काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाबारे जानकारी लिएका छन् ।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार बंगलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले एन्टोनियो गुटेरेसलाई बिहीबार ढाकाको मुख्य विमानस्थलमा स्वागत गरेका थिए ।
गुटेरेसले बंगलादेशको कक्स बजारको भ्रमण गरेका छन्, जहाँ रोहिंग्या शरणार्थीहरूको लागि शिविरहरू छन् ।
भेटपछि गुटेरेसले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गर्दै बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई धन्यवाद दिए ।
उनले लेखे, "जब देशले नयाँ परिवर्तनहरू गरिरहेको छ, तपाईं सबैका लागि दिगो र राम्रो भविष्य निर्माण गर्न संयुक्त राष्ट्र संघमा भरोसा गर्न सक्नुहुन्छ ।"
विश्व खाद्य कार्यक्रम र अन्य संस्थाहरूले विशेष गरी यूएसएआईडीका कामहरू बन्द भएपछि सहायतामा सम्भावित कटौतीको घोषणा गरेपछि उनको भ्रमण महत्त्वपूर्ण मानिएको छ ।
अमेरिकाले यूएसएआईडी बन्द गर्ने निर्णय गरेपछि विश्वभर सहायतामा गम्भीर कटौतीको डर बढेको छ ।
यसैबीच, बंगलादेशको अन्तरिम सरकारले यस भ्रमणले रोहिंग्या शरणार्थीका लागि विश्वले सहयोग जुटाउन गरिरहेको प्रयासलाई थप टेवा पुग्ने र उनीहरुको अवस्थाप्रति विश्वको ध्यानाकर्षण हुने विश्वास व्यक्त गरेको छ ।