site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आजको खेलले कोर्नेछ नेपालको भविष्य, ‘हेड टु हेड’मा हङकङभन्दा नेपाल अघि

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले सोमबार समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल दुई टिमबीचको महत्वपूर्ण खेल नभई अन्य राष्ट्रका लागि पनि उत्तिकै महत्वपूर्ण भएको छ ।

नेपाल र हङकङबीचको खेल बुलावायो एथ्लेटिक क्लबको मैदानमा हुँदैछ । यो खेल नेपाल र हङकङलाई उत्तिकै महत्वपूर्ण छ । हङकङलाई भारी अन्तरले पराजित गरेमा सुपर सिक्समा पुग्ने सम्भावना नेपालको अझै बाँकी छ । असम्भवजस्तै तर अंक तालिकामा मात्रै झिनो आश नेपाललाई छ । 

नेपाल अहिलेसम्म जारी प्रतियोगितामा तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । 

दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा भने अफगानिस्तानसँग ६ विकेटले पराजित हुँदै प्रतियोगितामा निकै खराब प्रदर्शन गरेको हो ।

यता, हङकङले भने पहिलो खेलमा स्कटल्याण्डसँग ४ विकेटको पराजय भोगेको थियो । तर दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानमाथि ३० रनको जित दर्ता गराएको थियो । आफ्नो तेस्रो खेलमा हङकङ आयोजक जिम्बावेसँग ८९ रनले पराजित भएको थियो ।

हेड टु हेडमा नेपाल अघि

हङकङ र नेपाल नयाँ प्रतिद्वन्द्वी होइनन् । कुनै बेला नेपाल र कुनै बेला हङकङले खेल आफ्नो पक्षमा पार्ने गरेका छन् । अहिलेसम्म नेपाल र हङकङबीच १२ पटक भेट भएको छ । जसमा नेपालले हङकङविरुद्ध ६ खेलमा जित हात पारेको छ भने ५ खेलमा पराजित भएको छ ।

यी दुई टिमबीच सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भएको थियो । दुई खेलमध्ये अन्तिम खेल वर्षाका कारण रद्द भएको थियो भने पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।

योभन्दा अघि नेपालले सन् २०१४ मा न्यूजील्याण्डमा सम्पन्न आईसीसी विश्वकप छनोटमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो, जुन खेलमा नेपालले लज्जास्पद हार बेहोरेको थियो । त्यसबेला हङकङसामु नेपाल १० विकेटले पराजित भएको थियो ।

फेरि विश्वकप छनोटमै यी दुई टिम आमनेसामने हुँदैछन् । नेपाल लज्जास्पद हारको बदला लिने दाउमा छ भने हङकङ जित हात पार्दै सुपर सिक्समा स्थान बनाउने रणनीतिमा छ ।

अफगानिस्तानको भविष्य नेपालको हातमा

सोमबार हुने खेल नेपाल र हङकङबीचको भविष्यसँग मात्रै जोडिएको छैन । अफगानिस्तानको लागि पनि नेपाल र हङकङबीचको खेल उत्तिकै महत्वपूर्ण छ । नेपाल पराजित भएमा हङकङ सुपर सिक्समा पुग्नेछ । तर नेपालले साँघुरो जित हात पारेमा अफगानिस्तान तेस्रो हुँदै विश्वकप छनोटको सुपर सिक्समा पुग्नेछ ।

यसकारण पनि सधै खेलमा प्रतिद्वन्द्वीको रुपमा परिचित अफगानिस्तान यो पटक भने नेपालले जितोस् भन्ने कामना गरिरहेको छ । नेपालले कम अन्तरले जिते अफगानिस्तानको विश्वकप यात्रा अघि बढ्नेछ । तर हारे त्यो तुहिने निश्चित छ । त्यसैले अफगानी खेलाडी जसरी पनि नेपाललाई जिताउन चाहन्छन् ।

नेपाल अहिले समूह बीको पुछारमा छ । समूह बीबाट स्कटल्याण्ड र जिम्बावे सुपर सिक्समा पुगिसकेका छन् । सोमबार नै जिम्बावेले स्कटल्याण्डसँग खेल्दैछ । 
 

ओडीआई मान्यता पाउन कम्तिमा २ खेल जित्नैपर्ने

नेपाल लिष्ट ए टिम हो । नेपालले अहिलेसम्म एक दिवसीय मान्यता पाएको छैन । यो विश्वकप छनोटबाट नेपालले एक दिवसीय मान्यता पाए त्यो सबैभन्दा ठूलो उपलब्धी हुनेछ । तर त्यति सजिलो भने छैन । 

एक दिवसीय मान्यता पाउनका लागि नेपालले हङकङलाई पराजित गर्नुको कुनै विकल्प छैन । हङकङलाई पराजित गर्दै नेपाल समूहको चौथो स्थानमा उक्लिने हो भने प्लेअफमा नेपालको प्रतिद्वन्द्वी पपुवा न्युगिनी हुनेछ । पपुवा न्युगिनी समूह ए को टिम हो । पपुवा न्युगिनीले समूह ए मा आफ्नो सबै खेलमा पराजय भोगेको छ । 

प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गरे समूह ए को चौथो र समूह बी को पाँचौं टिमबीचको विजेतासँग नेपालले सातौं स्थानका लागि खेल्नेछ । 

प्लेअफमा हङकङ समूह ए को चौथो हुनेसँग पराजित भए नेपालले एक दिवसीय मान्यता पाउने निश्चित छ । हङकङले जित हात पारे सातौं स्थानमा नेपाल र हङकङबीच नै प्रतिस्पर्धा हुनेछ । र यो खेलले एक दिवसीय मान्यता पाउने टुंगो लगाउने छ ।


 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro