site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ वर्षमा होटल बुकिङ उत्साहजनक, पोखरा र चितवनमा शतप्रतिशत हुने अनुमान

काठमाडौं । आउने सोमबार विश्वले अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दैछ । विश्वभर मनाइने नयाँ वर्ष पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको छ । युवा पुस्तामा अंग्रेजी नयाँ वर्षको ‘क्रेज’ उच्च रहेको देखिन्छ । ‘न्यू इयर इभ’ मनाउन काठमाडौंका ठमेल, नगरकोट, ककनीलगायत क्षेत्रमा युवा जमातको भीड लाग्ने गरेको छ ।

यही अवसरमा ठमेलमा बर्सेनि भव्य सांगीतिक कार्यक्रम हुँदै आएको छ । काठमाडौंसँगै देशका अन्य पर्यटकीय सहर तथा पर्यटकीय स्थलहरुमा नयाँ वर्षको अवसर पारेर ठूलो संख्यामा आन्तरिक पयर्टक पुग्ने गरेका छन् । होटल संघ (हान) का अनुसार पोखरा तथा सौराहामा अहिलेसम्म करिब ८० प्रतिशत होटल बुकिङ भइसकेका छन् नयाँ वर्षका लागि । यी दुई गन्तव्यमा सतप्रतिशत होटल बुकिङ हुने हानको अनुमान छ । 

पोखरामा नयाँ वर्षको अवसरमा सतप्रतिशत होटल बुकिङ हुने होटल संघ हान कास्कीका अध्यक्ष विकल तुलाचन बताउँछन् । “अहिले पोखराका ७० प्रतिशत होटल तथा गेष्ट हाउस बुकिङ भइसकेका छन्,” तुलाचनले भने, “अझै केही दिन बाँकी रहेको र विगतको डाटा र अहिलेसम्मको बुकिङ हेर्दा यो वर्ष पनि सतप्रतिशत बुकिङ हुने देखिन्छ ।”

पोखरामा साना ठूला गरेर ९ सय होटल तथा गेष्ट हाउस रहेका छन् । तिनमा २२ हजार बेड रहेको तुलाचनले बताए । अंग्रेजी नयाँ वर्षमा पोखरा पुग्ने अधिकांश पर्यटक आन्तरिक हुने गरेका छन् । अध्यक्ष तुलाचनका अनुसार ७० प्रतिशत पर्यटक आन्तरिक हुने गरेका छन् भने बाँकी ३० प्रतिशत बाह्य पर्यटक हुन्छन् । 

पोखरामा सतप्रतिशत बेड बुकिङ हुँदा दैनिक करोडौं रुपैयाँ कारोबार हुने गरेको तुलाचन बताउँछन् । सौराहामा पनि बिहीबारसम्म ८० प्रतिशत होटल बुकिङ भइसकेको छ । “निकै राम्रो बुकिङ भइरहेको छ, आजसम्म ८० प्रतिशत बुकिङ भइसक्यो,” चितवन हानका अध्यक्ष सुमन घिमिरे भन्छन्, “न्यू इयर इभसम्म पुग्दा सतप्रतिशत बुकिङ भइसक्छ ।”
चितवनमा दुई हजार ७५० होटल छन् । घिमिरेका अनुसार उक्त होटलमा ५ हजार ४ सय बेड छन् । चितवन पुग्ने पनि ७० प्रतिशत आन्तरिक पर्यटक हुन्छन् । 

मुग्लिन–नारायणगढ सडक मर्मतका कारण चितवनमा नकारात्मक असर पर्दै आए पनि नयाँ वर्षको अवसरमा भने सतप्रतिशत बुकिङ हुने अवस्था देखिएको छ ।

समग्रमा नेपालभर भने नयाँ वर्षमा ७० प्रतिशत भन्दा माथि होटल बुकिङ हुने गरेको होटल संघ (हान) का केन्द्रीय महासचिव विनायक शाह बताउँछन् । “नयाँ वर्ष, क्रिसमस र चाडवाड उस्तै हो । यो समयमा हामीसँग ७० प्रतिशत होटल बुकिङ हुन्छन्,” प्रवक्ता शाह भन्छन्, “पोखरामा सबै होटल अहिले प्याक हुन्छन् । सौराहामा पनि पोखराकै जस्तो अवस्था हो ।” 

शाहका अनुसार अहिले ७० प्रतिशत आन्तरिक पर्यटक होटलमा पुग्छन् । “जनवरी १० सम्म क्रिसमस र नयाँ पर्ष परिवारसँगै बसेर मनाउने भएकाले विदेशीहरु कमै आउँछन् ।”
पछिल्ला केही वर्षयता उच्च तथा मध्यम वर्गका परिवार समेत नयाँ वर्ष तथा विभिन्न अवसरमा परिवारसहित बाहिर निस्कने संस्कृति नै बनिसकेका कारण आन्तरिक पर्यटन बढ्दै गएको उनको भनाइ छ । अहिले ट्रेकिङमा पनि पर्यटक ठूलो संख्यामा जान थालेका शाह बताउँछन् । 

नयाँ वर्षका अवसरका ठूला होटलहरुले न्यू इयर इभका कार्यक्रमको तयारी गरिरहेका छन् । “स्पेशल परिकारदेखि छुटसम्मका कार्यक्रम लिएर आएका छन्,” प्रवक्ता शाह भन्छन्, “ग्राहक आकर्षणका लागि कतिपय होटलहरुले ठूलो रकम खर्चिएर नाम चलेका कलाकार तथा सांगीतिक व्याण्ड समेत बोलाएर कार्यक्रम गरिरहेका हुन्छन् ।”  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro