site stats
बाह्रखरी :: Baahrakhari
कला
नोरा फतेहीसँग नाचेपछि अत्यधिक खोजीको सूचीमा रहेका गौरव (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जालले भाग्य र भविष्य निर्धारण गर्ने समयमा कसको भाग्य कतिखेर चम्किन्छ र कसको निधारमा कतिखेर ग्रहण लाग्छ पत्तै हुँदैन । क्षणभरमै कसैको भाग्य कोरिँदा त्यति नै समयमा कोही दानवीकरण भइरहेको हुन्छ । 

प्रवेश गरौँ विषयवस्तुतर्फ, कुरा गरौँ ‘नोरा फतेही लाइभ इन नेपाल’को । गत शनिबारको साँझ तारागाउँस्थित ह्यात चौरमा छुट्टै रमझम थियो । कारण थियो, डान्सर तथा बलिउड अभिनेत्री नोरा फतेही आउँदै थिइन् । त्यसको रौनक बौद्धमा छुट्टै थियो । 

नोरा नेपाल आउँदै छिन् भन्नेबित्तिकै गौरव (सिटौला) खुब उत्साहित थिए । कारण नोरा उनको आइडल थिइन् । गौरव डान्सका पारखी हुन् । नोरा डान्सकी खेलाडी । उनकै डान्स हेरेर हुर्किएका गौरवलाई नजिकबाट नोरालाई नियाल्ने, मिले स्टेजमै उक्लिएर रंगीचंगी रङहरूको बीचमा सँगै कम्मर मर्काउने रहर जागेको थियो । 

उनका आफन्तलाई डान्सप्रति गौरवको मोह थाहा थियोे । नोराप्रति उनको झुकावप्रति पनि भलिभाँती जानकार थिए । त्यसैले दाइहरूले भनिरहेका थिए– तिमी ‘नोरा फतेही लाइभ इन नेपाल’मा जानै पर्छ । बरू हामी टिकट काटिदिन्छौँ ।   
तर, उनले भनिरहेका थिए, जान्न होला । 

हेर्नोस् भिडियो कुराकानी–

कक्षा ११ को बोर्ड परीक्षाको तयारीमा थिए । पढाइलाई असर गर्ला कि भन्ने डर उनमा थियो । शनिबारको दिन थियो । पाटनमा उनको काम थियो । साँझ उनी त्यहाँ पुगे । भोक लागेपछि खाजा खान रेष्टुराँ छिरे । उनलाई त्यहीँ फोन आयो, नोराको कार्यक्रममा आउ, भने । उनै आफन्त दाइहरूको आग्रह थियो, “हामी आफैँ भए पनि लिन आउँछौँ ।”

‘नोरा फतेही लाइभ इन नेपाल’मा गौरव पुग्दा साढे ८ बजेको थियो । समर्पण लामाको प्रस्तुति चलिरहेको थियो । झकिझकाउ मञ्चका रंगीविरंगी प्रकाशहरू नोराको प्रतीक्षामा थिए, जसरी गौरव थिए । 

समर्पणपछि तेरिया फौजा मगर आएर आफ्नो नृत्यको जादु छरिन् । त्यसपछि आएका दुर्गेश थापाले ‘दुश्मन’मा दर्शक उसैगरी नचाए । 

घडीको सुई साढे ९ को छेउछाउ पुगेपछि पालो आयो नोराको । उनको स्वागतमा प्रकाशका रंगीन किरणहरूको भोलुम बाक्लियो । प्रतीक्षाको घडी सकिएको खुसीमा दर्शक चिच्च्याए । उनले न्यानो अभिवादन गरिन् । ‘नोरा फतेही लाइभ इन नेपाल’ मुख्य चरणमा प्रवेश गर्‍यो । 

सुरुमा नोराले डेलिभरी पफर्मेन्स दिइन् । पहिलोपटक नेपाल आएको बताइन् । दर्शकसँग इन्टर्क्याक गरिन्, घरी हिन्दीमा घरी अंग्रेजीमा । टेलिभिजनको स्क्रिनमा देखिने नोरा आफ्नै सामिप्यमा देख्दा हौसिएका दर्शकले जोशमा स्टेजमा क्याप फाले । केहीले फोन फाले । नोराले फोन उठाएर सेल्फी खिचेर मोबाइल फिर्ता गरिदिइन् । 

स्टेज कभर गरिरहेकी नोरा बायाँ छेउमा पुगेकी थिइन् । सामुन्ने रहेका दर्शकको भिडमा रहेका गौरव दायाँ छेउमा थिए । उनी सोधिरहेकी थिइन्– मेरो कुन गीत मनपर्छ । 

गौरव चिच्याए– दिलबर दिलबर... । नोरा लेफ्टबाट राइटमा आउँदा उनको आँखा पर्‍यो गौरवमा । सोधिन– दिलबर ? 

नोराले भनिन्– मैले तिमीलाई कतै देखेको छु । 

ठिक त्यहीबेला कसैले गौरवलाई उचालिदियो । गौरव सबैभन्दा माथि पुगे । नोराले उनको नाम सोधिन् । 

गौरवले आफ्नो नाम भने । 

अनि ? 

बाउन्सर आएर गौरवलाई ब्याक स्टेज लगे । त्यहाँ एकजना लेडिज थिइन्, जो स्टेजमा जाँदैथिइन् । त्यहाँ रहेकी एक अर्की युवतीले गौरवलाई सोधिन्– कुन म्युजिकमा डान्स गर्छौँ ?

gaurab-sitaula-1747904118.jpg
‘दिलबर’ । स्टेजमा गएकी युवती फर्किइन् । कन्ट्रोल रुमले दिलबर बजाइदियो । अनि स्टेजमा पुगे, गौरव । जहाँ उनको भेट भयो नोरासँग । आफ्नो आदर्श डान्सरसँग । जहाँ उनको एउटा सपना पूरा भयो । सपनाले सार्थकता पायो । 

गौरव नोरासँग स्टेज सेयर गर्छन् । धक फुकाएर नाच्छन् । न लाज न संकोच, खुलेर खुसीखुसी नाच्छन् । जसको चर्चा शनिबारयता सायद नोराको जतिकै होला । नोराको भन्दा राम्रो डान्स भनेर तारिफ छ । 

गौरव क्याजुल गेटअपमा नाच्छन् । ब्याक स्टेज गएपछि चेन्ज गरेको गेटअप थियो ? 

“होइन, म पाटन गएको थिएँ । त्यहाँ जाँदासम्म पनि म कार्यक्रममा जान्नँ भन्ने नै थियो,” उनी भन्छन् । तर, मेरा आफ्नै दाइहरूले तिमी यहाँ जसरी पनि आउनुपर्छ भनेपछि त्यही गेटअपमा म कार्यक्रममा पुगेको थिएँ । मैले त्यहाँ गएर ड्रेस चेन्ज गरेको होइन ।”

नोरासँग स्टेज सेयर गरेपछि अन्तर्वार्ताका लागि गौरवलाई नबोलाउने कोही छैन । विडम्बना ! अहिले उनको बोर्ड एक्जाम चलिरहेको छ । त्यसैले उनले यसलाई थाँती राखेका छन् । पछि गरौँला भनिरहेका छन् । “मल्टिपल ब्रान्डहरूबाट पनि अफरहरू आइरहेको छ,” गौरव भन्छन्, “तर, अहिले मेरो एक्जाम चलिरहेको छ ।” 

त्यसअघि, गौरव सानैदेखि नाच्न रुचाउँथे । टेलिभिजनमा कसैको नृत्य देखे त्यसले उनलाई खिच्थ्यो । सँगसँगै नाच्न थाल्थे । यो क्रम झाँगिदै जाँदा उनी पोख्त हुँदै गए । न कसैले सिकाउनु पर्‍यो, न कुनै शिक्षण संस्थामा गएर कुनै स्टेपको रटान नै लगाउनु पर्‍यो । अभ्यास अनि अभ्यास, त्यसैले निःपूर्ण बनाइदियो । 

विस्तारै हविलाई प्यासनमा रूपान्तरण गरे । भिडियो बनाउन थाले । सामाजिक सञ्जालमा पोस्ट गर्न थाले । ज्याज र बेली डान्स गौरवलाई मनपर्ने फर्म हो । यी दुईमध्ये पनि ज्याज डान्स अझै धेरै गर्छन् । 

सन् २०२० देखि गौरव नोरालाई फलो गरिरहेका छन् । नोराको डान्स हेरिरहेका छन् । नोरा कसरी डान्स गर्छिन्, उनी त्यही हेरेर आफ्नोे नृत्यलाई निखार्ने प्रयास गरिरहेका छन् । 

संसारमा नोराभन्दा पनि राम्रो नाच्नेहरू अवश्य छन् । तर, गौरवलाई नोराकै नृत्य मन पर्‍यो । 

किन ?

“उहाँ क्यानडाबाट आउनु भएको हो । उहाँको स्ट्रगल र स्टोरी मैले सुनेको छु,” गौरव भन्छन्, “सायद उहाँको विगत थाहा पाएर पनि होला मलाई नोरा नै मन परेको ।" 

अर्को संयोग पनि छ, गौरवले नोरालाई आदर्श मान्नुको । 

के ? 

नोराको सपना पनि भारतमा आएर विख्यात डान्सर बन्ने थियो । गौरवलाई पनि कुनै समय भारतमा गएर आफ्नो नृत्य शिल्पको परीक्षण गरेर उतै करिअर खोजौँ कि भन्ने रहर थियो । “त्यसैले हामी दुईको ड्रिम एउटै छ कि भनेर पनि मैले उहाँलाई अरुलाईभन्दा बढी आदर्श मानेँ,” गौरव नोरालाई आइडल मान्नुका पछाडिको कारण सुनाउँछन् । 

gaurab-sitaula1-1747904118.jpg
सुरुसुरुमा नोराको भिडियोमा टिकटक बनाएर पोस्ट गर्ने गौरवले त्यसमा अलि फरकपन दिन थाले । जस्तै ? पछि उनले सिनेमेटोग्राफी गरेर भिडियो खिच्न थाले । भिडियो बनाएर गौरव नोरालाई मेन्सन गर्थे । 

नोरालाई मन पर्दोरहेछ, लाइक, कमेन्ट र सेयर गर्थिन् । गौरव आफ्नो कलाको सम्मान भएको महसुस गर्थे । थप उर्जावान हुन्थे । नोराले उनको भिडियो पहिलोपटक पोस्ट कहिले र कुन गीतमा गरिन्, त्यो पनि अझै याद छ गौरवलाई । 

फिफा वर्ल्डकपको गीत थियो, एभ्री बडी लाइक द स्काई’ । त्यो म्युजिकमा भिडियो बनाएर गौरवले नोरालाई ट्याग गरेका थिए । त्यो नोराले सेयर गरेकी थिइन् । 

‘नोरा फतेही लाइभ इन नेपाल’ स्टेज सेयर गरेपछि भने नोराले सामाजिक सञ्जालमा गौरवलाई नोराले स्टोरीमा मेन्सन गरेर ट्याग गरिन् । त्यसमा धन्यवाद दिँदै गौरवले सद्भावमा केही शब्द लेखे । त्यसमा नोराले रिप्लाइ गरेपछि कुरा पनि गरिन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्