site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाँच मन्त्री फेरिए, फेरिएन मूलपानी क्रिकेट मैदान

काठमाडौं । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य थालिएको लामो समय भइसक्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन । २०७१ सालदेखि निर्माण कार्य अघि बढे पनि मैदानमै पर्ने करिब ५२ आना जग्गाको मुआब्जाको फाइल बल्ल क्याबिनेटमा पुगेको छ ।

मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान समयमै निर्माण कार्य सम्पन्न हुन्छ र सुविधासम्पन्न मैदानमा ठूला अन्तर्राष्ट्रिय खेल खेल्न पाइन्छ भन्ने सपना क्रिकेट खेलाडी र खेलप्रेमीको थियो । तर, त्यो सपना सरकारको लाचारीपनका कारण तुहिएर गएको सरोकारवाला बताउँछन् ।

निर्माण कार्य थालिएको करिब ४ वर्षपछि बल्ल मैदानको बीच भागमै पर्ने ५२ आना जग्गाको विवादसम्बन्धी फाइल युवा तथा खेलकुद मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको छ । 
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले ५२ आना जग्गाको विवाद क्याबिनेटमा पठाइसकेको बताए । मन्त्री विश्वकर्माले भने, “जग्गाको साटो जग्गा नै दिने भन्ने कुरा छ ।

सट्टापट्टा गर्दा खेलकुद परिषद्भित्रै रहेको जग्गा दिने भन्ने समझदारी बनेको छ । त्यो फाइल क्याबिनेटमा पठाएको छु । अहिले मन्त्रालयमा अड्किएको छैन । मन्त्रालयबाट अगाडि बढिसक्यो । अब क्याबिनेटमा छलफल हुन्छ ।”

मन्त्री विश्वकर्माले अनुकूल भएमा आउने क्याबिनेटबाटै यो विषयबारे निर्णय हुने बताए । क्याबिनेटबाट पास भइसकेपछि कति समयपछि काम अगाडि बढ्ला भन्ने प्रश्नमा मन्त्री विश्वकर्माले भने, “क्याबिनेटबाट भूमिसुधार मन्त्रालयअन्तर्गत मालपोत कार्यालय जान्छ । त्यसपछि विवाद अन्त्य हुन्छ र हामी निर्माण थालिहाल्छौं ।”  

निरीक्षण धेरै, काम शून्य
खेलकुदको सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालय तथा अन्य निकायमा आएलगत्तै मन्त्री तथा पदाधिकारी मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निरीक्षण गर्न पुग्छन् । मैदानको टेन्डर आह्वान गरेदेखि अहिलेसम्म ५ जना युवा तथा खेलकुद मन्त्रीले मैदानमा पटक–पटक पाइला टेकिसकेका छन् ।

२०७१ सालमा मूलपानी क्रिकेट मैदानको टेन्डर आह्वान हँुदा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल थिए । २०७१ सालदेखि अहिलेसम्म ५ जना खेलकुदमन्त्री परिवर्तन भइसकेका छन् । सबै मन्त्रीले क्रिकेट मैदान निर्माण तीव्र गतिमा हुने आश्वासन दिए पनि जग्गा विवादकै काम अगाडि बढ्न सकेको छैन । 

तर अब पहिलेको जस्तो नहुने मन्त्री विश्वकर्मा बताउँछन् । मन्त्री विश्वकर्माले भने, “तीव्र गतिमा अगाडि बढ्ने संकल्प अहिलेको सरकारले लिएको छ । त्यसकारण मिनेट–मिनेटको महत्व वर्तमान सरकारले बुझेको छ । निर्माणलाई तीव्र गतिमा लाने योजनामा छौं । अबको डेढ–दुई वर्षभित्र पूर्णरुपले खेल सुचारु गर्ने हिसाबले हामी लागिरहेका छौं ।”

