site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको ‘वेल’ आन्दोलन : सभामुखले सुनेनन्, सत्ताले देखेन !

काठमाडौं प्रतिनिधिसभाको ‘वेल’मा पलेँटी मारेर बसिरहेका थिए, अर्थमन्त्री विष्णु पौडेल रोष्ट्रमतिर अघि बढेपछि जर्‍यााकजुरुक उठे । र, फेरि नाराबाजी गर्न थाले । 

‘गृहमन्त्री राजीनामा दे’, ‘मानव तस्करलाई कारबाही गर’, ‘झुटो कति बोलेको जनताले छ सुनेको’, ‘फासफुसे समिति चाहिँदैन’, ‘दुई तिहाइको दम्भ बन्द गर ।’

भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग राख्दै प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नारा लगाइरहे । अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नको जवाफ दिइरहे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पौडेलको जवाफअघिको छलफलमा भने रास्वपाले नीति परिवर्तन गरेको थियो ।  आइतबार बोल्न समेत समय नपाएको रास्वपाले बोल्न पायो ।  ‘रास्वपाले के का लागि विरोध गर्र्दैछ ?’ भन्ने समेत सभामुखले नदेखेको/नसुनेकामा विरोध भएको थियो ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले बोल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलाई समय दिए । उनले विपक्षीको अवरोधकाबीच सदनको कारबाही अघि नबढाउन आग्रह गरे । सभामुख पेलेरै सदनको कारबाही अघि बढाएमा बहिस्कार गर्ने चेतावनी दिएका थिए । 

लिङ्देनपछि सभामुखले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । उनले  भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनेसम्म अवरोध जारी रहने बताएका थिए । सभामुखले उनीहरूको आवाज सुनेनन् ।

सभामुखले छलफल अघि बढाए । सभामुखले कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिँदा रास्वपाका सांसद ‘वेल’ पुगिसकेका थिए । राप्रपाका सांसद भने बैठक बहिस्कार गरेर निस्किए ।

कार्की, एमालेका सांसद पदम गिरी छलफलमा बोलिरहँदा रास्वपाका सांसदले नाराबाजी गरे ।  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत केहीबेर बोलेपछि भने रास्वपाले स्वरुप बदल्यो । रास्वपाका सांसदहरू पलेटी कसेर बसे । नाराबाजी गरेनन् अर्थात् मौन रहे । सांसदहरू कोही मोबाइल चलाउन थाले । कोही ध्यान गरे जस्ता देखिन्थे त । 

सूर्य थापाले रत्नपार्क हो ? भनेपछि...

बस्नेत बोलिरहँदा नेकपा (एमाले)का सांसद सूर्य थापाले नियमापत्तिका लागि समय मागे । रास्वपाका सांसद भुइँमा पलेँटी कसेर बसेकोप्रति असन्तुष्टि जनाउँदै मर्यादा सम्झाए । 

“हामी रत्नपार्कमा छौं कि सहिदगेटमा छौं ? कलंकीमा छौैं कि पोखरा चिप्लेढुंगामा छौं ? मैले बुझ्न सकिनँ । माननीय सदस्यहरूका कुर्सी रोइराखेका छन् । कुर्सीले माननीय सदस्यहरूलाई भेट्न पाएको छैन,” थापाले भने । 
थापाले त्यसो भनिरहँदा रास्वपाका सांसदहरू हाम्रो आन्दोलन जारी छ भनी नारा घन्काउँदै थिए ।

सभामुखले ध्यानाकर्षण भएको भन्दै बस्न निर्देशन दिए । बस्नेतलाई आफ्ना कुरालाई निरन्तरता दिन आग्रह गरे । 

त्यसपछि छलफलमा सांसदहरू प्रकाश ज्वाला, रन्जुकुमारी झा, अब्दुल खान, रामप्रकाश चौधरी, लालवीर चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, उदयशमशेर राणा, भगवती चौधरी, नागिना यादव, कालुराम राई, राजु थापा, प्रभु हजारा, रामकृष्ण यादव, वासुदेव घिमिरे, किरणकुमार साह र रामहरि खतिवडाले धारणा राखे । 

उनीहरूले धारणा राख्दा पनि रास्वपाका सांसदहरू पलेटी कसेर मौन नै बसे । उनीहरूको बसाइँ सकसपूर्ण देखिन्थ्यो । जुत्ता चप्पल खोलेर बस्दा एमालेका सांसद दामोदर पौडेल वैरागीले पनि नियमपात्ति गरेका थिए ।

रास्वापाका सांसदहरू आलोपालो गरी बाहिर–भित्र ओहोर–दोहोर चलिरह्यो । मोबाइल चलाउने, एक–अर्काबीच संवाद गर्न केही सांसद व्यस्त थिए । केही बजेटका किताब पढ्नमा व्यस्त देखिन्थे ।

उता, सत्तारुढ सांसदहरू ओहोर–दोहोर गर्ने क्रममा रास्वपाका सांसदहरूसँग हाँसो–ठट्टा पनि चल्थ्यो । लाइन लागेर बसिरहेका सांसदहरूले पछाडि फर्केर अर्थमन्त्री पौडेलसित छोटो संवादसमेत गर्न भ्याए ।

...अनि थिङले उपसभामुखलक्षित प्रश्न उठाइन् 

अर्थमन्त्री पौडेलले सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ दिइरहेका थिए । रास्वपाका सांसदको नाराबाजी चलिरहेकै थियो । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले समय मागिन् । सभामुखले मन्त्रीलाई रोके ।

उनले रास्वपाका सांसदहरूले लगाएको नारामा ‘मानव तस्कर’लगायत आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै नियमापत्ति जनाइन् । 

उनले ‘मानव तस्करी’बारे सदनमा स्पष्ट पार्न आग्रह गरिन् । त्यसो भनिरहँदा नारा लगाइरहेकी रास्वपा सांसद सोविता गौतमले चर्को रुपमा मानव तस्करकै नारा लगाइरहिन् । थिङले उपसभामुख इन्दिरा रानालाई लक्षित गर्दै उनले पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो ? वा कुन विषयको मानव तस्करी हो ? भन्दै स्पष्ट पार्न आग्रह गरिन् ।

“मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ?,” उनले भनिन्, “जसले ५–५ जना व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि ? कुन विषयको मानव तस्करी हो ? सदनमा स्पष्ट पारियोस् ।” 

सभामुखले संसदीय मर्यादा ख्याल गर्नुपर्ने बताए । अर्थमन्त्रीलाई अघि बढ्न भने । र, अर्थमन्त्रीले जवाफ दिइरहँदा रास्वपाका सांसदले नाराबाजी यथावत राखे । 

राजश्व र व्ययको अनुमानमाथिको जवाफपछि पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रस्तुत गरे । सभामुखले बैठक सोमबार बेलुका ५ः२० का लागि तोके । बैठक चार घण्टा ३१ मिनेट ५५ सेकेन्ड चल्यो ।

दोस्रो बैठकमा...

दोस्रो बैठक प्रारम्भ हुनासाथ रास्वपाका सांसद उठे । सभामुख घिमिरेले उनीहरूतिर हेरे । केही बोलेनन् । र, उपप्रधान तथा अर्थमन्त्री पौडेललाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिए ।

रास्वपाका सांसद वेलमा पुगे । सभामुखले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल अघि बढाए । रास्वपाका सांसदले नाराबाजी गरिरहे ।

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भयो । र, दोस्रो बैठक सकियो । बैठक ३७ मिनेट ३५ सेकेन्ड चल्यो । आज दुवै गरी ५ घण्टा बढी बैठक बस्यो ।  अर्को, बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै जेठ १३ गतेदेखि विपक्षी दलले सदन अवरोध गरेका थिए ।  तर, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) गएको शुक्रबार दुई बुँदे सहमति गरे पनि रास्वपा भने सदनमा विरोध गरिरहेको छ ।

राप्रपाले भने बैठक बहिस्कार गरेको दिन भत्ता नलिने जनाएको छ । सोमबारको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले भत्ता मर्यादापालकलाई दिन सुझाएका थिए । रास्वपाले कुनै प्रतिक्रिया जनाएको छैन ।
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्