
त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनी ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको उपचारको क्रममा मृत्यु भएको हो । सोही स्थानका ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार रा१क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङबाट सञ्चालित मिनी ट्रक दाङबाट रूकुम पश्चिम खलंगातर्फ पानीको जार लिएर आउँदै गरेको अवस्थामा बिहीबार साँझ दुर्घटना परेको थियो । ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब दुईसय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रासस