
काठमाडौं । अफगानिस्तानबाट पाँच लाख हतियार बेपत्ता भएको छ । तिनीहरू बेचिएको वा तस्करी गरिएको स्रोतहरूको दाबी छ । यीमध्ये केही हतियार अलकायदासँग जोडिएका चरमपन्थी संगठनहरूको हातमा पनि परेको संयुक्त राष्ट्रसंघको विश्वास छ।
तालिबानले २०२१ मा अफगानिस्तानलाई फेरि नियन्त्रणमा लिँदा उनीहरूले करिब १० लाख सैन्य हतियार र उपकरणको भण्डार फेला पारेका थिए ।
तीमध्ये अधिकांश अमेरिकाको आर्थिक सहयोगमा खरिद गरिएका हुन् । यसमा अमेरिकी निर्मित एम४ र एम१६ राइफलहरू सहित अफगानिस्तानका पुराना हतियारहरू पनि समावेश थिए ।
सन् २०२१ मा तालिबानले अगाडि बढेपछि अफगान सैनिकहरूले या त आत्मसमर्पण गरे वा आफ्ना हतियार र सवारी साधनसहित भागे । त्यसैगरी अमेरिकी सेनाले पनि आफ्ना केही सैन्य उपकरण त्यहाँ छोडेको थियो ।
गत वर्ष दोहामा भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्ध समितिको बैठकमा तालिवानले आधा सैन्य उपकरण र हतियार हराएको स्वीकार गरेको स्रोतले बीबीसीलाई बताएको छ ।
यस समितिका एक व्यक्तिले धेरै स्रोतबाट पुष्टि गरिसकेको तर करिब पाँच लाख हतियार पत्ता नलागेको बताए ।