site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसियन गेम्समा भाग लिने खेलाडीको दुखेसो– राज्य कहाँ छ ?

काठमाडौं । १८औं एसियाली खेलकुद प्रतियोगिता जति नजिकिँदो छ, त्यति नै एसिया महादेश तातिँदो अवस्थामा छ । यसको रौनकले सन् १९५१ को पहिलो एसियन गेम्समै सहभागिता जनाएको नेपाल पनि अछुतो हुने कुरै भएन ।

१८औं एसियाली खेलकुद प्रतियोगिता इन्डोनेसियामा यही अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म आयोजना हुँदैछ । यो एसियन गेम्समा नेपालको तर्फबाट २९ खेलमा १८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

करिब ३ महिनादेखि एसियन गेम्सको तयारीमा रहेको नेपालका विभिन्न खेलका खेलाडी कत्तिको तयारी अवस्थामा छन् ? यसअघिसम्म अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रदर्शन निरन्तर खस्किरहेको अवस्थामा यो पटक नेपालले कुनै त्यस्तो जादू गर्ला ? अहिलेसम्म एउटामात्रै रजत पदक भित्र्याएको नेपालले स्वर्ण पदक चुम्न सक्ला ? खेलाडीको कुरा सुन्ने र सरोकारवालाको तयारी हेर्ने हो भने स्थिति उत्साहजनक छैन । 

भारतको कोलकत्तामा अभ्यास गरी एसियन गेम्सको लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने एथ्लेटिक्स खेलाडी यामसाजन सुनारलाई कहिलेकाहीँ खेलाडी बनेकोमा पछुतो लाग्छ । उनी आफ्नो प्रदर्शनबाट होइन, सरकारी तयारी र संघले उपलब्ध गराउने व्यवस्थाले उनको मन बिझ्ने गरेको छ ।

आशा बढी, सेवासुविधा छैन
त्यसो त जब–जब ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नजिकिन्छ, त्यतिबेला खेलकुद संघ र राष्ट्रिय खेलकुद परिषद् तथा युवा तथा खेलकुद मन्त्रालय तात्ने गरेका छन् । विशेषगरी नेपाली खेलाडीले पनि यही बेला सुविधाजनक अभ्यास गर्न पाउँछन् । यद्यपि महत्वपूर्ण समयमा पनि राम्रो र प्रभावकारी अभ्यासको अभावमा खेलाडीहरू भने बेचैन हुने गरेका छन् ।

यामसाजन भन्छन्, “पैसामात्रै दिएर खेल जित्दैन । हामी ३ महिनासम्म होटलमा बस्यौं, कसले हामीलाई चेक गर्न आए ? हाम्रो अवस्था के छ, कसैले विचार गरे ? विधि मात्रै पूरा गरेर कसरी मेडल आउँछ ? यही अवस्था रहिरहने हो भने नेपालले कहिले पनि स्वर्ण पदक जित्दैन । दिनको १४ सयमात्रै दिएर हुन्छ ? मेडल ल्याउनलाई के गर्नुपर्छ ? ध्यान गएन ।”

उनले थपे, “कमसेकम मेडिकल, फिटनेसको अवस्था कस्तो छ ? कस्तो खाइरहेका छन् ? के हामी होटलमा भात खान मात्रै हामी बसेका हौ त ? पेट पाल्न त हाम्रो आफ्नो घर छ । घरमा बसे भइहाल्छ नि । त्यही भएर मलाई लाग्छ यसले गर्दा कहिले पनि नेपालको गोल्ड मेडल ल्याउने सपना सायद अधुरै रहन्छ । सबैको पीडा मेरो जस्तै हो ।”

अन्तर्राष्ट्रिय जगतमा नेपालभन्दा पछि ठूला प्रतियोगितामा भाग लिएका राष्ट्रहरू निकै अघि बढेका छन् । तर नेपालको अवस्था भने पहिलेको भन्दा खस्किँदो अवस्थामा रहेको कुरा स्वीकार्छन् यामसाजन । “युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र खेल संघ यो सबै हुने भनेकै खेलाडीकै लागि हो । तर यो कुरा नेपालमा लागु हुदैन । हाम्रो अवस्था दयनीय छ,” आक्रोशसँगै निराश भाव प्रकट गर्दै उनले भने ।

राष्ट्रिय कीर्तिमान भंग गर्ने लक्ष्य
यामसाजन सुनारले विगत लामो समयदेखि नै एसियन गेम्सको लागि भनेर विशेष तयारी गरिरहेका छन् । सन् २०१४ मा भएको एन्चोन एसियन गेम्समा पनि यामसाजनले खेलेका थिए । तर उनी मसलको समस्याले गर्दा त्यहाँ राम्रो प्रदर्शन गर्न सकेनन् । यो पटक भने उनी राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

उनले भने, “हाम्रो एथ्लेटिक्स संघले पनि इन्डोनेसियाको वातावरणलाई हेरेर कोलकत्तामा वैदेशिक प्रशिक्षणको लागि पठायो । समग्रमा भन्ने हो भने यो पटक हाम्रो टिमले नसोचेको नतिजा दिन सक्छ । बीचमा म बिरामी परें, भनेको जस्तो टे«निङ गर्न पाइएन । पछिल्लो चरणमा व्यस्त समयमा पनि अभ्यास गरिरहेको छु ।”

उनले एथ्लेटिक्सको १०० र २०० मिटर स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् । यी दुबै स्पर्धामा राष्ट्रिय कीर्तिमान कायम गरेका यामसाजन आफ्नै राष्ट्रिय कीर्तिमान भंग गर्ने दाउमा छन् । 
उनले भने, “अहिलेको ट्रेनिङअनुसार जतिबेला पनि राष्ट्रिय कीर्तिमान गर्न सक्ने भएको छु । अब इन्डोनेसियामा कस्तो, के हुने हो । कीर्तिमान भन्दा पनि राम्रो प्रदर्शन गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै मैले कोलकत्तामा धेरै अभ्यास गरे ।”

उनको १०० मिटरमा १० सेकेन्ड २८ मिलिसेकेन्डको रेकर्ड छ । त्यस्तै, २०० मिटर दौडमा उनको टाइमिङ २१ सेकेन्ड ४१ मिलिसेकेन्ड रहेको छ । उनी यही आफ्नो राष्ट्रिय कीर्तिमानलाई भंग गर्ने लक्ष्यका साथ इन्डोनेसिया प्रस्थान गर्दैछन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro