
काठमाडौं । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ । वैशाख १७ गतेदेखि पुरुष र वैशाख १८ गतेदेखि महिला प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
ललितपुरको च्यासल फुटबल मैदानमा हुने प्रतियोगितामा तीन प्रदेशका टोली तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सहभागी हुनेछन् ।
पुरुषतर्फ वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ वाग्मती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका टोलीले प्रतिस्पर्धामा गर्नेछन् । लुम्बिनी प्रदेशले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेको संघले जनाएको छ ।
नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठका अनुसार, प्रतियोगिता सफल बनाउन संघका अनुसार खेलाडी, व्यवस्थापन, प्रशिक्षण तथा मैदान व्यवस्थापनलगायत सबै काम सम्पन्न भइसकेका छ । संघले आगामी दिनमा हुने अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि यसै प्रतियोगितामार्फत टिम तयार पार्नेछ ।
प्रतियोगिताको विजेताले ७५ हराज रुपैयाँ, उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ पाउनेछ ।