मन्त्री बनिसकेपछि विश्वकर्मा पनि धेरै पटक मूलपानी क्रिकेट मैदानको वास्तविकता बुझ्न पुगिसकेका छन् । तर, मैदानको बीच भागमै पर्ने जग्गाको विवाद कहिले समाधान होला ? अहिलेसम्म टुंगो लागेको छैन । मन्त्री विश्वकर्माले भने, “नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता त पायो अब मूलपानीको क्रिकेट मैदान के हुन्छ भन्ने प्रश्न उठेको थियो । मैले त्यसलगत्तै मैदान निरीक्षण गरें । त्यसपछि मैदानबाट नै मैले एक महिनाभित्र समस्या समाधान गर्छु भनेको थिएँ । त्यसपछि २–३ पटक नै मैदानको निरीक्षण गरिसकेको छु ।”

दोषारोपणमै वर्षौं बित्यो
मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना बनेको लामो समयपछि २०७१ सालमा निर्माण कार्य थालनी भयो । तर, अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाउने जिम्मा पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयबीच समन्वय नहुँदा निर्माणमा कार्यमा ढिलाइ भएको थियो । निर्माण थालनी गर्दा युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री पुरुषोत्तम पौडेल थिए भने यता राखेपमा सदस्य सचिव युवराज लामा थिए ।

तत्कालिन मन्त्री पौडेल र राखेपका सदस्य सचिव लामाबीचको विवादले मूलपानी क्रिकेट मैदान मात्रै नभएर पूरै खेलकुद जगत प्रभावित बनेको थियो । त्यसपछि राखेपका सदस्यसचिव बनेका केशवकुमार विष्ट र खेलकुद मन्त्रालयमा पटक–पटक फेरिएका मन्त्रीबीचको टकरावका कारण पनि निर्माणाधिन क्रिकेट मैदान प्रभावित बनेको थियो ।

यसअघि खेलकुद मन्त्री राजन केसी हुँदा राखेपका सदस्य सचिव र मन्त्रालयबीच राम्रो तालमेल हुन सकेन । त्यसबेला सदस्य सचिव केशवकुमार विष्टले सबै काम मन्त्रालयले अड्काएको आरोप लगाएका थिए । 

२४ दिनभित्र नेपाली खेलकुदलाई कायापलट गर्ने दाबी गरेका मन्त्री केसीले जग्गा विवादको फाइल अन्तिम चरणमा रहेको भन्दै छिटै क्याविनेटमा पठाउने प्रतिबद्धता जनाएका थिए । यद्यपि उनको कार्यकालमा मन्त्रालयमै जग्गा विवादको फाइल अड्किएको थियो ।

कति सम्पन्न भयो निर्माण ?
पहिलो चरणको निर्माण ठेक्काअनुसार अहिलेसम्म मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्याराफिटतर्फको ३ वटा ब्लक बनेको छ । त्यस्तै, मैदान सम्याउने काम भएको छ । मैदानकै केही भागमा व्यक्तिगत जग्गा रहेको छ, जुन जग्गाको सट्टा जग्गा नै दिने भन्ने सम्झौता मन्त्रालय हुँदै क्याबिनेटमा पुगेको बताइएको छ । 

अहिलेसम्म रंगशालाको पहिलो चरणको काममात्रै सम्पन्न भएको छ । प्रेरा मुन्ना एण्ड आचार्य जेभी कम्पनीले गत वर्ष नै काम सक्नुपर्ने थियो । तर, विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले करिब डेढ वर्षभन्दा बढी समय लगाएर सम्पन्न गरेको थियो ।

के थियो गुरूयोजना ?
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा रहेको मूलपानी क्रिकेट मैदानको गुरुयोजना अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिले तयार पारेका थिए । गुरु योजनाअनुसार मूलपानीमा रहेको करिब २ सय ९६ रोपनी जग्गामा खेलकुदका विशाल संरचना निर्माण हुनेछ । गुरुयोजना तयार पार्दा करिब २० हजार क्षमताको दर्शक आट्ने सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने निर्णय भएको थियो । 

रंगशाला परिसरमै खेलकुदको प्रशासनिक कार्यालय, इन्डोर हल, होस्टेल, स्वीमिङ पुल, जिम हललगायत विभिन्न भौतिक संचरना निर्माण गर्ने योजना छ । 

करिब ५ वर्षमा सम्पन्न गर्नेगरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने गुरुयोजना बनेको थियो । योजनाअनुसारको सम्पूर्ण भौतिक संरचना निर्माण गर्नका लागि करिब ८० करोड लाग्ने राखेपले अनुमान गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०७५  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro