
काठमाडौं । अहमदाबाददेखि लन्डन जाने विमान छुटेपछि बिहाबार दिउँसो ३० वर्षीया भूमि चौहान निराश थिइन् । तर, केही समयपछि उनी विमान छुटेकैले आभारी भइन् ।
उनले छुटाएको एयर इन्डियाको विमान अहमदाबादबाट उडेको केही सेकन्डमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भएको छ । एक जनामात्र बच्न सफल भए ।
भूमि चौहान गुजरातको अंकलेश्वरबाट सडक मार्गबाट विमानस्थल आउँदै थिइन् । “हामी अहमदाबाद समयमै पुगेका थियौँ । तर, सहरको ट्राफिक जामका कारण म एयरपोर्ट पाँच मिनट ढिला पुगेँ । मलाई एयरपोर्ट भित्र पस्न दिइएन,” उनले बीबीसीलाई बताइन् ।
“पहिले त म धेरै दुखी भएँ । मेरो टिकटको पैसा बर्बाद भयो र सायद मेरो जागिर पनि जान सक्छ लाग्यो । तर, अब म आभारी छु...। मेरो पैसा गए पनि मेरो ज्यान बच्यो,” उनले थपिन् ।
भूमि विद्यार्थीको रूपमा बेलायत गएकी थिइन् । दुई वर्षअघि मात्र उनले केवल चौहानसँग विवाह गरेकी थिइन् । जो ब्रिस्टल सहरमा एक बैंकमा कर्मचारी छन् ।
“म बेलायत पढ्न गएकी थिएँ । त्यहाँ पार्टटाइम जागिर पनि गर्थें । विवाहपछि दुई वर्षमा म आफ्नो घर अंकलेश्वर आएकी थिएँ । म यहाँ डेढ महिनादेखि थिएँ । मेरो छुट्टी सकिएपछि म फेरि बेलायत फर्किन लागेकी थिएँ,” उनले सुनाइन् ।
ट्राफिकमा फसेका कारण अनलाइनमा नै उडानका लागि चेकइन गरेकी थिइन् । तर, उनलाई विमानमा चढ्न भने नदिइएको भूमिले बताइन् ।
“म विमानस्थानमा ढिला पुगेकाले इमिग्रेसन सकिएको थियो, बोर्डिङ प्रक्रिया पनि समाप्त भएको थियो, त्यसैले म उडानमा चढ्न सकिनँ । मैले धेरै अनुरोध गरेँ, मेरो जागिर जान सक्छ र मेरो टिकटको पैसा पनि खेर जान्छ भने पनि कसैले सुनेन । मैले रिफन्डका लागि पनि भनेँ । तर, मानेनन्,” भूमिले भनिन् ।
निराश भएर एयरपोर्टबाट फर्किंदै गर्दा उनी चिया पिइरहेकी थिइन् । तर, तुरुन्तै उनलाई त्यो विमान दुर्घटनाग्रस्त भएको खबर थाहा भयो । भूमिले भनिन्, “हामी चिया पिउन रोकिएका थियौँ र अब टिकटको पैसा रिफन्ड कसरी लिने भन्नेबारे हामी हाम्रो ट्राभल एजेन्सीसँग कुरा गरिरहेका थियौँ । तत्कालै हामीलाई अंकलेश्वरबाट फोन आयो, म जाने भनिएको जहाजमा दुर्घटना भयो ।”
उनले थपिन्, “हामी तुरुन्तै मन्दिर गयौँ र ईश्वरलाई धन्यवाद दियौँ । अहमदाबादको ट्राफिकले मेरो ज्यान बचायो ।”
बीबीसी हिन्दीबाट ।