site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विवादले आक्रान्त कराँते, विवाद एसियाली खेलकुद प्रतियोगितासम्म पुग्न सक्ने !

काठमाडौं । एसियाको खेलकुद कुम्भ मेला १८ औं एसियाली खेलकुद प्रतियोगिता नजिकिँदो छ तर नेपालको तयारी भने सुस्त छ । तर पनि लामो समयपछि कराँते ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने तयारीमा छ ।

अगष्ट र सेम्टेम्बरमा इन्डोनेसियामा एसियाली मुलुकको खेलकुद कुम्भ सुरु हुँदैछ । प्रतियोगितामा कराँतेपनि समावेश छन् । कराँतेमा पावरहाउस मानिने चीन, कोरिया, जापान लगायतका शक्तिशाली राष्ट्रले भाग लिँदैछन् । नेपाल पनि पदक जित्ने लक्ष्यसहित तयारीमा जुटेको छ । नेपालले सन् २०१४ मा कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुद प्रतियोगितामा कराँतेमा पदक प्राप्त गर्दै पदकविहीन यात्राबाट बचेको थियो । 

त्यसबेला नेपालकी विमला तामाङले कातातर्फ कास्य पदक जित्दै केही राहत दिएकी थिइन् । त्यतिबेला एक मात्र कास्य नेपाललाई दिलाएकी विमला यतिबेला अमेरिकामा छन् । करिब ४ वर्षपछि नेपाली कराँते खेलाडीले खेल्न लागेको एसियन गेम्स यो नै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता भए पनि कराँतेमा देखिएको विवादले थप अन्योलता देखिएको हो ।

विवादै विवाद 

नेपाली खेलकुदमा प्रायः सबै संघमा विवाद छ । कराँतेमा  लामो समयदेखि रहेको विवाद अझै साम्य हुन सकेको छैन । अन्तर्राष्ट्रिय एरिनामा पदकको सम्भावना बोकेको भए पनि विवादले कराँते आक्रान्त बनेको छ ।
अहिले नेपालमा दुई वटा कराते महासंघ छन् । दावा गुरुङ अध्यक्ष रहेको राष्ट्रिय मान्यता र पुरेन्द्रविक्रम लाखे नेतृत्वको नेपाल कराते महासंघ । सन् २०११ मा तत्कालिन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले आफ्नो संरक्षकमा दावा गुरुङको अध्यक्षतामा नेपाल कराते महासंघ पुनर्गठन गरेपछि विवाद बढेको थियो ।

त्यसपछि नै राखेपको मान्यतामा गुरुङ नेतृत्व र नेपाल ओलम्पिक कमिटीको मान्यतामा पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा दुई नेपाल कराँते महासंघ अस्तित्वमा आएको हो ।

त्यसबेलादेखि अन्तर्राष्ट्रिय स्तरमा ठूला प्रतियोगिता हुँदा कराते चरम विवाद देखिने गरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा सन् २०१४ मा नेपाल कराते महासंघको विवाद देखिएको थियो । त्यसबेला नेपालबाट करातेले दुई वटा टिम भएर एसियन गेम्समा सहभागिता जनाएको थियो । 

८ कराँते खेलाडीले एसियन गेम्स खेल्ने  
 

आठ कराँते खेलाडीले एसियन गेम्स खेल्ने छन् । जसमा ४ जना महिला र ४ जना पुरुष खेलाडीले एसियन गेम्समा नेपालको प्रतिनिधित्व गर्दै छन् । तर दुई वटा महासंघ भएको कारण विवाद फेरि आउने निश्चित छ । 

यता, राष्ट्रिय मान्यता प्राप्त नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले यो पटक पहिलेको जस्तो विवाद नदेखिने बताएका छन् । उनले भने, “विवाद भन्ने कुरा मलाई लाग्दैन । यदी उनीहरूले पहिलेको जस्तो बदमासी ग¥यो भने उनीहरूलाई छुट हुने छैन । राखेपले गरेको छनोटमा सहभागिता जनाएर अघि बढ्नुपर्छ । चोर बाटोबाट खेलाडी लगिए त्यो देशको लागि बदनाम हुन्छ त्यसको जिम्मा उनीहरूले लिनुपर्छ ।”

त्यसो त, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले कोरियाको इन्चोनमा भएको जस्तो दुर्दशा यसपटक नहोस् भनेर पटक–पटक राखेप सदस्य सचिव केशव कुमार विष्टलाई सचेत गराएको बताएका छन् ।
उनले भने “विराटनगरको सातौँ राष्ट्रिय गेम्स, राष्ट्रपति, भारत र श्रीलंकामा भएको च्याम्पियनसिपका विजेतासँग मात्रै प्रतिस्पर्धा गराउने भए विजेता मात्रै, क्लोज क्याम्पमा राष्ट्रिय मान्यता प्राप्तले विजेता र उपविजेता राखिरहेको छ । विजेता र उपविजेता मात्रै प्रतिस्पर्धा गराउने भए पनि गराउनुहोस् । निष्पक्ष प्रतिस्पर्धा गराउँ । जित्ने जान्छ । भनेर मैले प्रस्ताव गरेको छु ।”

उनले थपे “यो भन्दा राम्रो प्रस्ताव आएछ भने त्यो पनि मेरो लागि स्वीकार्य हुनेछ । यो कुरा मैले तालिम तथा प्रशिक्षण विभागका हाकिमहरूसँग पनि सम्बन्धित निकायमा पु¥याउने काम गरिसकेको छु । यो पनि हुँदैन भने अब इन्चोनको जस्तो समस्या दोहोरिन्छ भने मेरो मात्रै कारणले रोकेर त रोकिँदैन । अगाडी जे पर्ला पर्ला तर त्यसो नहोस भन्ने मेरो चाहना हो ।” 

यता, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा एसियन गेम्सका लागि खेल र खेलाडी निर्धारण उच्च समितिका संयोजक लामा टेण्डी शेर्पाले दुई पक्षबीच मिलेपछि छनोट हुने बताउँदै खासै ठूलो विवाद नरहेको बताएका छन् ।
उनले भने “अब कराँतेमा विवाद नहोला । हिजोको कुराबाट पाठ सिकेर अगाडी बढ्नु पर्छ भन्ने हो ।”

विवाद हुँदा छनोट नै अन्योलमा
 

नेपाल कराते महासंघमा विवाद हुँदा छनोट र तयारीमा पनि समस्या देखिएको छ । कराँतेमा छनोट पनि हुन सकेको छैन । छनोट कहिले गर्ने भन्ने कुराको पनि टुंगो लागेको छैन । 

अहिले राष्ट्रिय टिम तयारीको अभ्यास मात्रै भई रहेको छ । तर एसियन गेम्स कै लागि भनेर तयारी भने भएको छैन । प्रशिक्षक दीपक श्रेष्ठले विवादकै कारण एसियन गेम्सको लागि छनोट हुन नसकेको बताए । प्रशिक्षक श्रेष्ठले भने, “राष्ट्रिय टिमको तयारी मात्रै भईरहेको छ । एसियन गेम्सको तयारी गर्न पाएको छैन । यसैलाई प्रारम्भिक चरणको तयारी भन्न मिल्छ तर स्पेसल ट्रेनिङ चाहीँ भन्न मिल्दैन । फाइनल छनोट नभएसम्म क्लोज क्याम्प राख्दैन । विवादस्पद संघ भएको कारण छनोट कहिले हुने हो थाहा छैन ।”

उनले थपे, “नेपाल पदक जित्न सक्ने राष्ट्र हो । यसअघि पनि पदक त आएको थियो । यो पटक पनि कराँतेबाटै पदकको आश गरिएको छ । तर पछिल्लो समय संघ विवादमा परेर खेलाडीको मनोबल घटेको छ । सबैभन्दा बढी खेलाडीको मनोबल उच्च बनाउनुपर्ने हो, तर खेलाडीको मनोबल उच्च बनाउने कार्य कसैले गरेको छैन ।”

महासंघमा विवाद हुँदा यसको प्रत्यक्ष मार भने खेलाडीलाई परेको छ । प्रशिक्षक श्रेष्ठले भने, “विवाद नभईदिएको भए खेलाडीले निश्चिन्तका साथ थप हौसिएर अभ्यास गर्थे । विवादको बाबजुद त हाम्रो खेलाडीले पदक ल्याउँछन् । राम्रो वातावरण सिर्जना गरिदियो भने खेलाडीले राम्रो ध्यान दिएर अभ्यास गर्दै पदक ल्याउन सक्थे । अब अहिले त्यो अवस्था चाहीँ अहिले अलि कम छ ।”
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro