
काठमाडौं । अरब देशहरूले इरानमाथि इजरायली हमलालाई निन्दा गर्दै बयान जारी गरेका छन् ।
साउदी अरेबियाले इजरायलले इरानको परमाणु कार्यक्रम र वरिष्ठ सैन्य नेतृत्वविरुद्ध गरेको हमलाको कडा निन्दा र भर्त्सना गरेको सीएनएनले जनाएको छ ।
“साउदी अरब यी नृशंस हमलाहरूको निन्दा गर्दछ । अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यो आक्रमण रोक्न ठूलो जिम्मेवारी लिनुपर्छ,” साउदी विदेश मन्त्रालयले भनेको छ ।
इरान र साउदी अरब दशकौँदेखि धार्मिक आधारमा विभाजित दुई क्षेत्रीय शक्तिको रूपमा प्रतिस्पर्धा गर्दै आएका छन् । तर, हालै उनीहरूले आपसमा सम्बन्ध कायम गरेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले यो हमलालाई सबैभन्दा कडा शब्दमा निन्दा गरेको छ । यूएईले सन् २०२० मा इजरायलसँग सम्बन्ध सुधार गरेको थियो ।
इजरायली अधिकारीहरूले हमासलाई समर्थन गरेको आरोप लगाएको कतारले इजरायली हमलालाई इरानको संप्रभुता र सुरक्षामा स्पष्ट उल्लंघन भनेको छ ।
मध्य पूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा कतारमा छ । यूएईले राजधानी अबुधाबीनजिकै हजारौँ अमेरिकी सैनिकहरू राखेको छ ।
त्यसैले यी देशहरूलाई इरानले इजरायलको सबैभन्दा ठूलो सहयोगी अमेरिकाविरुद्ध प्रतिशोधात्मक कारबाही गर्दा इरानले निसाना बनाउन सक्छ ।
वासिंटन र तेहरानबीचको मध्यस्थता वार्ता गरिरहेको ओमानले इजरायली हमलालाई निन्दा गर्दै यो लापरवाह भनेको छ । साथै, यो आक्रमण परमाणु वार्ताको अत्यन्त संवेदनशील समयमा गरिएको थियो ।
यसैगरी दशकौँदेखि आफ्नो देशमा इरानको प्रभाव घटाएर सम्प्रभुता स्थापित गर्न प्रयासरत लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलको आक्रमणलाई खतरनाक आक्रमण भन्र्दै कडा निन्दा गरेका छन् ।
उनले भने, “यसले अन्तर्राष्ट्रिय कानुन र इरानी सम्प्रभुताको स्पष्ट उल्लंघन गर्दछ र यसको प्रतिक्रियाले सम्पूर्ण क्षेत्रको स्थिरता र विश्व शान्तिलाई पनि खतरामा पार्न सक्छ ।”