
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसद्लाई लामो समय अवरुद्ध गर्ने काम ठिक नभएको बताएका छन् । शुक्रबारबाट संसद् सञ्चालन हुनु सकारात्मक पक्ष रहेको बताए ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब बजेटमाथि छलफल गर्नुपर्ने उल्लेख गरे । साथै, विद्यालय शिक्षा विधेयक, निजामति विधेयक छलफल गरी छिटो पारित गर्नुपर्ने जरुरी रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले एक महिनाभित्र भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर अघि बढ्ने भन्ने प्रस्ताव ल्याएको र त्यसमा सत्तापक्षले सहमति जनाए पनि रास्वपाभित्रैको पार्टीको अन्तरविरोधका कारण सहमत हुन नसकेको दाबी गरे । रास्वपामा एकमत नरहेको स्पष्ट भएको बताए ।
"प्रतिनिधिसभाको बैठक लामो समय अवरुद्ध हुनु ठिक थिएन । अब बजेटमाथि छलफल गर्नुपर्नेछ, निजामति, विद्यालय शिक्षा विधेयक छलफल गरी पास गर्नुपर्नेछ । अरु पनि विधेयक छन् त्यसलाई छिटो पारित गरी मुलुकमा विधायकी काम अघि बढाउनुपर्नेछ । मूलतः बजेटको समयसीमा नजिकिँदैछ । यो संसद्लाई लामो समय अवरुद्ध गर्ने काम ठिक थिएन । माओवादी केन्द्रले जुन सुझबुझ देखाएको छ धन्यवाद छ," उनले भने ।
सचिव भट्टराईले अध्यागमन, भिजिट भिसाका कुरामा कानुनी सुधार गर्नुपर्ने बताए ।