
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने एन्फा महिला लिग छनोटमा १६ टिमले सहभागिता जनाउने भएका छन् । सोमबार एन्फाले छनोटका निम्ति १६ टोलीले टिम दर्ता गरेको जनाएको हो ।
टोलीमा बुटवल लुम्बिनी एफसी, छहारी युवा क्लब, चित्लाङ एफसी, चर्च ब्वाइज युनाइटेड एफसी, एफसी रियाले, झापा एफसी, ककनी खेलकुद प्रतिष्ठान, लम्की फुटल तथा प्रशिक्षण केन्द्र, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, न्युरोड टिम (एनआरटी), राप्ती एफसी, आरएस रिसोर्ट तथा बिच फुटबल, संकटा एफसी, सिन्धुपाल्चोक एफसी र स्टुडेन्ट एफसी छन् ।
छनोट प्रतियोगिता आगामी साउन २७ गतेदेखि हुनेछ । एन्फाले आगामी असार २० गतेसम्म खेलाडी दर्ता गराउनुपर्ने र असार १६ गते खेल तालिका सार्वजनिक हुने जनाएको छ ।