
काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी)ले फिफा क्लब विश्वकपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–० ले हराएको छ । १० खेलाडीमा सीमित बन्दै एट्लेटिको खेलको अन्त्य गरेको थियो ।
सोमबार रोस बलमा पीएसजीलाई जित दिलाउन फाबियन रुइज, भिटिन्हा, सेन्नी मायुलु र लि काङ–इनले गोल गरे । पीएसजीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको हो ।
खेलको १९औँ मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा भिटिन्हाले अग्रता दोब्बर बनाए । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा मायुलुको गोलमा पीएसजी ३–० ले अघि बढेको थियो । इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई काङ–इनले सदुपयोग गरेपछि पीएसजीले सहज जितसहित प्रतियोगिताको सुरुआत गरेको हो ।
जितसँगै तीन अंक जोडेको पीएसजी समूह ‘बी’को शीर्ष स्थानमा छ । पहिलो खेल हारेको एट्लेटिको तालिकाको पुछारमा छ । यो समूहमा पीएसजी र एट्लेटिकोसँगै बोटाफोगो र सिटल साउन्डर्स एफसी छन् ।
सोमबारै भएको यही समूहको अर्को खेलमा बोटाफोगोले सिटल साउन्डर्सविरुद्ध २–१ को जित निकाल्यो । समूह ‘ए’को खेलमा पाल्मेरस र पोर्टोले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।