
काठमाडौैं । गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवन र व्यक्तिगत चरित्र हत्या गर्ने उदेश्यबाहेक कुनै अर्को धेय नरहेको दाबी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भिजिट भिसाको नाममा हुने तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।
रास्वपाका सांसदहरू वेलमा प्रवेश गरेर नाराबाजी गरिरहेकै अवस्थामा मन्त्री लेखक बोलिरहे । भिजिट भिसामा मात्रै होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीआईजी सरुवामा पनि प्रश्न उठाउनु खेदजनक हो । उनले भने, ‘‘अख्तियारमा प्रहरीको एकजना डीआईजी हुन्छ । अर्का एक एसएसपी बढुवा भएर डीआईजी भए । एकजनाको सरुवा भयो । यसैलाई पनि अनुसन्धान प्रभावित भयो भनेर अनावश्यक आरोप लगाइयो ।’’
आफूमाथि अनावश्यक आरोप लगाउन विभिन्न दलका पार्टी कार्यालय प्रयोग भएको दाबी गरे । किर्ते उजुरी र नक्कली पीडित खडा गर्नेहरूलाई पनि कारबाही गरिने लेखकको भनाइ छ ।