site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुवासको चुनौतीपूर्ण पुनरागमन

काठमाडौं । सुवास खकुरेल नेपाली क्रिकेटलाई यहाँसम्मको यात्रा पार गराउन महत्वपूर्ण भूमिका खेलेका खेलाडी हुन् । उनी करिब ३ वर्ष राष्ट्रिय टिम बाहिर रहे । अहिले उनले टिममा पुनरागमन गरेका छन् ।

खेलाडी जीवन त्यसै पनि जोखिमपूर्ण नै हुन्छ । त्यही परिवेशमा चोटग्रस्त हुन पुगेका सुवासले कहिल्यै हार मानेनन् । ३ वर्षसम्म राष्ट्रिय टिमबाहिर रहेका सुवास त्यस्ता विकेटकिपर ब्याट्सम्यान हुन्, जसको ठाउँ अरु कसैले लिन सकेको छैन ।

सन् २०१५ नोभेम्बरमा युएईको अबुधाबीमा भएको आईसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवा न्युगिनीसँगको दुई खेलपछि उनी नेपाली टिम बाहिर रहे । उनले पपुवा न्युगिनीसँगको पहिलो खेलमा ६३ रन बनाएका थिए । तर, दोस्रो खेलमा भने सुवास शून्य रनमा नै आउट भएका थिए ।

त्यसपछि खराब लयमा रहेका सुवास नेपाली टिममा परेनन् भने बाइक दुर्घटनामा उनको हात फ्याक्चर हुन पुग्यो । त्यसपछि उनले करिब ६–७ महिना बल र ब्याट समाएनन् । 
टिममा पुनरागमन गरेका सुवासले भने, “सबैजना साथीभाइ बाहिर गएर खेल्दै थिए, जित्दै थिए । मचाहिँ चोटसँग लडिरहेको थिएँ । गाह्रो भएको थियो त्यो समय ।” 

सुवासले थपे, “लगभग ६–७ महिनापछि ब्याटिङ र फिल्डिङ सुरु गरेको थिएँ । त्यहीबेला स्कटल्यान्डका म्याट मछान भन्ने खेलाडी यही करणले बाहिरिनु भएको थियो । पछि उहाँले सन्यास लिनुभयो म पनि त्यही हुन्छु जस्तो लागेको थियो । तर भगवानको आशिर्वादले गर्दा फिट भएँ र अब पुनरागमन गर्न खोजिरहेको छु ।”

ओपनिङमा सुवासको खाँचो
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले सुवास टिममा फर्किएसँगै ओपनिङ राम्रो हुने प्रतिक्रिया दिए । टमाटाले भने, “सुवास राम्रो लयमा छन् । सुवासले पनि राम्रो प्रदर्शन गरेर आफूलाई चिनाउने समय हो यो । टिमले पनि उनलाई ठूलो विश्वास गरेको छ । मलाई लाग्छ, उनले राम्रो खेल्नेछन् ।”

त्यसो त सुवासको पुनरागमन भएसँगै नेपाली क्रिकेट टिममा उत्साह पनि जागेको छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भने, “सुवासले जहिले पनि नेपालको जितमा महत्वपूर्ण प्रदर्शन गरेका छन् । चोटमुक्त हुँदै घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै हामीलाई विकेटकिपरको पनि खाँचो थियो । त्यसैले सुवासले राम्रो खेल्दै स्थान बनाएका हुन् ।”

सन् २०१५ देखि सुवास नेपाली क्रिकेट टिम बाहिर रहँदा नेपाली टिम सधैं ओपनिङमा चुक्ने गरेको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप, आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु र विश्वकप छनोट जस्ता ठूला प्रतियोगितामा नेपाली क्रिकेट टिमको ओपनिङ एकदम फितलो भयो ।

यो ३ वर्षे अवधिमा नेपाली क्रिकेट टिमले ओपनिङमा धेरै फेरबदल पनि गरेको छ । यसो गर्दा नेपालको खेल कुनै टिमसँग उथलपुथल नै भएको तितो यथार्थ पनि छ । सुवास खकुरेलको अभावमा मिडिल अर्डर ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ओपनिङमा पठाउनेदेखि नयाँ ओपनिङ ब्याट्सम्यानलाई स्थान दिनेसम्म प्रयोग भयो । मुख्य प्रशिक्षक टमाटा र कप्तान यो समस्याले हैरान पनि बने ।

सुवास खकुरेल त्यस्ता खेलाडी हुन्, जसले नेपाललाई यो स्थानसम्म आइपुग्न निकै योगदान गरे । सुवासको विकेटकिपिङ मात्रै हैन, ब्याटिङ पनि त्यतिकै सशक्त रहेको छ ।
टि–ट्वान्टी विश्वकपमा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् सुवास । सन् २०१४ मा बंगलादेशमा सम्पन्न भएको टि–ट्वान्टी विश्वकपमा सुवासले उत्कृष्ट प्रदर्शन गरेका थिए । सुवासले अफगानिस्तानविरुद्ध ५६ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । सुवासले ५३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै विश्वकपमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए । सुवासकै उत्कृष्ट प्रदर्शनमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो ।

२५ वर्षीय सुवास उमेर समूहदेखि नै नेपाली टिममा आबद्ध छन् । सुवासले आफू अझै नेपाली क्रिकेटको लागि केही गरेर देखाउने बताए । भने, “अझै ५–६ वर्ष नेपालका लागि खेल्न सक्छु । नेपालबाट खेल्दा सधै राम्रो गरिरहेको थिएँ । अझैपनि राम्रो प्रदर्शन गर्ने मसँग विश्वास छ । नेपालको लागि खेल्नु भनेको गर्वको कुरा हो । त्यो सबैले पाउँदैन । त्यसले गर्दा पनि म मोटिभेट हुन्थें, पहिलेको योगदानहरु सम्झिन्थें । त्यसले गर्दा पनि मलाई पुनरागमन गर्न सजिलो भयो ।”

साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । इंग्ल्यान्ड र नेदरल्यान्ड भ्रमणमा सुवास नेपाली टिममा छन् ।

लामो समयपछि राष्ट्रिय टिममा पुनगरामगन गरेका सुवासको लागि चुनौतिको साथै अवसर पनि छ । चुनौतिलाई अवसरमा बदल्दै उत्कृष्ट प्रदर्शन गरेमा सुवासले आगामी दिनमा निरन्तर राष्ट्रिय टिममा स्थान बनाउने छन्, तर आफ्नो क्षमताअनुसार उनले खेल्न नसके फेरी टिम बाहिर बस्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro