
काठमाडौं । वाग्मती प्रदेश १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा टिम च्याम्पियन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सम्पन्न प्रतियोगितामा वाग्मती कुल ३६ स्वर्णसहित टिम च्याम्पियन भएको हो । तीनदिने प्रतियोगितामा सात रजत र ११ काँस्य पदक जित्यो । यस प्रतियोगितामा एथलेटिक्समा सबैभन्दा धेरै २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा वाग्मतीले १२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्न बलियो साथ दिएको हो ।
गत वर्ष च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो । स्थानीय तहबाट नै छनोट गरी युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सात प्रदेशबाट कुल ६८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य गरी २३० पदकका लागि प्रतिस्पर्धा गरेका थिए । लुम्बिनी प्रदेश तेस्रो भयो ।
यू–१८ वर्षमुनि उमेरसमूहका विद्यार्थीले प्रतिस्पर्धा गर्ने रनिङ शिल्डमा उसु, तेक्वान्दो, कराते, भलिबल, कबड्डी र एथलेटिक्स गरी कुल ६ खेलमा प्रतिस्पर्धा भएको थियो । लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कांस्य पदक प्राप्त गर्यो । त्यसपछि गण्डकी चौथो, कर्णाली पाँचौँ, मधेस छैटौँ र कोसी प्रदेश पुछारमा रह्यो ।
गण्डकी र कर्णालीले समान चार स्वर्ण पदक प्राप्त गरे । गण्डकीले ११ रजत र १७ कांस्य तथा कर्णालीले ६ रजत र १९ कांस्य पदक जिते । मधेसले भने तीन स्वर्ण, दुई रजत र १० कांस्य जित्यो । कोसी प्रदेश भने स्वर्ण पदकविहीन बन्यो । कोसीले समान सात रजत र आठ कांस्य पदक जित्यो ।
टिम च्याम्पियन टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरेका थिए ।
अनिशाले तोडिन् १८ वर्ष पुरानो कीर्तिमान
वाग्मती प्रदेशकी अनिशा थारुले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत तथा कर्णालीकी सरिता शाही काँस्य पदक जिते ।
यससँंगै तीनदिने प्रतिस्पर्धामा कुल ९ वटा जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन २, दोस्रो दिन चार र अन्तिम दिन तीन कीर्तिमान बनेका हुन् । शुक्रबार छात्रा ट्रिपलजम्पसहित छात्र/छात्राको चार गुणा एकसय मिटर रिलेमा गरी तीन कीर्तिमान बने ।
कबड्डीमा वाग्मतीलाई दुई स्वर्ण
शुक्रबार नै सम्पन्न फाइनलमा कबड्डीतर्फ छात्र र छात्रा दुवैमा वाग्मतीले स्वर्ण जित्यो । दुवै फाइनसमा वाग्मतीले लुम्बिनीलाई हराएको हो । छात्रामा सुदूरपश्चिम र कर्णाली तथा छात्रमा कोसी र मधेस प्रदेशले काँस्य पदक जिते ।
भलिबलमा सुदूर र गण्डकीलाई स्वर्ण
भलिबलमा भने छात्रमा गण्डकीले स्वर्ण, लुम्बिनीले रजत र सुदूरपश्चिमले कांस्य जित्यो । छात्रामा सुदूरपश्चिमले स्वर्ण, लुम्बिनीले रजत र गण्डकीले काँस्य पदक जितेका छन् ।