
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।
उनले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टीओआर) समेत नभएको कारण आफूहरू सहभागी नभएको बताए ।सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँचबुँदे प्रस्तावमाथि छलफल नगरेको समेत आरोप लगाए ।
उनले भिजिट भिसा प्रकरणको समस्या समाधान गर्नको लागि संसदीय छानबिन आयोग वा न्यायिक आयोग गठन हुनुपर्ने आफूहरूको अडान कायमै रहेको उल्लेख गर्दै संघर्ष नछाड्ने जिकिर गरे । "सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा छानबिन गर्ने समयसीमा पनि छैन । कार्यादेश के हो ? कहिले सम्पन्न गर्ने हो ? यस्तो उदारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा आउँदैन । हाम्रो पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन," उनले भने ।
सरकार भिजिट भिसाको नाममा हुने गरेको मानवतस्करीको समस्या समाधान गर्न गम्भीर नदेखिएका कारण आफूहरूले आन्दोलन कायमै राखेको उपसभापति वाग्लेको भनाइ छ ।