पन्न एसियन गेम्समा दिवस पाँचांै भएका थिए । दोस्रो चरणसम्म पुगेका दिवस कतारका खेलाडीसँग पराजित हुँदै बाहिरिएका थिए । दिवसले भने, “भाग्यले साथ दियो र अभ्यास गरेअनुसारको प्रदर्शन भयो भने स्वर्ण पदक पनि ल्याउन सकिन्छ ।”

फाइल तस्बिर
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro