site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलाडीले पाएनन् पुरस्कार, आयोजकको उल्टै धम्की

काठमाडौं । इम्प्याक्ट ओपन ठमेल टेबल टेनिस च्याम्पियनसिपका विजेता खेलाडी तथा टिमले अहिलेसम्म पनि पुरस्कार नपाएको गुनासो गरेका छन् । प्रतियोगिता सकिएको ४ महिनाभन्दा बढी बितिसक्दा पनि आयोजकले पुरस्कार नदिई उल्टै धम्क्याइरहेको उनीहरुको भनाइ छ । 

इम्प्याक्ट स्पोर्टस् म्यानेजमेन्टले गत वर्षको डिसेम्बर ३ देखि ११ तारिखसम्म लैनचौरस्थित अखिल नेपाल टेबल टेनिस प्रशिक्षण केन्द्रमा इम्प्याक्ट ओपन ठमेल टेबल टेनिस च्याम्पियनसिप आयोजना गरेको थियो । च्याम्पियनसिपका विजेता खेलाडीले अहिलेसम्म पुरस्कारबापतको रकम पाएका छैनन् । इम्प्याक्ट स्पोर्टस् म्यानेजमेन्टका सञ्चालक स्वरेज वन्तले पैसा नदिई उल्टै धम्क्याउने गरेको खेलाडीले बताएका छन् । 

टिम इभेन्ट्समा नेपाल पुलिस क्लब विजेता बनेको थियो । विजेता बनेस्वरुप नेपाल पुलिस क्लबले पाउनुपर्ने रकम अहिलेसम्म पाएको छैन । त्यस्तै महिला सिंगल्समा नेपालकी नम्बर एक खेलाडी नविता श्रेष्ठ प्रथम भएकी थिइन् । उनले पनि अहिलेसम्म पुरस्कार नपाएको बताएकी छन् । 

विजेता टिम तथा खेलाडीले नपाएको रकम
नेपाल पुलिस क्बल (टिम इभेन्ट्स विजेता) – ४०,०००
नविता श्रेष्ठ (महिलातर्फ सिंगल्स विजेता) – २५,०००
स्वेच्छा नेम्बाङ (महिलातर्फ सिंगल्स तेस्रो) – १०,०००
दीप साउन (पुरुषतर्फ सिंगल्स दोस्रो – १५,०००
पुरुषोत्तम बज्राचार्य (पुरुषतर्फ सिंगल्स तेस्रो) – १०,०००
अन्जु सुवाल (यु–१८ गल्र्स सिंगल तेस्रो) – ५,०००

इम्प्याक्ट स्पोर्टस् म्यानेजमेन्टले खेलाडीको मात्रै नभएर अम्पायर, टेक्निकल कमिटि र साउण्ड सिस्टमको पनि रकम नदिएको बताइएको छ । 

अम्पायर – ५८,०००
टेक्निकल कमिटि – २७,०००
साउण्ड सिस्टम – ८०,०००

खेलाडीको मात्रै आयोजकले १ लाख ५ हजार पुरस्कारबापतको रकम दिन बाँकी छ । त्यस्तै, अम्पायर, टेक्निकल कमिटि र साउण्ड सिस्टमको गरी १ लाख ६५ हजार आयोजकले तिर्न बाँकी रहेको छ । आयोजकले कुल २ लाख ७० हजार रुपैयाँ नदिएको बताइएको छ । 

राष्ट्रिय खेलाडी दीप साउनले आयोजक ठग भएको प्रतिक्रिया दिए । उनले भने “गेमचाहिँ गरायो । चेक पनि दियो तर ब्यालेन्स नभएको । त्यसपछि हामीले सोध्दा एक दुई दिनपछि ब्यालेन्स हाल्छौं, त्यसपछि साट्नु भन्ने गर्नुहुन्थ्यो । यसरी नै झुलायो । अहिले त फोन पनि उठाउँदैन । केही प्रतिक्रिया पनि दिँदैन ।”

सञ्चालक स्वरेज वन्तले ३ पटकसम्म चेक दिएको र तीनै पटक बाउन्स भएको दीपले बताए । दीपले थपे, “इम्प्याक्ट स्पोर्टस् म्यानेजमेन्टका सञ्चालकसँग एक पटक भेट भएको थियो । पैसा भयो भने दिन्छु, चुप लागेर बस । जुन बेला पैसा हुन्छ, त्यो बेला दिन्छु । कराए दिन्न भनेर थर्काए ।”

राष्ट्रिय खेलाडी रविना महर्जनले पनि टेक्निसियनको रुपमा काम गरे पनि पारिश्रमिक नपाएको गुनासो गरिन् । 

इम्प्याक्ट स्पोर्टस् म्यानेजमेन्टका सञ्चालक स्वरेज वन्तसँग यो विषयबारे बुझ्नका लागि पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro