site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘शक्ति : द पावर अफ नेपाली क्रिकेट’

काठमाडौं । नेपाली क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । कीर्तिमानधारी शक्तिले सन्यास लिने निर्णय गरेसँगै अब उनीजस्ता खेलाडी नेपालको लागि खड्किने छ ।

इंग्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडी शक्तिले नेपालमा आगामी दिनमा हुने कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै आफ्नो खेलाडी जीवनबाट विदा हुनेछन् । तर, उनीलाई राष्ट्रिय प्रतियोगितामा भने मैदानमा देख्न पाइनेछ ।

साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । यो दुबै सिरिजमा शक्ति गौचन विशेष रहने छन् । किनभने विदेशी भूमिमा शक्तिको यो अन्तिम खेल हुनेछ ।

बुधबार नेपाली क्रिकेट टिमलाई विदाईको अवसर पारेर शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै शक्तिले भने, “मैले दुबई भ्रमणभन्दा अगाडि नै भनिसकेको थिएँ कि मेरो लाष्ट मिसन भनेको ओडिआई नेशन हो । टेष्ट प्लेइङ त भ्याउँदै भ्याउँदैन । ओडिआई मान्यता प्राप्त पाएपछि त्यसको सही समय हेरेर मैले सन्यासको घोषणा गरेको हो ।”

शक्तिले थपे, “सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ओडिआई मान्यता पाएपछि हामीले झनै मेहनत गर्न थालेका छन् । युवा खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । हाम्रो नेपाली क्रिकेटलाई कसरी माथि पुर्याउने भनेर हरेक कुराको विश्लेषण गरेर नै मैले सन्यास लिने निचोडमा पुगेको हो ।”

कप्तान पारस र प्रशिक्षक टमाटाले शक्तिबारे यसो भने
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले शक्ति गौचनले नेपाली क्रिकेटको लागि सबै कुरा समर्पण गरेको बताएका छन् ।

प्रशिक्षक टमाटाले भने, “सन् २००१ मा शक्तिले यु–१७ को कप्तानी गरेका थिए । त्यसबेला बंगलादेशमा आईसीसी र एसीसीको कार्यक्रम थियो । नेपाली क्रिकेटमा उनको यात्रा लामो छ ।”

टमाटाले थपे, “नेपाली क्रिकेटलाई शक्तिले धेरै दिएको छ । जुनियर खेलाडीलाई प्रोत्साहन गर्नेदेखि टिमलाई हरेक कुराको सहयोग गर्नेमा दखल शक्तिले राख्ने गर्छन् । उनको बारेमा व्याख्या गर्नु भन्दा पनि आगामी दिनको शुभकामना भन्छु ।”

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले आफू सानो हुँदा कहिले पनि शक्तिसँग क्रिकेट खेल्ने अवसर पाउने नसोचेको बताए । “उहाँसँग खेल्ने मौका पाएँ । म स्कुलमा हुँदा उहाँ यु–१९ र सिनियर टिमका लागि खेल्नु हुन्थ्यो । कहिले पनि सोचेको थिइनँ की शक्ति गौचन जस्तोसँग क्रिकेट खेल्न पाउँछु, डेसिङ रुम शेयर गर्नु पाउँछु भनेर । मलाई विश्वास छ, राज्यले उहाँको योगदानको कदर गर्दै राम्रो पुरस्कारको घोषणा गर्नु हुनेछ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा हामीले मिस गर्नेछौ ।”

खड्काले थपे, “शक्ति गौचन नेपाली क्रिकेटमा सबैभन्दा बढी मेहनेत गर्ने खेलाडी । मलाई लाग्दैन, उहाँको उमेरसम्म मैले क्रिकेट खेल्न सक्छु होला । किनकी उहाँको खेलप्रति जुन लगाव छ । उहाँले भैरहवामा पनि एउटा क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइसक्नु भएको छ ।” 

यी हुन् शक्ति गौचनका दुर्लभ कीर्तिमान
सन् २०१२ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरअन्तर्गत मलेसियाविरुद्ध शक्ति गौचनले कीर्तिमान राखेका थिए । १० ओभर बलिङ गरेका शक्तिले ८ मेडन ओभर राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिएका थिए । जुन बेष्ट इकोनोमीको कीर्तिमान अहिलेसम्म नेपालका कुनै पनि खेलाडीले तोड्न सकेका छैनन् ।

त्यसो त, शक्तिले सिनियर टिमबाट ह्याट्रिक विकेट पनि लिएका छन् । आईसीसी टि–ट्वान्टी छनोटको खेलमा डेनमार्क विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

शक्ति गौचन बलिङमा मात्रै चम्किँदैनन्, ब्याटिङमा पनि उनी पहिले त्यतिकै शसक्त थिए । उनले अहिलेसम्म २ शतक बनाएका छन् ।  सन् २००१ मा माल्दिभ्सविरुद्ध उनले यु–१९ टिमबाट शतक प्रहार गरेका थिए । त्यस्तै, उनको नाममा सिनियर राष्ट्रिय टिममा पनि शतक छ ।

सन् २००५ मा इटालीविरुद्ध शक्तिले शतक बनाएका थिए । शक्ति गौचन त्यस्ता खेलाडी हुन्, जसले राष्ट्रिय टिमबाट सबैभन्दा पहिले १००० रन बनाएका थिए । भैरहवामा जन्मिएका ३४ वर्षीय शक्तिका लागि स्मरणीय क्षण भने सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि–ट्वान्टी विश्वकप नै हो । 

“२०१४ को टि–ट्वान्टी विश्वकप नै मेरोे सबैभन्दा स्मरणीय क्षण हो । मैदानभित्र राष्ट्रिय गीत गाएर पहिलो पटक अन्तर्राष्ट्रिय टि–ट्वान्टी खेल खेल्नु त्यो क्षण स्मरणीय छ,” शक्तिले भने । 

सन्यासपछि के ?
शक्ति गौचनले आफ्नै ब्याचका खेलाडीले नेपाललाई टेष्ट नेशनको उपलब्धी दिलाएको हेर्ने रहर भएको बताए । उनले भने, “अहिलेको टिम मेरो अन्तिम ब्याच हो । यो ब्याचले नै टेष्ट प्लेइङ नेशनको उपलब्धी प्राप्त गरोस् । यो नै मेरो लागि बेष्ट हुने छ ।”

१७ वर्षे अन्तर्राष्ट्रिय खेलाडी यात्रालाई पूर्णविराम लगाउन लागेका शक्तिले आगामी दिनमा भने नेपाली क्रिकेटको कुनै निकायमा रहेर काम गर्ने बताए । शक्तिले भने, “अहिले त्यस्तो खासै केही विचार त गरेको छैन । कसरी हुन्छ कुन ठाउँबाट गर्दा नेपाली क्रिकेटलाई माथि उठाउन सकिन्छ, त्यो ठाउँलाई नै रोजेर लाग्नेछु ।” शक्तिले थपे, “सबैभन्दा पहिले त म टिमलाई मिस गर्नेछु । तर म खेलाडीको रुपमा नभएपनि अरु कुनै रुपमा नेपाली क्रिकेट टिमसँगै हुनेछु ।”

 

प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro