काठमाडौं । बिहीबारबाट विश्वको ध्यान रसियामा जारी विश्वकपले खिचेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मको चासो वल्र्डकपमा छ । यसै सन्दर्भमा हामीले केही कलाकारलाई तपाईंको मन पर्ने, देश, खेलाडी कुन हो भनेर सोधेका छौं ।
विल्सनविक्रम राई
अभिनेता विल्सनविक्रम राईलाई ब्राजिल मन पर्छ । धेरैपटक कप उचालेर राईलाई ब्राजिल मन परेको होइन । “उनीहरुको काम, दाम, धर्म, व्यवसाय जे भने पनि फुटबल नै, उनीहरुको नसा-नसामा फुटबल बग्छ, त्यसैले मलाई ब्राजिल मन पर्छ,” छक्का पञ्जा–३ को सुटिङका क्रममा पोखरामा रहेका राईले टेलिफोनमा भने, “अरु खेल्नका लागि फुटबल खेल्छन्, ब्राजिलियनहरु बाँच्नका लागि फुटबल खेल्छन् । त्यहाँको अर्थतन्त्र नै फुटबलमा निर्भर छ, त्यसैले हो मलाई ब्राजिल मन परेको ।”
नेयमार उनलाई मन पर्ने खेलाडी हुन् । “हाम्रो काठमाडौंका मेयरसाबले पठाउनु भएका उहाँकै नातासमेत पर्ने नेवार भाइ मलाई मनपर्ने खेलाडी हुन्,” ठट्टा गर्दै राई भन्छन्, “मलाई ब्राजिलको जर्सी मन पर्नुको कारण पनि छ, साउनमा बोलबम जान अर्को पहेँलो कपडा किन्नै पर्दैन ।”
झापामा रहँदा सानैदेखि फुटवल हेर्ने राई आफ्नो घरमा टेलिभिजन नहुँदा अरुको घरमा गएर हेर्ने गरेको सम्झन्छन् । “घरघरमा टेलिभिजन हुँदैनथियो, गाउँमा एउटा घरमा टेलिभिजन हुन्थ्यो, गाउँ नै उल्टिएर त्यहीँ पुग्थ्यो, हामीलाई लाग्थ्यो, त्यही घरमा विश्वकप हुँदैछ,” उनी भन्छन्, “त्यही बेला रोनाल्डोको हेयरस्टाइल कट केस काटेर हिँड्थेँ म ।”
विपीन कार्की
अभिनेता विपीन कार्की फुटबल समर्थनका हिसाबले चलायमान अभिनेता हुन् । उनी सधैं एउटै देशको समर्थक भएर बस्न सकेनन् । यो वल्र्डकपमा उनी जर्मनीको सपोर्ट गर्दैछन् ।
विपीन चलचित्रमा जति लगाव राख्छन्, त्यति नै फुटवलमा पनि झुकाव राख्छन् । इङ्लिस प्रिमियर लिगदेखि च्याम्पियन्स लिग, स्पेनिस ला लिगा लिग, बुन्डेसलिगा र कोपाडेलरे सम्मलाई फलो गर्छन् । कुन खेलाडी कति फर्ममा छन्, उनलाई जानकारी छ । नामदेखि जर्सी नम्बरसम्म मुखमै छ ।
अघिल्लो विश्वकपबाट कोको चम्किए र कस-कसले त्यसकै जगमा क्लबको यात्रा गरे, उनलाई जानकारी छ । यो विश्वकपमा उनले आशाको नजरले हेरेका खेलाडी इजिप्टका मोहम्मद शाला हुन् । “लिभरपुलबाट खेलिरहेका मोहम्मद शाला यो विश्वकपबाट चम्किने खेलाडी हुन् भन्ने मलाई लाग्छ,” विपीन भन्छन्, “लिभरपुलमा उनले निकै राम्रो खेल खेलिरहेका छन्, उनको त्यो खेल कला विश्वले देख्दैछ ।”
हिजो भएको रसिया र साउदी अरेबियाबीचको खेल उनले अनुमान गरेजस्तै भयो रे ! रसियाले नै जित्छ भन्नेमा पहिला नै ढुक्क रहेको बताउने विपीन रमाइलोका लागि बेट पनि राख्छन् । तर, रमाइलोका लागि परिवारका सदस्यसँग मात्रै ।
आस्था राउत
गायिका आस्था राउतलाई हिजो राति भएको रसिया फुटबलको ओपनिङ हेर्न नपाएकोमा थकथक लागेको छ । “राति ११ बजेसम्म रेकर्डिङको काम थियो, त्यसैले ओपनिङ नै हेर्न पाइन, निकै नरमाइलो लागेको छ,” राष्ट्रिय युवा सम्मेलन–२०७५ का लागि पोखरा पुगेकी आस्थाले भनिन् ।
उनले अहिलेसम्म कसलाई सपोर्ट गर्ने भन्ने निर्णय गरेकी छैनन् । भन्छिन्, “जसले राम्रो खेल्दै जान्छ, त्यसैलाई सपोर्ट गर्ने हो, राम्रो खेल्ने र फेयर खेल्नेलाई मेरो सपोर्ट रहन्छ ।”
सानो छँदा उनी इङ्ल्यान्डको समर्थक थिइन् । डेभिड बेकह्याम उनलाई मनपर्ने खेलाडी हुन् । गोलरक्षकमा भने जर्मनीका ओलिभर कान उनको फेवरेट प्लेयर हुन् । डेभिड भएकै कारण इङल्यान्ड मन पराएकी आस्थालाई अहिले मेसी, रोनाल्डो र नेमार मनपर्ने खेलाडी हुन् ।
स्वस्तिमा खड्का
नायिका स्वस्तिमा खड्का विश्वकप फलो गर्दिनन् । फुटवलबारे आफूलाई खासै जानकारी नरहेको भन्दै उनी नजानेको विषयमा नबोलेकै राम्रो भन्छिन् ।
शिशिर योगी
गायक शिशिर योगीले आजसम्म वल्र्डकप हेरेकै छैनन् । कारण– विश्वकपमा नेपाल नहुनु । उनको प्रतिबद्धता छ– नेपाल जबसम्म विश्वकपमा पुग्दैन, त्यो दिनसम्म म हेर्दिनँ ।
“धेरै वर्षपहिले साथीहरुले कर गरेपछि म विश्वकप हेर्न बसेको थिएँ, तर हेर्न सकिन,” उनी भन्छन्, “हाम्रा कति विकट त्यस्ता ठाउँ छन्, जहाँ सिटामोल खान नपाएर जनताको ज्यान गैरहेको छ । यस्तो अवस्थामा फुटबलमा रमाएर म बस्न सक्तिनँ ।”