
काठमाडौं । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले भारत र सिन्धु नदीका बारेमा एक विवादास्पद अभिव्यक्ति दिएका छन् । बिलावलको उक्त अभिव्यक्तिपछि भारतीय नेताले चर्को प्रतिक्रिया जनाएका छन् ।
गएको शुक्रबार (अप्रिल २५) बिलावलले पाकिस्तानको सिन्ध प्रान्तको सुक्करमा आयोजित एक र्यालीक्रममा भनेका थिए, “कि त सिन्धु नदीमा हाम्रो पानी बग्छ वा उनीहरू (भारत)को रगत बग्नेछ ।”
भारतले सिन्धु नदीमा पुनः आक्रमण गरेको उनले आरोप लगाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्षेप लगाउँदै उनले भने, “मोदीले आफ्नो कमजोरी लुकाउन झुटा आरोप लगाएका छन् ।”
उनले अगाडि भने, “सिन्धु नदी हाम्रो हो र यो हाम्रो नै रहनेछ । यहाँ पानी नबगे भारतको रगत बग्नेछ । सिन्धु पानी सम्झौता न त अन्तर्राष्ट्रियस्तरमा अस्वीकार्य हुन्छ न त पाकिस्तानमा ।”
बिलावलले सिन्धु नदीको हकमा आफ्नो संघर्ष जारी राख्ने र पाकिस्तानी सेनाले सीमामा कडा प्रतिकार गर्ने बताएका थिए ।
उनको यो भनाइप्रति भारतका केन्द्रीय मन्त्री हरदीप सिंह पुरी, जलशक्तिमन्त्री सीआर पाटिललगायत नेताले आपत्ति जनाएका छन् । हरदीपले उक्त अभिव्यक्तिलाई मूर्खतापूर्ण भनेका छन् । यस्ता भनाइलाई कसैले ध्यान दिन नहुनेमा उनले जोड दिए । पाटिलले यस्ता धम्कीबाट नडराउने बताए ।
भारतीय केन्द्रीय मन्त्री सुकान्त मजुमदारले पनि बिलावलले पाकिस्तानको इतिहास सम्झनुपर्नेमा जोड दिए । उनले यस्ता धम्की धेरै वर्षअघिदेखि सुनेको भन्दै बिलावललाई एकपटक इतिहास पढ्न सुझाव दिए ।
कश्मीरमा २६ पर्यटकको हत्यापछि भारतले पाकिस्तानसँगको सिन्धु नदी पानी सम्झौता निलम्बन गरेको छ । पाकिस्तानमा त्यो निर्णयको विरोध भइरहेको छ । बीबीसी हिन्दीबाट ।